टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
मञ्जु टेलर काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०९:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड महामारीले बढ्यो घरेलु हिंसा

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ मङ्सिर १० शुक्रबार ०९:२७:००

प्रहरीको तथ्यांकअनुसार प्रदेश २ मा एक हजार तीन सय ११ र उपत्यकामा नौ सय १५ महिला हिंसा

हिंसाका घटना जनसंख्या र परिस्थितिअनुसार फरक हुने भए पनि कोभिड महामारीपछि विश्भरि नै महिला हिंसाका घटना बढ्दै गएको विभिन्न सर्वेक्षणले देखाएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार महिलामा हुने हिंसामध्ये सबैभन्दा धेरै घरेलु हिंसाका केस छन् । 

प्रहरीको आर्थिक वर्ष ०७७/७८ र गत असोजसम्मको विवरणअनुसार प्रहरीमा मात्रै चार हजार सात सय ३२ उजुरी परेका छन् । जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना प्रदेश २ मा एक हजार तीन सय ११ र उपत्यकामा नौ सय १५ जनामा भएको छ । खासगरी लकडाउनको समयमा घरमै थुनिएर बस्नुपर्ने अवस्थाका कारण हिंसाका घटना बढेको अध्ययनले देखाएका छन् । 

प्रत्येक तीनमध्ये एकजना महिलाले भोग्छन् हिंसा
युएन वुमनले महिला हिंसाविरुद्धको अभियानको अवसर पारेर सार्वजनिक गरेको एक रिपोर्टले प्रत्येक तीनजना महिलामध्ये एकजनाले कुनै न कुनै किसिमको हिंसा भोगिरहेको जनाएको छ । केन्या, थाइल्यान्ड, युक्रेन, क्यामरुन, अल्बानिया, बंगलादेश, कोलम्बिया, पराग्वे, नाइजेरिया, कोट डिभार, मोरक्को, जोर्डन र किर्गिस्तान गरी १३ देशमा गरिएको अध्ययन बुधबार युएन वुमनले सार्वजनिक गरेको थियो ।

कोभिड महामारीको समयमा महिलामा पारेको प्रभावमा आधारित अध्ययनले हिंसा बढ्दै गएको उल्लेख गरेको छ । अध्ययनले महामारीमा प्रत्येक १० मध्ये सातजनाले घरेलु हिंसा भोगेको जनाएका छन् । जसमध्ये झन्डै आधा प्रतिशतले ‘भर्वल’ र ४० प्रतिशतले यौन दुव्र्यवहार भोगेको जनाएका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु
‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान बिहीबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धकोे अभियान विश्वभर मनाइँदै आएको छ । महिला हिंसाविरुद्धको अभियानको सन्दर्भमा नेपाल सरकार मन्त्रीस्तरको २३ कात्तिक ०७८ को निर्णयअनुसार यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो ।

सन् १९९१ देखि संयुक्त राष्ट्रसंघले घोषणा गरेसँगै अन्तर्राष्ट्रिय रूपमा मनाइँदै आएको यो अभियान नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको छ । यो वर्षसमेत नेपाल प्रहरी, महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, युएन वुमनलगायत संघसंस्थाले हिंसाविरुद्धको अभियानमा आ–आफ्नोतर्फबाट साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाएका छन् । महिला हिंसाका घटना बढ्दै गएको भन्दै नेपाल प्रहरीले अभियानमा ऐक्यबद्धता जनाउँदै विभिन्न रचनात्मक एवं सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘हिंसा सहेर र हेरेर नबसौँ, वेलैमा उजुरी गरौँ भन्ने आह्वान साथ लैंगिक हिंसासम्बन्धी कुनै उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने छ,’ नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह 
राष्ट्रिय मानवअधिकार आयोगले महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगले अभियानलाई प्रभावकारी र अर्थपूर्ण रूपमा मनाउन मानवअधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वानसमेत गरेको छ । ‘महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न र ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । घरेलु हिंसाको न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाई समेत आयोग अनुरोध गर्दछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।