१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार o६:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बाबरको कप्तानीमा आइसिसी ड्रिम ११ को घोषणा

भारत, वेस्ट इन्डिज, बंगलादेश तथा अफगानिस्तानका खेलाडी ड्रिम ११ मा परेनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:१८:oo

 विश्व खेलकुदमा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै उत्कृष्ट ११ खेलाडी घोषणा हुने गर्छ । विशेषगरी क्रिकेट र फुटबलमा ड्रिम ११ टोली घोषणालाई बढी नै महत्व दिने गरिएको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया नयाँ विश्व च्याम्पियन बन्यो । न्युजिल्यान्ड लगातार तेस्रोपटक विश्वकप फाइनलमा पराजित भयो । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रतियोगिता समाप्तिको दोस्रो दिन नै उत्कृष्ट ११ खेलाडी घोषणा गरेको छ । 

दुबईस्थित आइसिसीको मुख्य कार्यालयले सोमबार पाकिस्तानका कप्तान बाबर अजामको नेतृत्वमा ११ खेलाडीका नाम सार्वजनिक गरेको छ । आइसिसीले ६ राष्ट्रका खेलाडी समावेश गरी आइसिसी ड्रिम ११ को नाम सार्वजनिक गरेको छ । ती ६ राष्ट्रका खेलाडीहरूले विश्वकपभरि असाधारण प्रदर्शन गरेको आइसिसीको भनाइ छ । आइसिसीको ड्रिम ११ मा उपविजेता न्युजिल्यान्ड, पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका तथा श्रीलंकाका खेलाडी अटाएका छन् । श्रीलंका र दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएका टोली हुन् । 

आइसिसीले घोषणा गरेका खेलाडीमा भारत, वेस्ट इन्डिज र बंगलादेशका प्रतिनिधित्व छैन । सुपर १२ सम्म उत्कृष्ट प्रदर्शन गरेका अफगानिस्तानसँगै नामिबिया तथा स्कटल्यान्डका खेलाडीले पनि ड्रिम ११ मा स्थान पक्का गर्न सकेनन् । प्रतियोगिताको म्यान अफ दी सिरिज न्युजिल्यान्डका डेभिड वार्नरले सुपर १२ अन्तर्गत वेस्ट इन्डिजविरुद्धदेखि नै उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले सेमिफाइनल तथा फाइनलमा म्यान विनिङ प्रदर्शन गरे । 

इंग्ल्यान्डका बटलरले श्रीलंकाविरुद्ध प्रतियोगिताकै एक मात्र शतकीय (एक सय एक रन) इनिङ्स खेलेका थिए । श्रीलंकाका वारिन्दु हसारंगा प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बने । उनले सर्वाधिक १६ विकेट हात पारे । घोषित नाममा अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पा र फास्ट बलर जोस हेजलउड छन् । हेजलउडले फाइनलमा न्युजिल्यान्डका तीन विकेट लिएका थिए । ड्रिम ११ मा वार्नर तथा इंग्ल्यान्डका बटलर ओपनिङका रूपमा रहेका छन् । 

त्यसपछि तेस्रो नम्बरमा पाकिस्तानका बाबर तथा चौथो स्थानमा अलराउन्डरका रूपमा इंग्ल्यान्डका मोइन अली छन् । श्रीलंकाका चरिथ असालंका तथा दक्षिण अफ्रिकाका एडेन माकारान छन् ।  न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका अरिन्च नोट्जे रहेका छन् । विश्वकपभरि नै पावर प्लेमा घातक बलिङ गरेका पाकिस्तानका युवा सिमर साहिन साह अफ्रिदी १२औँ खेलाडीका रूपमा छन् ।

 

ad
ad