१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अशोक स्वैन
२o८१ जेठ १ मंगलबार o९:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसको कर्नाटक विजय : बहुसंख्यकवादलाई धक्का

राहुल गान्धीले अघि सारेका मुद्दालाई कर्नाटक राज्यले अनुमोदन गरेको छ, भारतले अझै लोकतन्त्र एवं धर्मनिरपेक्षता मान्छ भनेर देखाएको छ

Read Time : > 2 मिनेट
अशोक स्वैन
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:o५:oo

भारतमा कांग्रेस पार्टीले कर्नाटक विधानसभा चुनावमा सानदार विजय हासिल गरेको छ । चुनावी नतिजाले दक्षिण भारतबाट भारतीय जनता पार्टी (भाजपा) मुक्त भएको छ । यसबाहेक नतिजाले भारतको राजनीतिक भविष्यका सन्दर्भमा थुप्रै शक्तिशाली राजनीतिक सन्देश दिएको छ र मार्गनिर्देशन गरेको छ । यो त्यतिवेला भइरहेको छ, जतिवेला मुलुकको सन् २०२४को आम निर्वाचन नजिकिँदो छ । 

करिब एक दशकयता भारतीय राजनीतिमा भाजपाको रजगज चलेको छ, जहाँ भाजपाले आफूलाई हिन्दू राष्ट्रवादी पार्टी भन्दै गौरव महसुस गर्छ र बहुसंख्यकवादको राजनीति गर्छ । भाजपाको उदयसँगै भारतमा ऐतिहासिक रूपमा बलियो चुनावी उपस्थिति बनाएको भारतकै पुरानो राजनीतिक दल कांग्रेस ओरालो लागेको थियो । 

पछिल्ला दुई आमनिर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयले भारत धर्मनिरपेक्ष रहन्न कि भनेर चिन्ता व्यक्त हुन थालेको थियो । बहुसंख्यकवादी विचारधारा र राजनीतिलाई खुलेर सामना गर्ने कांग्रेस पार्टी नेता राहुल गान्धीको रणनीतिमाथि पनि प्रश्न उठेका थिए ।

राहुल गान्धी फ्याक्टर :  कैयौँ राजनीतिक पण्डितले कांग्रेसले आफूले गरिरहेको धर्म निरपेक्ष राजनीतिलाई मत्थर बनाउन सुझाव दिएका थिए । बरु यी पण्डितले कांग्रेसलाई भाजपाजस्तै वैचारिक रबैया अपनाएका क्षेत्रीय पार्टीजस्तो बन्नसमेत सुझाएका थिए ।

यति मात्रै नभई कांग्रेसले पार्टीबाट आफ्ना कैयौँ ठूला नेताको बहिर्गमनसमेत व्यहोरेको थियो । यी ठूला नेता गान्धीको बहुसंख्यकवादविरोधी राजनीतिको विरोध गर्दै यो रणनीतिले चुनाव जित्न नसकिने भन्दै भाजपा प्रवेश गरेका थिए । सबै पपुलिजम (लोकरिझ्याइँवाद)को गंगामा हात धुन लालायित भएका वेला राहुल गान्धीले हिन्दू राष्ट्रवादी राजनीतिको जननी भनेर चिनिने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को आलोचना गर्न कुनै कसर बाँकी राखेका थिएनन् । उनले कहिल्यै धर्मनिरपेक्षताको राजनीतिमा सम्झौता गरेनन् । भारतजस्तो विविधतायुक्त एवं बहुसांस्कृतिक मुलुकलाई  समावेशी राजनीतिले मात्रै अगाडि बढाउँछ भन्नेमा गान्धी दृढ छन् ।

राहुल गान्धीले अघि सारेका मुद्दालाई कर्नाटक राज्यले अनुमोदन गरेको छ, भारतले अझै लोकतन्त्र एवं धर्मनिरपेक्षता मान्छ भनेर देखाएको छ
 

भारतका हरेक कुनामा राहुल गान्धीविरुद्ध मुद्दा दायर गरिएका छन् र एउटा मामिलामा उनलाई दुई वर्षको जेल सजायसमेत दिइएको छ (सजाय दिइएपछि उनले पुनरावेदन गरेका छन्)। गान्धीलाई संसद्मा अयोग्य ठह¥याइएको छ, उनको सुरक्षा बन्दोबस्तीलाई घटाइएको छ । त्यति मात्रै नभई उनको सरकारी आवास पनि खोसिएको छ । यति हुँदाहुँदै पनि उनी द्वेष र हिंसाको राजनीति नभई प्रेम र सम्मानको राजनीतिको पैरवी गरिरहेका छन् । उनकै भाषामा भन्ने हो भने उनी भारतको ‘घृणा–द्वेषको बजारमा प्रेमको हाट लगाउँदै’ छन् । जब सन् २०२२ को शरदयाममा राहुल गान्धीले चार हजार किलोमिटरभन्दा बढी दूरीको ‘भारत जोडो यात्रा’ नामको पदयात्रा गरे । थुप्रैले यस यात्रामा चुनावी एजेन्डा नभएकाले यसको औचित्यमाथि नै प्रश्न उठाएका थिए ।

धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशिता :  यसअघि प्रकाशित मेरो स्तम्भमा मैले भारत जोडो यात्राको सफलताबारे लेखेको थिएँ । जहाँ मैले यस यात्राले भारतको राजनीतिक भाष्य केही हदसम्म परिवर्तित भएको भन्ने तर्क गरेको थिए । सो स्तम्भमा मैले बहुसंख्यकवादको सुनामीका बाबजुद भारतका जनता धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशिताको झन्डामुनि एकत्रित हुनेछन् भनेर लेखेको थिएँ । 

कर्नाटक वर्षौंदेखि आरएसएसको प्रयोगशाला बनिरहेको थियो र यो राज्यमा भाजपा कम्तीमा १५ वर्षदेखि वर्चस्वशाली राजनीतिक दल थियो । यसअघिको कर्नाटक विधानसभा चुनावमा भाजपाको सर्वाधिक प्रतिनिधित्व थियो । भाजपाले पछिल्लो चार वर्षयता राज्यमा शासन गर्दै आएको थियो । यी चार वर्षमा भाजपाले बहुसंख्यकवादी एजेन्डालाई प्रोत्साहन गर्न जे सक्थ्यो, त्यो गरेको थियो ।  राज्य सञ्चालित विद्यालय र कलेजमा हिजाबमाथि प्रतिबन्ध लगाइएको थियो । उपनिवेशवादी शक्तिसँग बहादुरीपूर्वक युद्ध लडेका मुसलमान राजा टिपु सुल्तानको राज्यले हरेक वर्ष मनाउने जन्मजयन्तीमा समेत रोक लगाएको थियो ।  

सत्तारुढ दल भाजपाले निर्वाचनमा नांगो बहुसंख्यकवादी चुनावी अभियान चलाएको थियो । यसक्रममा विपक्षी कांग्रेसले आफ्नो वैचारिक अडानमा परिवर्तन ल्याउँछ कि भन्ने भय व्याप्त थियो । किनभने, कर्नाटकमा ८४ प्रतिशत जनता हिन्दू थिए । तर, कर्नाटक राज्य कांग्रेसले राहुल गान्धीको मार्ग चुन्यो र बाटो बिराएन ।  

 सहिष्णुता एवं समावेशिताका लागि मत :  कांग्रेसले चुनावी घोषणापत्रमा बहुसंख्यकवाद अँगालेको उग्रवादी संगठन बजरंग दललाई प्रतिबन्ध लगाउने वाचा गरेको थियो । यो वाचालाई लिएर थुप्रै विश्लेषकले कांग्रेस पार्टीले चर्को निर्णय गरेको भन्दै आलोचना गरेका थिए र यसले धार्मिक ध्रुवीकरण बढाउने र भाजपाले लाभ उठाउने विश्लेषण गरेका थिए । तथापि, कांग्रेसले कर्नाटक विधानसभामा भाजपाको तुलनामा दुई गुणा बढी सिट ल्याएको छ, जबकि कर्नाटकमा बहुसंख्यक मानिस हिन्दू छन् र जसलाई भाजपाले आफ्नो भोट बैंक ठान्थ्यो । 

निर्वाचनले कर्नाटकका जनता बहुसंख्यकवादी राजनीतिको पासोमा नपरेको देखाएको छ । र, कर्नाटकका जनताले सहिष्णुता, समावेशिता र धर्मनिरपेक्षतामा विश्वास गर्ने सरकारलाई चुनेका छन् । सफल रहेको भारत जोडो यात्रामा राहुल गान्धीले अघि सारेका मुद्दा र विश्वासलाई कर्नाटक राज्यले पुष्टि गरेको छ, अर्थात् कर्नाटकले भारतले अझै पनि लोकतान्त्रिक एवं धर्मनिरपेक्षता मान्छ भनेर देखाएको छ । कर्नाटकको चुनावी नतिजाको आलोकमा कांग्रेस बहुसंख्यकवादी राजनीतिमा राहुल गान्धीको असहज प्रतिरोधलाई कायम राख्नुपर्छ भन्नेमा शंका छैन । र, यो प्रतिरोध कायम रहिरह्यो भने कांग्रेसले मुलुकमै भाजपालाई प्रतिस्थापित गर्न सक्नेछ । 

(स्वैन स्विडेनको उप्सला विश्विद्यालयका शान्ति एवं द्वन्द्व अध्ययनका प्राध्यापक हुन्) गल्फ न्युजबाट
 

ad
ad