१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:o२:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सर्वसम्मत बन्ने ओलीको चाहनालाई रावलको चुनौती

रावलको दाबेदारी निर्विकल्प र शक्तिशाली अध्यक्ष बन्ने ओली चाहनामा बाधक

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:o२:oo

एमाले अध्यक्ष केपी ओलीले दशौँ महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्व चयनको आन्तरिक गृहकार्य अगाडि बढाइरहेकै वेला उपाध्यक्ष भीम रावलले आइतबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । मतदानपूर्व रावलले नेतृत्वसँग कुनै ‘लेनदेन’को सहमति गरेनन् भने एमाले महाधिवेशन निर्वाचनमा प्रवेश गर्नेछ । पार्टीभित्र असन्तुष्ट समूहका उच्च नेता रावलको उम्मेदवारी घोषणाले दोस्रोपटक निर्विकल्प र शक्तिशाली अध्यक्ष बन्ने ओलीको चाहनालाई धक्का दिन सक्छ । आफू अध्यक्षमा दोहोरिएर कम्तीमा १५ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन गर्ने ओलीको योजनालाई रावलको उम्मेदवारीले चुनौतीपूर्ण बनाइदिएको छ ।

एमालेमा अध्यक्ष ओलीलाई प्रमुख नेता मान्ने संस्थापन समूह, दशबुँदे सहमति गरेर पार्टीमै बसेका नेताहरूको समूह र एमालेलाई नेकपाकालीन निरन्तरता मानेर बसेको पूर्वमाओवादी समूहका नेताहरूसहित मुख्य तीन समूह छन् । त्रिपक्षीय मनोविज्ञान समेटेर एकताको सन्देश पनि दिने र आफू निर्विकल्प अध्यक्ष बन्ने ओलीको चाहना छ । 
तर, गृहजिल्ला अछामको साँफेबगरमा २३ कात्तिकमा अध्यक्ष उठ्ने पहिलो घोषणा गरेका रावलले आइतबार भने पत्रकार सम्मेलन नै गरेर आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् । आफूले एकल उम्मेदवारी घोषणा गरेको जानकारी दिँदै रावलले समूह बनाएर ‘प्यानल’ उम्मेदवारी दर्ता नगर्ने स्पष्ट पारेका छन् । त्यसो त महाधिवेशनमा ‘प्यानल’ उम्मेदवारी दिन नपाउने एमालेको निर्णय नै छ । 

दशबुँदे सहमति कार्यान्वयन नभएको भन्दै ओलीसँग चिढिँदै आएका रावलले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि छनोटमा धाँधली गरिएको भन्दै विरोधसमेत जनाएका थिए । २९ कात्तिकमा अध्यक्ष ओलीलाई भेटेर प्रतिनिधि छनोटमा विधि मिचेर धाँधली गरिएको भन्दै रावलले आपत्ति जनाएका थिए । त्यसको एक सातापछि उनले महाधिवेशनमा अध्यक्षको दाबेदारी घोषणा गरेका हुन् । 

पदाधिकारी र केन्द्रीय सदस्यका सबैजसो आकांक्षी उम्मेदवारी घोषणा गर्न हच्किएपछि महाधिवेशनको चार दिनअघिसम्म प्रतिस्पर्धाको माहोल बन्न नसकेको स्थितिमा रावलले उम्मेदवारी घोषणा गरेर एमालेको आन्तरिक राजनीतिलाई तरंगित बनाएका छन् । पाँच दशक पार्टीको विभिन्न तहमा काम गरेको अनुभव, शान्ति–प्रक्रियामा योगदान र अन्तिमसम्म पार्टी एकता जोगाउन गरेको अनवरत प्रयासलगायतका विषयले नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको रावलको भनाइ छ । 

रावलको घोषणाले चुनावी प्रतिस्पर्धाका लागि आकांक्षीहरूलाई उम्मेदवारी सार्वजनिक गर्न प्रेरित गरे पनि कतिपयले भने उनले वरिष्ठ उपाध्यक्ष सम्भव नहुँदा उपाध्यक्षमै स्थान सुरक्षित गर्न नेतृत्वमाथि दबाबका लागि उम्मेदवारीको घोषणा गरेको विश्लेषण गरेका छन् । कतिपयले १५ सदस्यीय पदाधिकारीका लागि तीन दर्जनभन्दा बढी नेता आकांक्षी देखिएको स्थितिमा रावलको घोषणाले ओलीका लागि थप चुनौती थपिएको विश्लेषण गरेका छन् । 

उम्मेदवारी घोषणा गर्दै रावलले भने अहिलेलाई राजनीतिक घोषणा मात्रै भएको र महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि वैधानिक हिसाबले प्रतिस्पर्धा अगाडि बढ्ने प्रस्ट्याएर सहमतिको ‘स्पेस’ बाँकी नै रहेको संकेत गर्न खोजेका छन् । ‘सहमति गरेर उम्मेदवारी दिने पार्टीले निर्णय गरेको अवस्था होइन । जनताको बहुदलीय जनवादले सबै पार्टी सदस्यलाई सम्पूर्ण क्षेत्रमा प्रतिस्पर्धा गर्ने मान्यता दिन्छ, त्यसैले देखाउनका लागि होइन, साँच्चै उम्मेदवारीको घोषणा गरेको हुँ,’ रावलले पत्रकार सम्मेलनमा भने, ‘अहिलेलाई अध्यक्षमा उम्मेदवारी राजनीतिक घोषणा हो, महाधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएपछि मेरो उम्मेदवारी वैधानिक रूपमा अगाडि बढ्नेछ ।’ 

अध्यक्षमा उम्मेदवारी घोषणाअघि रावलले दशबुँदे सहमतिमार्फत एकताको पक्षमा उभिँदै एमालेमै रहेका स्थायी समितिका सदस्यहरूसँग टेलिफोनबाट सुझाव लिएका थिए । उनीहरूमध्ये अधिकांशले तलैदेखि सर्वसहमतिको माहोल बन्दै आएको र अप्ठ्यारो अवस्थामा एकताको सन्देश दिने कुरालाई प्राथमिकतामा राखेर उम्मेदवारी घोषणाको हतारो नगर्न रावललाई सुझाव दिएका थिए ।

दशौँ महाधिवेशनलाई चुनावी प्रतिस्पर्धाको महाधिवेशन बनाउँदा विगतमा नेपाल समूहमा रहेका अधिकांश नेता एकातिर पराजित हुने सम्भावना र अर्कातिर चुनावकै मुखमा पार्टीमा चिराजस्तो देखिने भन्दै उनीहरूले नहतारिन सुझाव दिएका थिए । रावलले भने अध्यक्ष ओलीले अहिलेसम्म सर्वसहमतिको मोडल प्रस्तुत गरेर विश्वसनीय वातावरण निर्माण नगरेकाले प्रतिस्पर्धा आफ्ना लागि बाध्यता भएको जवाफ दिएका थिए । ‘उहाँले उम्मेदवारी घोषणा गरे पनि सहमतिकै लागि कोसिस गर्नुपर्छ, सहमतिमा ल्याएर उहाँलगायत सबै नेताको उचित व्यवस्थापन गर्नुपर्छ,’ उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘अहिले सर्वसहमतिमै नेतृत्व चयन होस् भन्ने आमप्रतिनिधिको मनोविज्ञान र अप्ठ्यारो परिस्थितिका कारण सर्वसहमतिमा नेतृत्व चयनका लागि अध्यक्ष र रावल कमरेड दुवैले योगदान गर्नुपर्छ ।’

पाँचौँ महाधिवेशनमा नीति र विचारमा मतदान हुँदासमेत मदन भण्डारीसहितका नेताको पहलमा सर्वसम्मत नेतृत्व चयन भएकाले पार्टी विभाजनको दुःखद अवस्था र नीति तथा विचार सर्वसम्मत भइसकेको अवस्थामा पनि चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्छ भन्ने कुनै आधार नरहेको ज्ञवालीको भनाइ छ । उनले आफूले रावललाई सहमतिकै लागि कोसिस गर्न सुझाव दिएको पनि बताए । 

रावलले उपमहासचिव घनश्याम भुसालसँग पनि परामर्श गरेका थिए । भुसालले पनि सर्वसहमतिको आधार तयार भएको अवस्थामा आफूले चुनावी प्रतिस्पर्धा गर्ने उद्देश्यले उम्मेदवारी नदिने, तर त्यस्तो आधार नभएको खण्डमा उपयुक्त पदमा प्रतिस्पर्धा गर्ने जवाफ फर्काएका थिए । ‘सर्वसहमतिको आधार प्रस्तुत नभएमा चुनावी प्रतिस्पर्धाका लागि उहाँले वरिष्ठ उपाध्यक्ष या महासचिवमा उम्मेदवारी दिने सम्भावना छ,’ भुसालनिकट एक केन्द्रीय सदस्यले भने, ‘यदि त्यो अवस्था भयो भने रावल–भुसालको टिमजस्तो देखिए पनि उहाँहरूले समूह बनाएर होइन, व्यक्तिगत रूपमै प्रतिस्पर्धा गर्नुहुनेछ, तर के गर्ने कुनै निर्णय भएको अवस्था होइन ।’ 

१२ वटा उद्देश्य र १५ वटा मान्यता अगाडि सारेर उम्मेदवारी घोषणा गर्दै रावलले आफ्नो उम्मेदवारीमाथि भरोसा राख्न र सद्भाव व्यक्त गर्न ओलीसहित पार्टीका नेताहरूलाई आग्रह पनि गरेका छन् । उम्मेदवारीको उद्देश्यमाथि प्रकाश पार्दै रावलले आन्तरिक एकता सुदृढ तुल्याउने, पार्टीभित्र मत प्रकट हुने अवस्था सिर्जना गर्ने, वामपन्थी दलहरूसँग सहकार्यको अवस्था सिर्जना गर्नेलगायत विषय अगाडि सारेका छन् ।‘पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समयसापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धतिसंगत सञ्चालनमा नेतृत्व प्रदान गर्ने,’ रावलले उम्मेदवारीको उद्देश्यबारे भनेका छन्, ‘पार्टी गुट र उपगुटहरूबाट ग्रस्त रहने स्थितिलाई परिवर्तन गरी विषयवस्तु तथा गुण र दोषका आधारमा धारणा र मत प्रकट गर्नसक्ने स्थिति निर्माण गर्ने ।’

यसबाहेक उनले उम्मेदवारी दिनुको कारणबारे भनेका छन्, ‘पार्टीमा देखिएका अन्तर्विरोध र समस्याहरूको निराकरण गरी अन्य वामपन्थी दल, समूह र व्यक्तिहरूसँगको सहकार्यको वातावरण सिर्जना गर्ने । पार्टी एकीकरणदेखि नेकपाको विघटन, नेकपा (एमाले)मा उत्पन्न फुट तथा सरकार निर्माण र बहिर्गमनलगायत राजनीतिक घटना र प्रभावसमेतको वस्तुनिष्ट समीक्षा गर्दै प्राप्त शिक्षालाई ग्रहण गर्ने ।’ 

नेतृत्व हस्तान्तरण गर्ने र अध्यक्षमा नदोहोरिने ओलीको यसअघिको घोषणाका साथै उमेर, अनुभव सबै हिसाबले आफू नेतृत्वका लागि अग्रसर हुनु उचित रहेकाले अगाडि बढेको रावलले विज्ञप्तिमा जनाएका छन् । ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नुभएको छ । यस क्रममा उहाँले देश र जनताको लागि गर्न सक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन्,’ रावलको भनाइ छ, ‘उहाँ स्वयंले केही समयपहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभवलगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु ।’

पार्टी फुटको अवस्थाबाट गुज्रिएको अप्ठ्यारो अवस्थामा भए पनि नेतृत्वका लागि योग्य व्यक्तिका रूपमा भरोसा गर्न रावलले ओलीलाई आग्रह गरेका छन् । ‘पार्टीमा फुट भएको वेला अरूबाट परिस्थितिको सामना गर्न केही कठिनाइ हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु । साथै, मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहनेछु,’ रावलले भनेका छन्, ‘अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहज रूपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्न हुन कमरेड केपी शर्मा ओली एवं सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरूसमक्ष हार्दिक आह्वान गर्दछु ।’

उनले विधि र पद्धतिको झन्डालाई निष्ठाका साथ उठाउन पनि उम्मेदवारी दिएको प्रस्ट्याउँदै विगतदेखिको अन्तर्संघर्ष महाधिवेशनपछि पनि जारी रहन सक्ने संकेत गरेका छन् । ‘सबै सकारात्मक सम्भावनालाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमका लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु,’ उम्मेदवारी घोषणाको औचित्य पुष्टि गर्ने कोसिस गर्दै उनले भनेका छन्, ‘मैले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झन्डालाई निष्ठा र दृढताका साथ फहराइरहन अघि बढ्ने संकल्प गरेको छु ।’
 

ad
ad