
साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा उक्लेको हो ।
जावलाखेलका सिमन्त थापाको आत्मघाती र रञ्जित धिमालको एक गोलले मच्छिन्द्रले जित हात पारेको हो । जावलाखेलले लगातार तीन खेल गुमाएको छ । जावलाखेलले लिगको तीन चरणसम्म अंक बटुल्न सकेको छैन । तीन खेल गुमाए पनि मच्छिन्द्रविरुद्ध जावलाखेलले राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा मच्छिन्द्रमाथि जावलाखेलले दबाब राखेको थियो । तर, फिनिसिङ कमजोर हुँदा प्राप्त राम्रा अवसर सदुपयोग गर्न सकेन । मच्छिन्द्रले खेलको १४औँ मिनेटमा सिमन्तको आत्मघाती गोलबाट १–० को अग्रता लिएको थियो ।
स्ट्राइकर मनीष डाँगीको पासमा अभिषेक रिजालले निकालेको क्रसलाई सिमन्तले आफ्नै पोस्टमा गोल गरेका थिए । जावलाखेलका प्रशिक्षक किशोर राईले गोलरक्षक टिकेन्द्रसिंह थापाको गल्तीमा टोली पराजित भएको प्रतिक्रिया दिए । ‘गोलरक्षकको गल्तीका कारण पराजित भयौँ,’ प्रशिक्षक राईले भने, ‘सहजै बचाउन सक्ने अवस्थामा समेत गोलरक्षकले गल्ती गरे ।’ खेलको २१औँ मिनेटमा रञ्जित धिमालले फ्रिकिकमा गोल गर्दै मच्छिन्द्रलाई २–० को अग्रता दिलाए । डिबक्सबाहिर जावलाखेलका जिमी काउहामीले नुर्लान नोभ्रुजोभलाई फल गरेका थिए । रञ्जितले बायाँ खुट्टाले सीधै दोस्रो बारको कुना च्यापेर गोल गरे ।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले जावलाखेलविरुद्ध ३ अंक बटुल्दा खुसी लागेको बताए । ‘जावलाखेल बलियो टोली हुँदाहुँदै पनि ३ अंक बटुलेका छौँ,’ कटवालले भने, ‘जितले खेलाडीको मनोबल बढेको छ ।’ खेलको ७७औँ मिनेटमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले गोलरक्षक टिकेन्द्रविरुद्धको वान भर्सेस वानमा समेत गोल गर्न सकेनन् । मच्छिन्द्र र सातदोबाटोले तीन चरणबाट समान ७ अंक जोडेका छन् । गोलअन्तरमा सातदोबाटो शीर्ष स्थानमा छ ।
पुलिस बराबरीमा
बुधबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले हिमालयन शेर्पा क्लबलाई १–१ को बराबरीमा रोक्न सफल भएको छ । हिमालयनले लिगमा दोस्रोपटक बराबरी नतिजा निकालेको होे । अघिल्ला दुई खेलमा हिमालयन मनाङसँग १–० ले र संकटासँग १–१ को बराबरी खेलेको थियो । पुलिसले पनि दोस्रोपटक बराबरी नतिजा निकाल्यो । पुलिसले पहिलो खेलमा आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा जावलाखेलमाथि १–० को कठिन जित निकाल्यो । पुलिसले ३ खेलबाट ५ अंक जोडेको छ । हिमालयनले तीन खेलबाट दुई अंक जोडेको छ ।
प्रतिस्पर्धामा हिमालयनले आक्रामक सुरुवात गर्यो । खेल सुरु भएको ५३औँ सेकेन्डमै कप्तान विश्वास श्रेष्ठले हिमालयनलाई १–० को अग्रता दिलाए । अलरिच सिवे र विश्वासबीचको उत्कृष्ट तालमेलमा निस्किएको पासमा विश्वासले डिबक्सभित्रबाट गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका हुन् । चालू लिगमा विश्वासको गोल सबैभन्दा छिटो हो । खेलको ६०औँ मिनेटमा पुलिसले खेल १–१ को बराबरीमा ल्यायो । सुमन लामाले पुलिसलाई बराबरीमा ल्याएका हुन् ।