Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १५ बुधबार १७:४९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘स्मार्ट स्ट्रिट लाइट’ योजना : बत्ती बलिसक्नुपर्ने वेला बल्ल काम सुरु

Read Time : > 4 मिनेट
२०७८ मङ्सिर १५ बुधबार १७:४९:००

काठमाडौंका सकडलाई झिलिमिली पार्ने सबैभन्दा ठूलो ‘स्मार्ट स्ट्रिट लाइट’ आयोजनाको काम समयमै सकिएको भए हिजोआज रातिमा राजधानीका सडक चम्किला हुन्थे। फराकिला मुख्य सडकको दृश्य दिनमा भन्दा रातमा आकर्षक देखिने थियो। तर, उपत्यकाका तीन जिल्लाका मुख्य सडकलाई उज्यालो बनाउने मुख्य आयोजनाको काम सकिनुपर्ने समयमा बल्ल सुरु भएको छ। निर्माणकार्य सम्पन्न गर्नुपर्ने वेलामा नेपाल विद्युत् प्राधिकरणले निकै ढिलो आयोजनाको काम सुरु गरेको हो।

काठमाडौं महानगरपालिकाका अनुसार सडकबत्तीका लागि उपत्यकामा अहिले करिब पाँच हजार पोल छन्। ती पोलमा टाँगिएका अधिकांश बत्ती बल्दैनन्। ब्याट्री पुरानो हुँदै गएपछि सडकबत्ती मधुरो बल्छन्। मुख्य सडकका बत्ती मधुरो बलेपछि काठमाडौं, ललितपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच ०७७ फागुनमा सडकमा अत्याधुनिक विद्युतीय बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गर्ने सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार काम गर्नुपर्ने विद्युत् प्राधिकरणले हो।

सडकबत्ती जडान गर्नका लागि आवश्यक स्थान उपलब्ध गराउने, सहजीकरण गर्ने र ६० प्रतिशत रकम प्रदान गर्ने जिम्मा दुई महानगरको हो। त्यतिवेला ६ महिनाभित्र सडकबत्ती बालिसक्ने सम्झौता भए पनि हालसम्म पनि उत्यकाका अधिकांश सडक अन्धकार छन्। ०७७ फागुनमै चक्रपथ र मुख्य सडकको बत्ती परिवर्तन गर्ने सम्झौता भएको थियो। उक्त काम पनि सुरु भएको छैन। 

पुरानो सोलार ब्याट्री फेर्दा धेरै खर्च लाग्ने भएपछि नयाँ बत्ती जडान गर्ने योजना अघि सारिएको थियो। अहिले एयरपोर्ट, नयाँ बानेश्वर, त्रिपुरेश्वर, कोटेश्वरलगायत थोरै ठाउँका सडकमा बत्ती बल्छन्, तर मधुरो मात्रै। धेरैजसो सडकमा बत्ती बल्न छाडेको छ। पुरानो हुँदै गएकोले सडकबत्ती मधुरो बलेको र कतिपय ठाउँमा बिग्रिएको काठमाडौं महानगरका पूर्वाधार महाशाखा प्रमुख रामबहादुर थापाले जानकारी दिए। उनका अनुसार सडकमा नयाँ सडकबत्ती जडान गर्ने कार्य विद्युत् प्राधिकरणको हो। उक्त कार्यका लागि महानगरले १३ करोड बजेट छुट्याएको छ। ०७७ सालमै सोलार बत्ती प्रोजेक्टका लागि छुट्याइएको बजेट होल्ड हुँदै आएको थापाको भनाइ छ। ‘०७७ को कात्तिकमै सडकबत्ती राखिसक्ने निर्णय भएको हो, तर प्राधिकरणले अन्य समस्या भएको भन्दै काम सुरु गरिसकेको छैन,’ उनले भने, ‘बजेट महानगरले दिने र काम प्राधिकरणले गर्ने सम्झौता त्यतिवेला भएको थियो।’

काम सकिनुपर्ने वेलामा बल्ल सुरु 
सम्झौताअनुसार ०७८ कात्तिकसम्म उपत्यकाका सबै सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गरिसक्नुपर्ने हो। तर, विद्युत् प्राधिकरणले बल्ल काम सुरु गर्दै छ। १७ सय बत्ती जडान गर्ने सम्झौता भए पनि ललितपुर क्षेत्रमा मात्रै अहिले काम भइरहेको छ। काठमाडौंमा उक्त कार्य अझै सुरु हुन सकेको छैन। प्राधिकरणका अनुसार काठमाडौंमा ८० किलाेमिटर भित्री र बाहिरी सडकमा स्मार्ट बत्ती जडान गरिने योजना तय भएको हो। नेपाल विद्युत् प्राधिकरण सडकबत्ती जडानका लागि प्रोजेक्ट छुट्याएको छ। राष्ट्रिय सडकबत्ती प्रवर्द्धन आयोजनाअन्तर्गत स्मार्ट स्ट्रिट योजनाको काम सुरु भएको आयोजनाका सहायक प्रबन्धक सागर ज्ञवालीले बताए। एक वर्षभित्र काठमाडौंका सडक झिलिमिली हुने उनको भनाइ छ। उनले भने, ‘प्राविधिक समस्याका कारण केही ढिलो भएको हो, अब तीव्र गतिमा काम हुन्छ, एक वर्षभित्र मुख्य सडकभित्रको रात्रिकालीन सौन्दर्यता नियाल्न सकिनेछ, त्यसका लागि अहिले धमाधम काम सुरु भइसकेको छ।’ 

९० र १२० वाट क्षमताका स्मार्ट बल्ब जडान गरिँदै 
सुरुमा विद्युत् प्राधिकरणले ९० र १२० वाट क्षमताका स्मार्ट बल्ब जडान गर्नेछ। जसमा  एक हजार दुई सय २७ वटा बत्ती ९० वाट र बाँकी बत्ती १२० वाट क्षमताका हुनेछन्। पुरानै पूर्वाधारमा यी स्मार्ट बल्ब जडान गरिनेछ। त्यसबाहेक उपत्यकामा दुई सय ८० वटा नयाँ पोल थप गरिनेछ। ०७८ भित्रै उपत्यकाका मुख्य सडकमा स्मार्ट लाइट जडान गरिसकिनेछ। प्राधिकरणका अनुसार ललितपुर क्षेत्रमा चार सयवटा स्मार्ट बत्ती जडान गर्ने योजना छ। जसअनुसार केही स्थानमा बत्ती राखिएको छ। ललितपुरमा राखिने बत्तीमध्ये दुई सय ३९ वटा ६० वाट क्षमता र अन्य ९० वाट क्षमताका बल्ब हुन्।

व्यस्त सडकको १५ स्थानमा दुई सयवटा हाई मास्ट बत्ती
साथै उपत्यकाका बढी व्यस्त सडकको १५ स्थानमा दुई सयवटा हाई मास्ट बत्ती जडान गरिनेछ जुन अन्य बत्तीको तुलनामा निकै चहकिलो हुन्छ। 

ललितपुर महानगरदेखि बुङमतीसम्म उज्यालो
नेपाल विद्युत् प्राधिकरण ललितपुरले ललितपुर क्षेत्रका सडकमा स्मार्ट बत्ती जडानको लागि सातवटा रुट तोकेको छ। जसअनुसार सातदोबाटो–हरिसिद्धी, सातदोबाटो–धापाखेल, सातदोबाटो–सुनाकोठी र एकान्तकुना–भैँसेपाटी–बुङमती क्षेत्र पर्दछन्। यसका साथै बुङमती दोबाटो र रातो मच्छिन्द्रनाथ मन्दिर, खोकना दोबाटो र रुद्रायणी मन्दिर र खोकना बसपार्क र बुङमती मन्दिर जोड्ने मार्ग पनि आयोजनाभित्र समेटिएका छन्। 

के हो स्मार्ट स्ट्रिट लाइट ?
हाल जडान गर्न लागिएको यो लाइट संसारका मुख्य सहरहरूमा राखिएको आधुनिक लाइट हो। यो सोलारबाट पनि बल्छ। नेपाल विद्युत् प्राधिकरणको बिजुलीको लाइन जोडेरै यो लाइट बाल्ने जनाएको छ। सोलार प्रविधि बढी खर्चिलो र उज्यालो कम दिने भएकोले प्राधिकरणकै लाइन प्रयोग गर्न लागिएको हो। यसलाई चलाउन प्राधिकरणले सर्भर निर्माण गरेको छ। सडकमा रहेका स्मार्ट बत्तीहरूकाे प्राधिकरणको सर्भरसँग सीधा जडान हुन्छ। जसअनुसार कहीँकतै लाइट बिग्रियो भने प्राधिकरणका कर्मचारीले कम्प्युटरबाट थाहा पाउन सक्छन्। आयोजनाका अनुसार यो करिब १२ वर्षसम्म टिक्छ। सर्भरबाट पनि स्मार्ट लाइट अन र अफ गर्न सकिन्छ। तर, यो बत्ती अन अफ गर्न पनि पर्दैन। यसले समय र कम जनशक्तिको बचत गर्छ।

ललितपुरमा बत्ती बल्यो, काठमाडौंमा टेन्डर हुन बाँकी 
ललितपुर क्षेत्रका केही सडकमा स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको छ। ललितपुरको कुपण्डोल, पुल्चोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुना, सातदोबाटोलगायत क्षेत्रमा स्मार्ट लाइट जडान गरिएको हो। यी ठाउँमा बत्ती बलिसकेको र मास्ट जोड्न बाँकी रहेको आयोजनाले जनाएको छ। प्राधिकरणले काठमाडौंका सडकमा स्मार्ट सडकबत्ती जडान गर्न बोलपत्र मागेको छ। काठमाडौंका लागि ठेकेदार छनोटको काम अन्तिम चरणमा पुगेको छ। ठेकेदारले पाँच वर्षका लागि मर्मतसम्भार पनि गर्नुपर्छ।  स्मार्ट सडकबत्ती जडान गर्न लाग्ने खर्चमध्ये ४० प्रतिशत प्राधिकरण र बाँकी रकम काठमाडौं र ललितपुर महानगरले दिनेछन्। 

अँध्यारोमा आफैँ बल्छ, बिहान भएपछि निभ्छ
हाल  सडकमा जडान गर्न लागिएको बत्ती आधुनिक प्रकारको हो। यो दिनमा निभ्ने र अँध्यारो भएसँगै बल्ने गर्छ। यसको बल्ब कम वाटको भए पनि चहकिलो छ। विद्युत् पनि कम खपत हुन्छ। एकपटक जडान गरिसकेपछि करिब १२ वर्षसम्म टिक्छ।  

दुई सय ८० स्थानमा नयाँ पोल
काठमाडौं उपत्यकाका दुई सय ८० स्थानमा नयाँ पोल गाडिँदै छ। ६ महिनाभित्र उपत्यकाका सडकमा बत्ती बालिने बताइएको छ। 

नगरपालिकाको प्राथमिकता
काठमाडौं उपत्यकाभित्र ललितपुरको महालक्ष्मी र गोदावरी नगरपालिकाले स्मार्ट स्ट्रिट लाइट जडानको लागि टेन्डर आह्वान गर्दै छन्। ललितपुर महानगरका मुख्य स्थानमा आयोजनाले बत्ती जडान गरिसकेको छ। त्यस्तै, कीर्तिपुर, बुढानीलकण्ठ, भक्तपुर, मध्यपुर थिमीलगायत नगरपालिकामा पनि स्मार्ट स्ट्रिट लाइट जडानको काम हुँदै छ। 

३६ घन्टाभित्र नबनाए कारबाही 
स्मार्ट स्ट्रिट लाइट राख्ने काम सकिएपछि क्षेत्र तोकेर प्राधिकरणले प्राविधिक कर्मचारी राख्छ। कुनै एउटा क्षेत्रमा बत्ती बिग्रियो भने ३६ घन्टाभित्र कर्मचारीले मर्मत गरिसक्नुपर्छ। अन्यथा कारबाही गरिने प्राधिकरणले जनाएको छ।

पोखरामा ६ महिनाभित्र बालिँदै 
पोखरा महानगरमा ६ महिनाभित्र स्मार्ट स्ट्रिट लाइट बाल्ने तयारी गरिएको छ। उक्त क्षेत्रमा सडकबत्ती जडानका लागि टपसन इनर्जी कम्पनीलाई जिम्मा दिइएको छ। पोखरा मुख्य सहरभर १६ सय वटा स्ट्रिट लाइट बालिनेछ। पोखरामा  पाँच सयवटा नयाँ पोल थप गरिनेछ। 

चितवनमा नयाँ पोल गाडिँदै
स्मार्ट स्ट्रिट लाइट जडानका लागि चितवन भरतपुर महानगरको ८० किलाेमिटर क्षेत्रमा पोल गाड्ने काम भइरहेको छ। यहाँ १३ सयवटा नयाँ पोल राखिँदै छ। महानगरले पनि स्मार्ट स्ट्रिट लाइट जडान गर्नको लागि डेन्डर आह्वान गरेको छ।

घनगढी र विराटनगरमा टेन्डर आह्वान गर्न बाँकी
स्मार्ट स्ट्रिट लाइट देशभरमै लक्ष्य हो। देशका अधिकांश मुख्य सहरहरूमा यही बत्ती जडान गरिने लक्ष्य राखिएको छ। घनगढी, विराटनगर, सुन्दर हरैँचालगायत सहरमा लाइट जडानको लागि टेन्डर आह्वान गर्न बाँकी छ। 

अधिकांश मुख्य सडक अन्धकार
राजधानीका मुख्य सडकमा रातिको समयमा पनि झिलिमिली बत्ती बालिनुपर्ने हो। चहकिलो बत्तीसँगै सहर जाग्राम हुनुपर्ने हो। तर, देशको राजधानी काठमाडौंका सडक साँझसँगै अन्धकार बन्छन्। फराकिला सडकका अधिकांश स्थानमा उज्यालो छर्ने बत्ती छैनन्। सडक आसपासमा पर्याप्त बिजुली र सोलारबत्तीका पोल भए तापनि त्यसमा टाँगिएका अधिकांश बल्ब बल्दैनन्। ती बत्ती सार्क सम्मेलनको वेला जडान गरिएको थियो। त्यसयता सडक उज्यालो पार्न उपत्यकामा कुनै काम भएको छैन।