मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो।
२०७८ मङ्सिर १ बुधबार १४:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्तरोन्नति नहुँदा ‘मृत्युमार्ग’ बन्दै राप्ती लोकमार्ग

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १ बुधबार १४:०४:००

राप्ती लोकमार्गअन्तर्गत सल्यान क्षेत्रमा अहिले दुर्घटना सामान्यजस्तै बन्न थालेको छ। कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने राप्ती लोकमार्ग वर्षौँसम्म स्तरोन्नति र विस्तार नहुँदा ‘मृत्युमार्ग’को रूपमा परिणत हुँदै छ।

०७८ कात्तिक ७ गते जिल्लाको बागचौरबाट दाङको तुलसीपुर जाँदै गरेको भे.१च १८९० नम्बरको जिप लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिकाको मूलपानी वनस्पति उद्याननजिकै दुर्घटना भयो। दुर्घटनामा बागचौर नगरपालिकानिवासी १८ वर्षीय आशिष बस्नेतको ज्यान गयो भने थप सातजना घाइते भए। त्यसको ठीक दुई साता पुगेकै दिन कात्तिक २१ गते सल्यानको दुलधाराबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा.१ख २५५२ नम्बरको बस सोही गाउँपालिकाको खारखोलामा दुर्घटना भयो। भाइटीका लगाएर घर फर्कंदै गरेका १२ जनाले अकालमा ज्यान गुमाए भने अन्य २८ जना घाइते भए।

०६३ सालमा राप्ती लोकमार्गको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मृत्यु भयो । ०७५ सालमा राप्ती लोकमार्गकै राम्रीमा स्कुल बस दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाए। यस्ता ठूला दुर्घटना भइरहँदा पनि राप्ती लोकमार्गमा हुने दुर्घटनाका विषयमा सरकार र सरोकारवाला सबै मौन छन्। दुर्घटना भएर आफन्त गुमाउँदा दुःख व्यक्त गर्नुबाहेक दुर्घटना न्यूनीकरणमा कसैको ध्यान नगएको दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारको गुनासो छ। दाङ, सल्यान र रुकुमलाई जोड्ने राप्ती लोकमार्गअन्तर्गत अमेलियादेखि रुकुमको सल्लेसम्म एक सय ६८.५४ किलाेमिटर सडक पर्दछ। त्यसमध्ये तुलसीपुरदेखि श्रीनगरसम्मको सडक अधिक बिग्रिएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा मात्रै चालू आर्थिक वर्षको साउनदेखियता ३३ वटा सवारी दुर्घटना भएका छन्। सल्यान–दाङको सिमानादेखि सल्यान–रुकुमको सिमानासम्म भएका सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिए। दुर्घटनामा परेर ६६ जना घाइते भएका छन्। थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियताका साथ काम गरिरहेको बताए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानको सिमानादेखि सल्यानतर्फको भागको सडक स्तरोन्नतिको काम तत्काल सुरु गर्न सडक डिभिजन कार्यालय दाङसँग समन्वय भएरहेको जानकारी दिइन्। वर्षातका कारण रोकिएको सडक स्तरोन्नतिको काम चाडपर्वले गर्दा केही ढिला भएको र यसै सातादेखि काम सुरु गर्ने गरी निर्माण कम्पनीले तयारी गरेको उनको भनाइ छ।

राप्ती लोकमार्गको राम्री, चोरखोला, अरिँगाले, मूलपानी, खारखोला, भान्टाखोला दुर्घटना हुने अतिजोखिम क्षेत्र हुन् । यी क्षेत्रमा सडक खाल्टाखुल्टी, पहिरोले साँघुरो भएर जोखिम बढेको हो। सडक क्षतविक्षत हुँदा पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम झन्–झन् बढ्दै गएको स्थानीय बताउँछन्। उनीहरूले पटकपटक यस क्षेत्रमा दुर्घटना हुनुमा सडक मर्मत नहुनु, खाल्डाखुल्डी हुनु, मोडहरू साँघुरो हुनु, सडक माथिबाट झरेका पहिरो नहटाइनुले सधैँ जोखिम व्यहोर्नुपरेको बताए।

सडकको मर्मत नहुँदा अवस्था झन् जीर्ण हुँदै गएको छ। त्यसमाथि गुडाउने सवारीका साधनको गति र लोड भने उस्तै छ। सडक कमजोर छ भन्ने कुरा बिर्सिएर ओभरलोड राख्ने र तीव्र गतिमा चलाउने काम रोकिन सकेको छैन। श्रीनगर, लुहाम, कपुरकोटमा प्रहरीले जाँच पनि गरिरहेको छ। ट्राफिक प्रहरीले छड्के जाँच पनि गर्दै आएको छ। तर, सडक स्तरोन्नति नगरेसम्म प्रहरीको जाँचले मात्रै दुर्घटना रोकिएको भने छैन।