१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Tuesday, 12 November, 2024
अशोक स्वैन
२o७८ मङ्सिर १६ बिहीबार o९:४९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बाँध जलवायु संकटको समाधान होइन

Read Time : > 2 मिनेट
अशोक स्वैन
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार o९:४९:oo

बाँधमुनि कुहिएका वनस्पतिले हरेक वर्ष लगभग एक अर्ब टन हरितगृह ग्यास उत्सर्जन गर्छन्, जुन कुल वार्षिक मानवसिर्जित विश्वव्यापी उत्सर्जनको लगभग एक दशमलव तीन प्रतिशत हो


जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न ऊर्जाको स्रोत परिवर्तन गर्नु विश्वव्यापी मन्त्र बनेको छ र जीवाश्म–इन्धनमा आधारित ऊर्जा उत्पादनलाई विस्थापित गर्न धेरै देशका रणनीतिमा जलविद्युत्ले महत्‍वपूर्ण स्थान पाएको छ । विशेषगरी एसिया र अफ्रिकाका धेरै मुलुक यो रणनीति अंगीकार गर्न उद्यत छन् । सन् २०५० सम्ममा शून्य उत्सर्जनको महत्वाकांक्षा नवीकरणीय ऊर्जा उत्पादनलाई विस्तार गरेर मात्र हासिल गर्न सकिन्छ भन्नेमा शंका छैन ।

जलविद्युत् नवीकरणीय ऊर्जाको सबैभन्दा ठूलो स्रोत हो । सन् २०२० मा एक हजार तीन सय ३० गिगावाट क्षमताको ऊर्जा उत्पादन भएको छ, जुन विश्वव्यापी ऊर्जाको १७ प्रतिशत हो । सन् २०२० मा उत्पादन भएको जलविद्युत्को मात्रा अमेरिकाको वार्षिक बिजुली खपतजत्तिकै हो । तीन सय ५६ गिगावाट जलविद्युत् उत्पादन गरेर चीन पहिल्यैदेखि अगाडि छ । विगत दुई दशकमा विश्वभर जलविद्युत् उत्पादन झन्डै ७० प्रतिशतले बढेको छ र आगामी दुई दशकमा थप ५० प्रतिशतले वृद्धि हुने अनुमान छ ।

हाल, मुख्यतया विकासोन्मुख देशमा करिब एक हजार बाँध निर्माणाधीन अवस्थामा छन् । चीन, भारत, टर्की र इथियोपियामा ठूला बाँध निर्माणका काम जारी छन् । ब्राजिल, नेपाल, लाओस र डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग बाँध परियोजनाको लामै सूची छन् । जलविद्युत्लाई अन्य नवीकरणीय स्रोतजस्तै बायोमास, सौर्य र वायु ऊर्जाका ठाउँमा प्राथमिकता दिइन्छ । जलवायु परिवर्तनका कारण राष्ट्रिय ऊर्जा सुरक्षाका लागि धेरै विकासोन्मुख मुलुकले जलविद्युत्लाई प्राथमिकता दिँदै आएका छन् ।

अन्तर्राष्ट्रिय जलविद्युत् संघका अनुसार विश्वभर पाँच सय गिगावाटभन्दा बढी जलविद्युत् आयोजना निर्माण भइरहेका वा निर्माणका योजना बनिरहेका छन् । विश्व तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कममा सीमित गर्न सन् २०५० सम्ममा आठ सय ५० गिगावाट जलविद्युत् उत्पादन बढाउनुपर्ने संघको तर्क छ भने तापमान एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न २०५० सम्ममा ऊर्जा उत्पादन एक हजार दुई सय गिगावाट हुनुपर्छ । 

जलविद्युत्को लागत अझै पनि सौर्य र वायुबाट उत्पादित बिजुलीभन्दा कम छ । राजनीतिक नेताहरू ठूला बाँध निर्माण गर्न रुचाउँछन् किनभने यी निर्माण परियोजनालाई सजिलैसँग देशको विकासको उपलब्धिका रूपमा चित्रण गर्न सकिन्छ र व्यापक जनसमर्थन प्राप्त गर्न सकिन्छ । यसबाहेक बाँध निर्माण राजनीतिक वर्गका लागि भ्रष्टाचारको ठूलो स्रोत हो ।
जलविद्युत् उत्सर्जनलाई जलवायु परिवर्तनको बहसमा प्रायः बेवास्ता गरिन्छ ।

जलविद्युत् ‘राम्रो’ ऊर्जा हो भन्ने आमधारणा भए पनि प्रायः मानिस जलविद्युत्का स्रोतहरू रहेका ठूला बाँध र तिनका जलाशयलाई बिर्सन्छन् । जलाशयका कारण डुबानमा परेका वन एवं अन्य जैविक पदार्थ कुहिन थाल्दा मिथेन र बायोजेनिक कार्बन उत्पादन हुन्छ । एक अनुसन्धानअनुसार बाँधमुनि कुहिएका वनस्पतिले हरेक वर्ष लगभग एक अर्ब टन हरितगृह ग्यास उत्सर्जन गर्छन्, जुन कुल वार्षिक मानवसिर्जित विश्वव्यापी उत्सर्जनको लगभग एक दशमलव तीन प्रतिशत हो ।

बाँधहरूबाट हुने हरितगृह ग्यासहरूको उत्सर्जन क्षेत्रअनुसार फरक–फरक हुन्छ । समशीतोष्ण र सुक्खा जलवायु क्षेत्रमा जलाशयले कार्बन भण्डारणका रूपमा काम गर्न सक्छ भने अधिकांश बाँध निर्माण भइरहेका अफ्रिका र एसियाका उष्ण प्रदेशीय मुलुकमा कार्बन उत्सर्जन जीवाश्म इन्धनको बराबर वा बढी भइरहेको देखिन्छ । यसबाहेक जलाशयबाट उत्सर्जित हरितगृह ग्यासको लगभग ८० प्रतिशत हिस्सा मिथेन ग्यासको रहेको छ । स्मरण रहोस्, ग्यास विश्व तापमान वृद्धि निम्त्याउने एक ठूलो कारक हो । सय वर्षमा बाँधहरूले धानखेती र वनस्पतिमा लाग्ने डढेलोभन्दा बढी मिथेन उत्पादन गरेका छन् । 

बाँधहरूका पनि ठूला वातावरणीय प्रभाव छन् किनभने यी बाँधले मुक्त रूपमा बग्ने नदीको पारिस्थितिक प्रणालीलाई नष्ट गर्छन्, अर्थात् नदीको जलचर एवं नदीको जीवनमा प्रतिकूल असर पार्छन् । बाँधहरू विशाल निर्माण परियोजना पनि हुन् र निर्माण क्रममा सिमेन्ट, स्टिल र चट्टानको अत्यधिक प्रयोगले स्थानीय रूपमा ठूलो वातावरणीय प्रदूषण निम्तिन्छ ।
आदिवासी जनजातिको अधिकारलाई बेवास्ता गरेकोमा जलविद्युत् उद्योगको आलोचना हुने गरेको छ ।

एक सजग अनुमानअनुसार, बाँध परियोजनाबाट विश्वभर आठ करोड मानिस विस्थापित भएका छन् । विस्थापित हुनेहरू मुख्यतः आदिवासी र जंगल एवं ग्रामीण क्षेत्रमा बसोवास गर्ने अग्रभागका समुदाय रहेका छन् । बाँध निर्माणका कारण भारतमा मात्रै कम्तीमा दुई करोड मानिस विस्थापित भएका छन् भने २० लाख मात्रले थोरबहुत मुआब्जा पाएका छन् । वास्तवमा बाँधहरू धेरै महँगा छन्, विशेषगरी गरिब विकासोन्मुख मुलुकलाई बाँध निर्माण गर्न धेरै समय लाग्छ र यसले समूह एवं राष्ट्रबीच ठूलो द्वन्द्व निम्त्याउने सम्भावना रहन्छ । 

तसर्थ, नयाँ जलविद्युत् बाँधहरू निर्माण गर्दा अपेक्षा गरेजस्तो जलवायु लाभहरू प्राप्त हुँदैनन् भन्ने कुरा मुलुकले बुझ्नु महŒवपूर्ण रहेको छ । केही परिस्थिति, विशेषतः छोटो अवधिमा बाँधले विश्व तापमान वृद्धिलाई पनि गति दिन सक्छ । उच्च सामाजिक, आर्थिक एवं वातावरणीय मूल्यमा जलविद्युत्ले ठूलो मात्रामा हरितगृह ग्यास उत्पादन गर्छ । तसर्थ, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने रणनीतिका रूपमा बाँध निर्माणलाई अगाडि बढाउन खोज्ने विशेष गरी एसिया र अफ्रिकाका मुलुकहरू बाँध निर्माण गर्दा थप सचेत हुनुपर्ने देखिन्छ । गल्फ न्युजबाट