गाउँ नै भोकभरीमा परेको खबर बोकेर पीडादायी यात्रा गर्दै सोमबार साँझ काठमाडौं आइपुगेका हुम्लाका जनप्रतिनिधिले गृहमन्त्री र अर्थमन्त्रीलाई भेट्न सकेनन्। गाउँमा खाद्य संकट परेपछि चार दिनको जोखिमपूर्ण बाटो हिँडेर हुम्ला सदरमुकाम पुगेका नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङ र संघीय सांसद् छक्कबहादुर लामा सोमबार साँझ काठमाडौं आइपुगेका थिए।
काठमाडौं आएर मन्त्रीलाई गाउँको खबर सुनाउन आतुर उनीहरुलाई मंगलबार मन्त्रीद्धयले भेट्ने पालो नै दिएनन्। मंगलबार दिउँसो उनीहरु गृह र अर्थ मन्त्रालयमा पुगेका थिए। गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेसँग उनीहरुले भेट गरेका थिए।
हुम्लामा चामल सकिएको समाचार संञ्चार माध्यमबाट गृहमन्त्री बालकृष्ण खाणले सोमबार नै जानकारी पाइसकेका थिए। उनले मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयलाई गोदाममा रहेको चामल नाम्खा–६ मा पुर्याउन निर्देशन दिएका थिए। तर त्यहाँबाट काठमाडौं आइपुगेका जनप्रतिनिधिलाई गृहमन्त्री खाण र अर्थमन्त्री जनार्दन शर्माले भेट्ने समय दिएनन्।
काठमाडौं नपुग्दै अर्थमन्त्री र गृहमन्त्रीसँग भेट्ने समय मागेको सांसद लामाले बताए। तर मंगलबार सिंहदरबार छिरेका उनीहरुले गाउँको समस्या मन्त्रीलाई सुनाउन पाएनन्। आफूहरु दुई दिन कुरेरै भएपनि मन्त्रीलाई भेटेर जाने अडानमा रहेको वडाध्यक्ष तामाङले बताए। उनले भने, ‘गाउँमा भोकमरी नै पर्ने भएपछि हामी हिउँमा हिडेर आयौं, तर तत्काललाई सरकारले चामल दिने कुरा गरेन, मन्त्रीज्यूहरुले पनि भेट्ने समय दिनुभएको छैन, हुम्लास्थित सिल्सा खाद्य डिपोमै रहेको चामल र मैदा लैजान भन्यो, तर त्यहाँको चामलले सबै गाउँलाई पुग्दैन।’
उनका अनुसार हाल हिल्सा डिपोमा मौज्दात रहेको चामल र मैदा २ महिनाअघि मात्रै चीनले अनुदानमा दिएको थियो। उक्त चामल गाउँमा लैजाने तयारी त्यहाँका जनप्रतिनिधिले नै गरेका थिए। अचानक हिउँ पर्न थालेपछि डिपोबाट चामल ढुवानी गर्न नपाएको सांसद लामाको भनाई छ। हाल चामलको अभाव भएको नाम्खा गाउँपालिकाका वडा–६ लिमीमा ४ सय ७० जनाको जनसंख्या छ। भौगोलिक हिसाबले अति पछौटे मानिएको यस क्षेत्रमा उवा र आलुबाहेक अरु उत्पादन हुँदैन। त्यसले पनि खान पुग्दैन। दुई महिना अघि मात्रै चीनले करिब ३ सय बोरो मैदा र डेढ सय बोरा चामल अनुदानमा दिएको थियो। उक्त चामल हिल्सा डिपोमै थन्किएपछि स्थानीयलाई भोकै बस्नुपर्ने बाध्यता आइलागेको हो।
लिमी क्षेत्रको जनसंख्या करिब ११ सय हो। तर अहिले उक्त क्षेत्रमा ४ सय मात्रै छन्। अन्य व्यक्तिहरु सहरतिर बसाइँ सरिसकेको सांसद लामाले बताए। उनका अनुसार यहाँमा अधिकांश मानिसहरू जीवन गुजारा गर्न चिनियाँ क्षेत्र ताक्लाकोट जान्थे। तर अहिले ज्याला मजुदरी गर्न जाने ताक्लाकोट बन्द छ। कोरोना संक्रमणपछि चीनले यो नाका बन्द गरेको थियो। यसअघि सरकारले चीनकै बाटो भएर हिल्सा नाका हुँदै खाद्यान्न पठाउँदै आएको थियो। गत वर्ष असोजमा चामल पठाएको नेपाल सरकारले त्यसयता खाद्यसंकट हुने गाउँमा केहि पठाएको छैन।
हाल डिपोमा रहेको चामल गाउँसम्म लैजाने बाटो हिउँले पुरिदिएको छ। झन् झन् चिसो बढ्न थालेपछि त्यस क्षेत्रमा बाक्लो हिउँ जम्छ। स्थानीय ओहोरदोहोर गर्न सक्दैनन्। जनजीवन कष्टकर हुन्छ। जाडो याममा सुरुवातमै खाद्य संकट हुने देखिएपछि नाम्खा क्षेत्रबाट करिब ३० जनाको टोली चार दिनअघि चामल माग गर्दै हुम्ला सदरमुकाम सिमीकोट हिडेको थियो। तीमध्ये दुई जनप्रतिनिधि सोमबार काठमाडौं आइपुगेका थिए। डिपोमा भएको सामान लिमीसम्म पुर्याउने स्रोत साधन नभएपछि सांसद र वडाध्यक्ष तामाङ काठमाडौं आइपुगेका हुन्। उनीहरुले तत्कालको लागि चामल नदिएपनि हुम्ला हिल्सा डिपोमा रहेको चामल गाउँसम्म पुर्याइदिन सरकार समक्ष अनुरोध गरेका छन्।
नाम्खा गाउँपालिकामा चीनको केरुङ–ताक्लाकोट हुँदै चामल ढुवानी गरिन्थ्यो। करिब दुई वर्षअघि चीनले बन्द गरेका नाका अझै खोलिएको छैन। नाका बन्द भएपनि खाद्यान्न संकट टार्न मुस्किल भएको छ। मंगलबार सांसद लामा र वडाध्यक्ष तामाङले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेर गाउँमा खाद्य संकट परेको बारे जानकारी गराएका थिए। उनीहरुले यथासिघ्र खाद्यान्नको जोहो गरिदिन सरकारलाई आग्रह गरेका छन्। गृह मन्त्रालयले हाललाई हिल्सा डिपोमा रहेको चामल र मैदा लगेर संकट टार्न अनुरोध गरेको छ।
नेपाल सरकारको भन्दा बढी चीनको भरोसा
चीनको सीमा क्षेत्रमा पर्ने नाम्खा–लिमी गाउँमा नेपाल सरकारको खासै उपस्थिति देखिँदैन। यहाँका मानिसहरु चीनसँगकै किनमेलका भरमा बाँचेका छन् भन्दा फरक पर्दैन। गत वर्षसम्म उनीहरु उत्तरी चीनको नाका हुँदै किनमेल गर्न जान्थे। अहिले उक्त नाकामा चीनले बन्द गरेपछि उनीहरुलाई नेपाल सरकारको साथ चाहिएको हो। चीनतिरको नाका बन्द भएपछि बढी समस्या झेल्नुपरेको सांसद लामाले जानकारी दिए। उनले भने, ‘यहाँका बासिन्दाले चीनबाट सामानहरु ल्याउथे, उतै मजदुरी पनि गर्दथे, तर अहिले नाका नै बन्द भएकोले ठूलो समस्या आइरहेको हो।’
कर्मचारीसमेत बस्दैनन्
हिउँदको बेला त झन् सरकारले खटाएका कर्मचारीसमेत सीमिकोटमा आएर बस्छन्। लिमी क्षेत्रमा ४ सय जनसंख्या भएपनि हिउँ पर्ने सिजनमा कर्मचारहरु गाउमा नै बस्दैनन्। उनीहरु सिमीकोटमै बसेर गाउँमा खटिएको भन्दै भत्ता पनि थाप्छन्। प्रहरी, स्वास्थ्य कार्यालयका कर्मचारी, शिक्षक, पालिकाका कर्मचारी कोहि पनि कार्यालयमा नबसेको वडाध्यक्ष तामाङले जानकारी दिए। उनले करिब ४ महिना कर्मचारीहरु नाम्खाको लिमी गाउँमै नबस्ने गरेको उनको भनाई छ।
टेलिफोन लैजाने योजना पनि अधुरै
लिमी क्षेत्रमा टेलिफोनले काम गर्दैन। टेलिकमको टावर नटिप्ने नभएकोले यहाँका स्थानीय मोबाइल फोन प्रयोग गर्नबाट पनि बञ्चित छन्। वडाध्यक्ष पाल्जोर तामाङले ५ वर्षअघिदेखि नै लिमी क्षेत्रमा टेलिफोन लैजाने प्रयास गरेका थिए। उनले गाउँमा टेलिकमको टावर राख्नको लागि सामान पनि लगेका थिए। तर ठेकेदार कम्पनी सेवाग्राही कम भएको ठाउँमा टावर राख्न तयार भएन्। वडाध्यक्ष तामाङले भने, ‘१५ लाख खर्च गरेर टेलिकमको टावर बनाउन सामान ढुवानी गरेर लिमी क्षेत्रमा लगियो, तर ठेकेदार कम्पनी नै भेटिएन्, हामीले सकेनौं।’
राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौंतिर (भिडियो)