मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Thursday, 13 August, 2026
२o७८ मङ्सिर ९ बिहीबार १७:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लावासीको पीडा : जहाजको टिकट नपाउँदा विमानस्थलमै हुन्छ धकेलाधकेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १७:५७:oo

हिमाली जिल्ला हुम्ला अझै पनि सडक सञ्जालको पहुँचबाहिर छ। नेपालका अधिकांश भूभागमा सहज सडक यात्रा गर्न सकिने भए पनि हुम्लामा सडक यात्रा अझै असम्भव छ। यहाँबाट राजधानी काठमाडौं वा अन्य सुगम जिल्लामा जानुपरे हवाई यात्रा नै विकल्प हो। तर, हुम्लाका वासिन्दा महँगो भाडा तिरेर पनि भनेको समयमा जहाजको टिकट पाउँदैनन्। 

हवाई टिकट सहजै नपाएपछि अत्यावश्यक काममा ओहोरदोहोर गर्नबाट उनीहरू वञ्चित छन्। यहाँका अधिकांश मानिसहरू सिमकोट एयरपोर्ट कार्यालयमै आएर जहाजको टिकट काट्छन्। तर, उनीहरूले टिकट नै पाउँदैनन्। एयरलायन्स कम्पनीहरूले त्यस क्षेत्रमा कम उडान भर्दा यस्तो समस्या आएको हो।  

टिकटकै विषयमा बिहीबार सिमकोट एयरपोर्टमा विमानस्थलका कर्मचारी र यात्रुहरूबीच धकेलाधकेलसमेत भएको थियो। उडान संख्या कम र यात्रुको संख्या धेरै भएकोले व्यवस्थापन गर्न कठिन भइरहेको सिमकोट एयरपोर्टस्थित समिट एयरका व्यवस्थापक गोविन्द लामाले जानकारी दिए। उनका अनुसार उडान संख्या कम हुँदा कतिपय यात्रुले जहाज कुरेर एयरपोर्टमै वास बस्छन्। कतिपयलाई टिकट कहाँबाट काट्ने भन्नेबारे पनि थाहासमेत हुन्न। उनीहरू विमानस्थलमै आएर टिकट काट्छन्। ‘उडान संख्या कम छ, पछिल्लो समय यात्रुहरूको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘उडान संख्या कम हुँदा यात्रुहरूले अर्को जहाज कुर्नुपर्छ।’ 

हुम्ला–काठमाडौं सीधै उडान छैन। यहाँ आउन वा यहाँबाट हुम्ला जान नेपालगन्ज र सुर्खेतदेखि जहाज चढ्नुपर्छ। दुई रुट हुँदै यात्रा गर्दा भाडा निकै महँगो पर्छ। अहिले नेपालगन्ज–हुम्लाको टिकट १० हजार छ। हुम्लाबाट–नेपालगन्ज ५० मिनेटको हवाई यात्रा हो। यो यात्राको भाडा यात्रुले ६ हजार १ सय ३० रुपैयाँ रुपैयाँ तिर्नुपर्छ। हुम्लामा तारा र समिट एयरले दिनमा एकपटक नियमित उडान भर्छन्। नेपालगन्ज–सिमकोट दैनिक उडान तालिका बिहान ७–८ बजे हो। 

नेपालगन्ज र सुर्खेतबाट गएको जहाजले उताका यात्रु बोकेर फर्कने गर्छन्। १९ सिटे ट्विनेटर जहाजमा धेरै यात्रु अट्दैनन्। कम सिट क्षमता भएका साना जहाजले मात्रै यस क्षेत्रमा उडान भर्दा कतिपय यात्रुहरू एयरपोर्टमै अलपत्र पर्ने गरेका छन्। कोही एयरपोर्टबाटै फर्कन्छन्। नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार पछिल्लो समय सातामा दुईपटक सिमकोटको लागि नेपाल वायुसेवा कम्पनीको ट्विनेटर जहाजले पनि उडान भर्न थालेको छ। तर यात्रु संख्या धेरै भएकोले हाल भइरहेका उडान संख्याले नपुग्ने प्राधिकरणका महानिर्देशन राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार यसअघि सिमकोटमा सीता एयरले पनि उडान गर्दथ्यो। अहिले सीताको उडान तालिका छैन। अन्य एयरले पनि  नियमित उडान भर्दैनन्। 

सिमकाटे विमानस्थल कार्यालयका अनुसार दैनिक २ सयजना यात्रुहरू अन्य जिल्लामा जानको लागि विमानस्थल आइपुग्छन्। तर, सबैले टिकट पाउँदैनन्। कतिपयले आफैँ अनलाइनबाट टिकट बुकिङ सुरक्षित गरे पनि अधिकांश यात्रुहरूले एयरपोर्टमै पुगेर टिकट काट्ने गर्छन्। उनीहरू टिकट नपाएपछि अर्को दिनको पालो कुरेर बस्छन्। विमानस्थल कार्यालयका अनुसार पालो कुरेर बस्ने यात्रु संख्या ४ सय छ। उनीहरूले एयरपोर्टमै आएर अग्रिम बुकिङ गरेका थिए। टिकट काटेकै दिन जहाज चढ्न नपाएका यात्रुहरू पालो कुरेर बस्छन्। 

संघीय सांसद छक्कबहादुर लामाले सडक सञ्जाल नपुगे तापनि हवाई यात्रा पनि सहज नभएको बताए। उनले कर्णाली करिडोर सडक निर्माण कार्य नेपाली सेनाले गरिरहेको बताए। उक्त सडक निर्माण कार्य सकिएपछि केही सहज हुने उनको भनाइ छ। ‘अहिले जहाजको टिकट पाउन पनि निकै मुस्किल छ, जहाज त्यहाँ थोरै मात्र जान्छन्, यसबारेमा सरकारले थप ध्यान दिनुपर्छ,’ उनले भने।