१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
देवेन्द्र अर्याल ‘आँसु’
२o८१ बैशाख २० बिहीबार o८:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्थानीय पाठ्यक्रमको औचित्य 

Read Time : > 2 मिनेट
देवेन्द्र अर्याल ‘आँसु’
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५o:oo

स्थानीय तहले आफ्ना मौलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्‍वका विषयवस्तुलाई स्थानीय पाठ्यपुस्तकमा समावेश गर्दा आमविद्यार्थीमा आफ्नो स्थानीय तहप्रतिको अपनत्व बढ्ने देखिन्छ


स्थानीय तहलाई अधिकार प्रत्याभूत भएपछि स्थानीयस्तरमा विभिन्न काम हुन थालेका छन् । विकास निर्माण, नीति निर्माण एवं शासन सञ्चालन आफ्नै मोडेलमा स्थानीय तहले गर्ने गरेको पाइन्छ । जसअनुरूप देशका विभिन्न महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले आ–आफ्नै पाठ्यक्रम बनाएर पठनपाठनमा पनि जोड दिएको देखिन्छ । उपत्यकाका काठमाडौं महानगरपालिकालगायत अन्य नगरपालिका तथा देशका कैयन् पालिकाले आ–आफ्नै स्वरूपमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयार पारी पठनपाठनको व्यवस्थासमेत गरिसकेका छन् । 

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तहमा एक सय पूर्णांकको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न सक्ने व्यवस्था भएअनुसार स्थानीय रुचि, माग, विज्ञता र आवश्यकतालाई सम्बोधन गर्न स्थानीय सरोकारवालाको प्रत्यक्ष सहभागितामा स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो । शिक्षाको राष्ट्रिय लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने विभिन्न साधनमध्ये स्थानीय पाठ्यक्रम पनि एक हो । पाठ्यक्रम कार्यान्वयनको मूल थलो विद्यालय र कार्यान्वयन गर्ने जिम्मेवार व्यक्ति भने शिक्षक नै हो । केन्द्रीय पाठ्यक्रमले हाम्रो जस्तो विविधतायुक्त समाजमा सबै आवश्यकता पूरा गर्न सक्दैन । त्यसैले सांस्कृतिक, धार्मिक, पर्यटकीय विविधताका रूपमा धनी विभिन्न स्थानीय तहले

यिनै विषयवस्तुलाई समेटेर पाठ्यक्रम तयार पारेको पाइन्छ । त्यसैले स्थानीय पालिकाहरूले स्थानीय विज्ञहरूसँगको छलफल र अन्तरक्रियाबाट पालिकाको पहिचानलाई विद्यार्थीसमक्ष पु¥याउन स्थानीय पाठ्यक्रम तयार गर्नुपरेको हो । स्थानीय पालिकाका शिक्षा समिति, शिक्षा, युवा तथा खेलकुद शाखाले स्थानीय विज्ञहरूको विज्ञतालाई प्रयोग गरेर स्थानीय पाठ्यक्रम निर्माण गर्न पहल गरेको पाइन्छ । 

समग्रमा स्थानीय पालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा स्थानीय नगरपालिकाको नामकरण, परिचय, नगर कार्यपालिका, नगरपरिषद्, न्यायिक समिति, वडा परिचय, नगरपालिकाका काम, कर्तव्य र अधिकारलाई पाठ्यक्रममा समेटिएको पाइन्छ । यसबाट विद्यार्थीले आफ्नो स्थानीय तहबारे यथेष्ट जानकारी पाउनेछन् । त्यस्तै, पालिकामा पर्ने साबिकका गाउँ विकास समितिको पूर्ण परिचय भौगोलिक अवस्था, प्राकृतिक अवस्था, प्राकृतिक स्रोत साधन, विपत् व्यवस्थापन र सुरक्षा, जैविक विविधतालाई पनि पाठ्यक्रममा समावेश गरिएको छ । त्यसैगरी, पालिकामा मनाइने विभिन्न चाडपर्व, जात्रा, परम्पराप्रति विद्यार्थीलाई परिचित गराउन र स्थानीय तहको जात्रा परम्परा र संस्कृति संरक्षणमा समेत चासो बढाउने उद्देश्यले पाठ्यपुस्तकमा ती विषय पनि समावेश गरिएका छन् । 

सम्बन्धित पालिकामा रहेका ऐतिहासिक तथा पर्यटकीय स्थलबारे पनि पाठ्यपुस्तकमा समावेश गरिएको छ । पालिकामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्‍वका स्थल र तिनको धार्मिक, सांस्कृतिक, पर्यटकीय महत्‍वलाई समेटेर आर्थिक सबलीकरणलाई समेत जोड दिएको पाइन्छ । पालिकामा हुने खेतीपाती, पशुपालन र उद्योग व्यवसाय, सीप र रोजगारीका अवस्थाबारे पनि जानकारी स्थानीय पाठ्यपुस्तकबाट पाइन्छ । जसबाट स्थानीयस्तरमा रहेका विभिन्न सीप तथा प्रविधिको संरक्षणमा मद्दत पुग्ने देखिन्छ । सामाजिक रूपान्तरण र आधुनिकीकरणमार्फत पालिकामा भएका परिवर्तन र सकारात्मक रूपान्तरणलाई पाठ्यक्रममा समाविष्ट गरेको पाइन्छ । त्यस्तै, पालिकाका प्रेरक व्यक्तित्व, स्रष्टा, कलाकार, सहिद, उदाहरणीय व्यक्तित्वलाई पनि समेटिएकाले सम्बन्धित क्षेत्रमा जन्मिएर ओझेलमा परेका उनीहरूकोे योगदान राष्ट्रिय रूपमा परिचित बन्न पुग्छ ।

यसरी पाठ्यपुस्तकमा समावेश भएका त्यस्ता व्यक्तित्वको जीवनी पढेर विद्यार्थीले थप प्रेरणा प्राप्त गर्न सक्नेछन् । जसलाई सकारात्मक र प्रेरणादायी विषयका रूपमा लिन सकिन्छ । यसरी स्थानीय तहले आफ्ना मौलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्‍वका विषयवस्तुलाई स्थानीय पाठ्यपुस्तकमा समावेश गर्दा आमविद्यार्थीमा आफ्नो स्थानीय तहप्रतिको अपनत्व बढ्ने देखिन्छ । उनीहरूले आफू र आफ्नो परिवेशलाई सहजै बोध गर्न सक्नेछन् । आफ्नो भाषा, संस्कृति, परम्परा, मूल्यमान्यताबारे उनीहरूलाई सकारात्मक रूपमा सिक्ने मौका प्राप्त हुन्छ । जसका कारण परसंस्कृति हावी हुन पाउँदैन र आफ्नो संस्कृति संरक्षणमा टेवासमेत पुग्छ । 

आफूलाई चिनेर नै आफ्नो देश र विश्व चिन्न सकिन्छ । स्थानीयकरणका साथसाथमा विश्वव्यापीकरणलाई जोड दिनु नै स्थानीय पाठ्यक्रमको महत्‍वपूर्ण पक्ष हो । नेपाल र नेपालीको अस्तित्व पहिचान तथा चिनारी बढाउनका लागि पनि स्थानीय पाठ्यक्रम बढी प्रभावकारी हुन्छ । त्यसैले स्थानीय तहको आवश्यकताका रूपमा स्थानीय पाठ्यक्रमलाई लिन सकिन्छ । तर, कतै–कतै विमातृभाषीहरूलाई पनि मातृभाषाका पाठ्यक्रम पढाउँदा त्यसले अप्ठ्यारो स्थिति पनि सिर्जना गर्न सक्छ र त्यो प्रभावकारी नहुन सक्छ । त्यसैले यस प्रकारको समस्या नआओस् भन्नका लागि सम्बन्धित पक्षले नेपाली र मातृभाषा दुवैमा पाठ्यपुस्तक तयार पारेर लागू गर्दा त्यो बढी सान्दर्भिक हुने देखिन्छ ।  (अर्याल तारकेश्वर नगरपालिकाका स्थानीय पाठ्यक्रमविज्ञ हुन्)
 

ad
ad