मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ९ बिहीबार २०:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस अधिवेशन : कैलालीमा देउवा पक्षको वर्चस्व

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार २०:४२:००

सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समूहको वर्चस्व देखिएको छ । पाँचवटै निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा देउवानिकट उम्मेदवार विजयी भएका छन् ।
    
यस्तै, जिल्लाभरि निर्वाचनबाट चयन भएका एक सय २५ जना महाधिवेशन प्रतिनिधिमध्ये एक सय १३ जना देउवानिकट छन् । १२ जना महाधिवेशन प्रतिनिधि मात्र संस्थापन इतरपक्षबाट विजयी भएको कांग्रेस नेताहरूले बताएका छन् । वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रमा पनि देउवा समूहकै वर्चस्व देखिएको छ । 
    
कैलालीमा संस्थापन इतरसमूह निकै कमजोर छ भने देउवा समूहमै गुटउपगुट छन् । त्यसैले महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिदेखि, वडा सभापतिसम्ममा देउवा पक्षबीचमै प्रतिस्पर्धा भएको थियो । देउवा पक्षमै दुई गुटले चुनावमा दुई प्यानल भएकोले आफूअनुकूल प्यानलमा सहभागी भएर महाधिवेशन प्रतिनिधिमा संस्थापन इतरसमूहका केही उम्मेदवार विजयी भएका हुन् । 

प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले गत निर्वाचनमा लडेको कैलाली क्षेत्र नम्बर ५ को सभापतिका लागि देउवा समूहकै पाँचजना बीच प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिका लागि पनि अधिकांश प्रत्यासी देउवा समूहकै थिए ।
    
क्षेत्र नम्बर १ को सभापतिमा प्रकाश शाह, २ मा विष्णुप्रसाद ढकाल, ३ मा रीता चौधरी, ४ मा वसन्त रोकाया र ५ मा भीम पडाल विजयी भएका छन् । संस्थापन इतरसमूहका पूर्वजिल्ला सभापति गोविन्दराज जोशी, वर्तमान जिल्ला सचिव पूर्ण कुँवर, पूर्वउपसभापति वीरबहादुर हमाल, नेता बुद्धिसागर चौधरी महाधिवेशन प्रतिनिधिमा पराजित भए । जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी प्रदेश सभा क्षेत्रीय सभापतिमा पराजित भए ।
     
आन्तरिक गुटबन्दीले देउवा समूहकै केही नेताहरू पनि महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिमा पराजित भएका छन् । क्षेत्रीय सभापतिहरू भुवन अधिकारी र दिनेश जोशी क्षेत्रीय सभापतिमै पराजित भए । पूर्वसांसद सुशीला स्वाँर, कांग्रेसको गोदावरी नगरपालिकाका पूर्वसभापति हेमप्रकाश उप्रेती, फकिरसिंह कडायत, लक्ष्मीराज पाठक, जंगबहादुर साउदलगायत नेताहरू पनि निर्वाचित हुन सकेनन् । उप्रेती र पाठक वडामै क्षेत्रीय प्रतिनिधिमा र अरू नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

यहाँका पाँचमध्ये चारवटा निर्वाचन क्षेत्रमा देउवानिकट स्थानीय नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिको लागि प्रतिस्पर्धामा उत्रिएका थिए । क्षेत्र नम्बर २ मा भने देउवा र पौडेल पक्ष प्यालनसहित प्रतिस्पर्धा भएको थियो ।

वडा, पालिका, क्षेत्र र महाधिवेशन प्रतिनिधिको चुनावपछि अहिले जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । उम्मेदवारका आकांक्षीहरूले दौडधूप तीव्र बनाएका छन् । १० मंसिरमा जिल्ला अधिवेशन उद्घाटन हुने नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए । कैलाली, कञ्चनपुरमा देउवा समूहमा देखिएको दुई गुटमध्ये एउटा गुटलाई नेता रमेश लेखक र अर्को गुटलाई नेता एनपी साउदको समर्थन रहेको छ ।