१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सार्वजनिक ऋण २५ अर्ब घट्यो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२३:oo

ऋण प्राप्तिभन्दा भुक्तानी बढी हुनु र विनिमयदरमा आएका परिवर्तनले सार्वजनिक ऋणको आकार घट्यो, सरकारले तिर्न बाँकी ऋण १७ खर्ब १२ अर्बमा झर्‍यो, चार महिनामा पौने २५ अर्ब वैदेशिक ऋण थपिँदा अनुदान शून्य

सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको आकार करिब २५ अर्ब रुपैयाँले घटेको छ । प्राप्तिको तुलनामा भुक्तानी बढी हुनु र वैदेशिक विनिमयदरमा आएको परिवर्तनका कारण सार्वजनिक ऋणको आकार घटेको हो । पछिल्लो चार महिनामा सरकारले प्राप्त गरेको सार्वजनिक ऋणको तुलनामा भुक्तानी (पे ब्याक) १२ अर्ब ५२ करोड रुपैयाँले बढी छ । त्यस्तै, वैदेशिक विनिमियदरमा आएको गिरावटले पनि ऋणको आकारमा कमी देखिएको हो । 

चालू आर्थिक वर्ष ०७८/७९को पहिलो चार महिनामा सरकारले कुल २४ अर्ब ७० करोड ८० लाख रुपैयाँ वैदेशिक ऋण लिएको छ (शोधभर्नाका आधारमा) । यसबीचमा आन्तरिक ऋण भने लिइएको छैन । सोही अवधिमा सरकारले ३७ अर्ब २२ करोड पाँच लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसरी प्राप्तिको तुलनामा भुक्तानी बढी हुँदा र वैदेशिक विनिमयदरको गिरावटका कारण सार्वजनिक ऋणको आकार घटेको हो । 

हालसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण १७ खर्ब १२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तको तुलनामा २४ अर्ब ६१ करोडले कमी हो । असार मसान्तसम्ममा नेपालले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको आकार १७ खर्ब ३७ अर्ब आठ करोड रुपैयाँ रहेको थियो । अब नेपालले भुक्तानी गर्न बाँकी कुल ऋणमा सात खर्ब ७३ अर्ब ९४ करोड आन्तरिक र नौ खर्ब ३८ अर्ब ५३ करोड बाह्य ऋण रहेको छ ।  

बैंकिङ प्रणालीमा तरलताको अभाव देखिएपछि सरकारले करिब ३० अर्ब हाराहारी आन्तरिक ऋणको भुक्तानी गरेको र त्यसले सार्वजनिक ऋणको आकार घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव तथा सूचना अधिकारी हीरा न्यौपानेले बताए । ‘यसबीचमा प्राप्तको तुलनामा भुक्तानी पनि बढी भएको छ र विनिमयदर पनि परिवर्तन भएको छ,’ उनले भने, ‘त्यसैले सार्वजनिक ऋणको आकार घटेको हो ।’

यो चार महिनामा सरकारले सावाँ र ब्याजसमेत गरेर ४९ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी (पे ब्याक) गरेको छ । चार महिनामा सरकारले आन्तरिकतर्फ २८ अर्ब ९९ करोड ९४ लाख सावाँ र १० अर्ब ३७ करोड ७७ लाख रुपैयाँ ब्याज गरी ३९ अर्ब ३७ करोड ७१ लाख भुक्तानी गरेको छ । त्यस्तै, आठ अर्ब २२ करोड ९१ लाख सावाँ र दुई अर्ब २४ करोड १४ लाख ब्याज १० अर्ब ४७ करोड पाँच लाख बाह्य ऋण भुक्तानी गरेको छ । 

सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब २२ अर्ब नौ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये दुई खर्ब ८३ अर्ब नौ करोड रुपैयाँ बाह्य ऋण र दुई खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य छ । सरकारले हालसम्म करिब २५ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गरेको छ । आन्तरिक ऋण भने उठाइएको छैन । 

यस वर्ष सरकारले कुल ५९ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक अनुदान परिचालनको लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको चार महिना बितिसक्दासमेत सरकारले एक रुपैयाँ पनि अनुदान परिचालन गर्न सकेको छैन । 

ad
ad