१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o९:३८:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आठ सय गोल गर्ने  रोनाल्डो एक्लो खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३८:oo

विश्व फुटबलमा डाटा राख्न थालेपछि पोर्चुगलका रोनाल्डोले एक हजार ९७ खेलमा आठ सय एक गोल गरेका छन्, उनले यो सफलता बिहीबार इंग्लिस प्रिमियर लिगमा आर्सनलविरुद्ध दुई गोल गर्दै प्राप्त गरेका हुन् । 

यो वर्षको बालोन डिअर अवार्डको छैटौँ स्थानमा रहेका पोर्चुगी क्रिस्टियानो रोनाल्डो करिअरकै आठ सय गोल गर्न सफल भएका छन् । विश्व फुटबलमा आधिकारिक रूपमा आठ सय गोल गर्ने रोनाल्डो विश्वकै एक मात्र फुटबलर हुन् । ३६ वर्षीय रोनाल्डोले यो सफलता बिहीबार इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्ध हात पारेका हुन् । 

म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३–२ ले हराउँदा रोनाल्डोले दुई गोल गरेका थिए । खेलको ५२औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत पहिलो गोल गर्दा आठ सय गोल संख्या पुर्‍याए । त्यसपछि खेलको ७०औँ मिनेटमा उनले पेनाल्टीको सहयोगमा दोस्रो गोल थपे । यो उनको सिनियर फुटबलको करिअरमा आठ सय एक गोल थियो ।

रोनाल्डोले एक हजार ९७ खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । रोनाल्डोले क्लब फुटबलमा नौ सय ११ खेल खेल्दै ६ सय ८६ गोल गरेका छन् । पोर्चुगिज राष्ट्रिय टोलीबाट एक सय ८४ खेलबाट एक सय १५ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । उनले इरानका अली दाईको एक सय नौ गोल रेकर्ड तोडेका थिए । क्लब फुटबलमा भने रोनाल्डाले स्पेनिस क्लब रियल म्याड्रिडबाट सर्वाधिक चार सय ५० गोल गरेका थिए । 

११ वर्ष रियल म्याड्रिडमा रहँदा उनले चारपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका थिए । च्याम्पियन्स लिगमा रोनाल्डो नै सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा छन् । उनले युनाइटेडबाट एक सय २९ गोल संख्या पुर्‍याएका छन् । पोर्चुगल क्लब स्पोर्टिङबाट पाँच गोल गरेका रोनाल्डोले सिरिए क्लब युभेन्ट्सबाट एक सय एक गोल गरेका थिए । 

दायाँ खुट्टाबाट धेरै गोल
गोलको कीर्तिमान राखेका रोनाल्डोले दायाँ खुट्टाले धेरै गोल गरेका छन् । उनले दायाँ खुट्टाबाट मात्र पाँच सय १० गोल गरेको तथ्यांक छ । यसैगरी बायाँ खुट्टाको सहयोगमा रोनाल्डोले विपक्षी पोस्टमा एक सय ४९ गोल गरेका छन् । रोनाल्डोको विपक्षी डिबक्समा हेडिङ उत्तिकै चल्छ । यसक्रममा उनले हेडिङबाट मात्र एक सय ४० गोल गरेका छन् । उनले आफ्नो करिअरमा एक सय ४२ पटक पेनाल्टीबाट गोल गरेका छन् । उनले डिबक्सबाहिर प्राप्त फ्रिकिकमा ५७ गोल गरेका छन् । 

रोनाल्डोले करिअरमा पहिलो हाफमा तीन सय ५१ गोल गरेका छन् । रोनाल्डो मध्यान्तरपछि चम्केका देखिन्छन् । उनले दोस्रो हाफमा चार सय ४४ गोल गरेको देखिन्छ । उनले ६ सय ८५ गोल डिबक्सभित्र र डिबक्सबाहिरबाट एक १६ गोल गरेका छन् ।

पाँच क्लबविरुद्ध २० भन्दामाथि गोल
रोनाल्डोले क्लब लेभलमा पाँच टोलीविरुद्ध २० भन्दा बढी गोल गरेका छन् । संयोगले सबै गोल स्पेनिस क्लबविरुद्ध नै रह्यो । उनले सेभिल्ला (२७), एट्लेटिको म्याड्रिड (२५) र गेटाफे (२३) गरेका थिए । उनले बार्सिलोना र सेल्टाभिगाविरुद्ध २० गोल गरे । उनले इंग्लिस क्लब टोटनह्यामसँगको खेलमा ११ गोल र आर्सनलविरुद्ध आठ गोल पुर्‍याएका छन् । करिअरमा दोस्रोपटक युनाइटेडबाट प्रतिस्पर्धा गरिरहेका रोनाल्डोले समग्रमा १९ खेलमा १२ गोल गरेका छन् । 

रोनाल्डो सर्वकालीन गोलकर्ता हुन् ?
विश्व फुटबलमा डाटा राख्न थालेपछि रोनाल्डो नै अहिलेसम्मकै करिअरमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा छन् । कतिपय खेलाडरुले आफू नै सर्वाधिक गोलकर्ता भएको दाबी गरेका छन् । चेक रिपब्लिकका जोसेफ विकानले आफूले आधिकारिक रूपमा आठ सय २१ गोल गरेको दाबी गरेका छन् । विकानले मान्यताप्राप्त नभएका खेलकोसमेत गणना गरी आठ सय २१ गोल संख्या पुर्‍याएका हुन् । 

यसैगरी ब्राजिलका लिजेन्ड्स पेले र रोमारियोले करिअरमा हजार गोल बढी गरेको दाबी गर्छन् । यद्यपि आधिकारिक रूपमा यी दुवै ब्राजिलियन खेलाडीले आठ सय गोल संख्या पार गरेका छैनन् । डाटाअनुसार पेलेले सात सय ६९ गोल गरेका छन् । रोमारियो र फेरेन्स पुस्कारले समान सात सय ६१ गोल गरेका देखिन्छन् । अर्जेन्टिनी खेलाडी लियोनल मेसी हुन् । यसैसाता कीर्तिमानी रूपमा सातौँपटक बालोन डिअर उपाधि जितेका मेसीले अफिसियल रूपमा सात सय ५६ गोल गरेका छन् ।