Skip This
एमाले १०औँ महाधिवेशन : प्रतिनिधिहरूको  निर्वाचन प्रक्रिया सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Thursday, 30 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ जेठ १७ बिहीबार o६:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमाले १०औँ महाधिवेशन : प्रतिनिधिहरूको  निर्वाचन प्रक्रिया सुरु

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o६:२o:oo

एमालेले करिब आठ लाख संगठित सदस्यबाट दशौँ महाधिवेशनका प्रतिनिधिको निर्वाचन प्रक्रिया सुरु गरेको छ । देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि निर्वाचित गर्ने गरी एमालेले बिहीबारबाटै चुनावी प्रक्रिया सुरु गरेको हो । 

आगामी १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा एक हजार नौ सय ९९ प्रतिनिधि छनोट हुँदै छन् । सहमति नभएका स्थानमा २७ कात्तिकमा मतदान गर्ने एमालेको महाधिवेशन कार्यतालिका छ । 

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बिहीबार साँझसम्म सातवटै प्रदेश र गैरभौगोलिक क्षेत्रबाट प्राप्त करिब आठ लाख संगठित सदस्यमध्येबाट अधिकांश जिल्लामा निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचनका लागि बिहीबारबाटै बहुसंख्यक जिल्लामा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, फिर्तालगायतको प्रक्रिया सुरु भएको छ । 

जिल्ला कमिटीहरूले गठन गरेको निर्वाचन कमिटीहरूले चुनावी प्रक्रिया सुरु गरे पनि सबै जिल्लामा चुनिने प्रतिनिधिभन्दा धेरै गुणा उम्मेदवारी परेपछि सकभर चुनाव नगराई सर्वसम्मत गराउने केन्द्रीय नीति कार्यान्वयन गर्न नेताहरूलाई सबैतिर कठिन भएको छ । ‘सकभर सर्वसम्मत प्रतिनिधि छनोट प्राथमिकतामा रहेकाले निर्वाचन प्रक्रिया सुरु भए पनि स्वेच्छामा उम्मेदवारी फिर्ता गराएर सबैतिर सर्वसम्मतिकै लागि कोसिस चलिरहेको छ,’ केन्द्रीय कार्यालय सचिव तामाङले नयाँ पत्रिकासँग भने, ‘सर्वसम्मति नभएको खण्डमा मात्र शनिबार मतदानको प्रक्रियाबाट प्रतिनिधि छनोट हुनेछन्, अहिलेलाई सबैतिर सर्वसम्मतिकै प्रयास चलिरहेको छ ।’

स्थानीय तहको अधिवेशन सर्वसम्मत गराएको एमालेले महाधिवेशन प्रतिनिधि छनोटमा पनि सर्वसम्मति गर्न इन्चार्ज, सम्बन्धित प्रदेश र जिल्ला नेतृत्वलाई निर्देशन दिए पनि अधिकांश जिल्लामा उम्मेदवारी दिएकाले फिर्ता लिन मानेका छैनन् । तर, स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर प्रक्रिया लम्ब्याएर भए पनि सर्वसम्मत प्रतिनिधि छनोट गर्ने कोसिसलाई एमालेले पहिलो प्राथमिकता दिएको छ । 

आकांक्षीहरूले भने जनताको बहुदलीय जनवादलाई सिद्धान्त र कार्यदिशा मानेको पार्टीमा नेतृत्वले चुन्ने र चुनिने सार्वभौम अधिकार हनन गर्न खोजेको भन्दै थुप्रै ठाउँमा असन्तुष्टि जनाइरहेका छन् । तर, महाधिवेशन मूल व्यवस्थापन कमिटीका सदस्य तथा बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गर्ने प्रक्रियाबाट पार्टीभित्र कार्यकर्ता र उम्मेदवार दुवैको सार्वभौम अधिकार नखोसिने बताए । 

‘निर्वाचन प्रक्रियाभित्र मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्तालगायत सबै प्रक्रिया हुन्छन् र तोकिएको समयमा फिर्ता नभए मात्र मतदान हुने हो,’ पोखरेलले भने, ‘निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दिएकाहरूले नै चित्त बुझाएरै तोकिएको समयभित्रै दरखास्त फिर्ता लिएपछि चुन्ने र चुनिने कसैको पनि अधिकार हनन हुने प्रश्नै उठ्दैन । त्यसैले हामीले सबै प्रक्रिया पुर्‍याएर मात्रै सकभर सर्वसम्मत प्रतिनिधि छनोटलाई प्राथमिकता दिएको मात्र हो ।’

सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापा र प्रदेश २ कमिटीकी अध्यक्ष ज्वालाकुमारी साहले पनि जिल्ला नेतृत्वलाई सकभर सर्वसम्मत प्रतिनिधि छनोट गर्न निर्देशन दिइएको बताए । 

सौरहाको होटेल सेभेन स्टारमा महाधिवेशनको बन्दसत्र
एमालेले दशौँ महाधिवेशनको बन्दसत्र चितवनको सौरहास्थित सेभेन स्टार होटेलमा गर्ने भएको छ । आगामी १० देखि १२ मंसिरसम्म चितवनमा आयोजना हुने महाधिवेशनको उद्घाटन नारायणी नदीकिनारामा सकिएलगत्तै ११ मंसिरको बिहानैबाट एमालेले बन्दसत्र सुरु गर्नेछ । दशौँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका सदस्य तथा बागमती प्रदेश कमिटीका अध्यक्ष पोखरेलले सेभेन स्टार होटेलको प्रांगणमा मण्डला बनाएर बन्दसत्र सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । 

त्यसैबीच बिहीबार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, मूल व्यवस्थापन कमिटीका संयोजक रामबहादुर थापा ‘बादल’, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार उपसमितिका संयोजक योगेश भट्टराई र अध्यक्ष पोखरेलसहित मूल व्यवस्थापन समितिका सदस्यहरू तथा एमाले चितवनका नेताहरूले उद्घाटनस्थल र बन्दसत्र हुने ठाउँको प्रत्यक्ष अवलोकन गरेका छन् ।

महाधिवेशनको प्रत्यक्ष प्रसारण गर्न ६ वटा डिस्प्ले
एमालेले महाधिवेशनको उद्घाटनमा विशेषतः बागमती प्रदेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर देशभरिबाट पाँच लाख समुदाय उतार्ने दाबी गरेको छ । ‘नारायणी नदीकिनारको उद्घाटनमा तीन लाख जनसमुदाय सहभागी हुनुहुनेछ, बाँकी जनसमुदायलाई नारायणगढका मूल सडक र नारायणीपारि नवलपुरसम्म कम्तीमा ६ वटा डिस्प्ले राखेर उद्घाटनसत्रको प्रत्यक्ष प्रसारण गर्ने गरी व्यवस्थापन गर्ने तयारी छ,’ बागमती अध्यक्ष पोखरेलले नयाँ पत्रिकासँग भने । महाधिवेशनमा सहभागी हुने एक हजार नौ सय ९९ सय प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, पत्रकार, नेताहरूको सचिवालयमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीसहित ३५ सय जनाका लागि सौरहाका होटेलका कोठाहरू बुकिङ गरिएको एमालेले जनाएको छ ।

कहाँबाट कति प्रतिनिधि ?

- प्रदेश १ : ३१७
- प्रदेश २ : २०२
- बागमती प्रदेश : ३७५
- गण्डकी प्रदेश : १६१
- लुम्बिनी प्रदेश : २२५
- कर्णाली प्रदेश : १४२
- सुदूरपश्चिम प्रदेश : १२७
- उपत्यका विशेष प्रदेश : ६८
- सम्पर्क समन्वय कमिटी : ३१
- जबस : ११०
- केन्द्रीय कमिटी : १९६
- सल्लाहकार कमिटी : १५
- प्रवास कमिटी : ३०

(संगठित सदस्यको प्रारम्भिक तथ्यांक, स्रोत : एमाले केन्द्रीय कार्यालय)

यसरी छानिँदै छन् महाधिवेशन प्रतिनिधि
- एमालेले एक सय ६५ निर्वाचन क्षेत्र र गैरभौगोलिक विशेष प्रदेशअन्तर्गतका क्षेत्रबाट १२ सय संगठित सदस्यबराबर हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजना प्रतिनिधि छनोट गर्दै छ । १२ सयभन्दा बढी सदस्य रहेको क्षेत्रमा आठ सय सदस्यबराबर एक पुरुष र एक महिला प्रतिनिधि छनोट गर्ने एमालेको मापदण्ड छ । 

- प्रदेश र सोसरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँचजना, जिल्ला र विशेष जिल्लाअन्तर्गतका पाँच सयसम्म दलित पार्टी सदस्यमध्येबाट एकजना प्रतिनिधि चुनिँदै छन् । दलित सदस्य संख्या पाँच सय माथि भएमा एकजना महिला अनिवार्य र सोपछि प्रत्येक पाँच सयमा महिलाको एकतिहाइ हुने गरी एक–एकजनाको दरले प्रतिनिधि छनोट गर्ने एमालेको मापदण्ड छ । 

- भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सातजनाका दरले प्रतिनिधि निर्वाचित हुनेछन् भने प्रवासबाट ३० तथा २२ जनवर्गीय संगठनमध्ये हरेकबाट दुई महिलासहित पाँचजना प्रतिनिधि छानिनेछन् । 

- केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरूबाट दुई महिलासहित पाँचजना छानिनेछन् भने केन्द्रीय सल्लाहकार कमिटीबाट १५ जना तथा एक सय ९६ जना केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

ad
ad
ad
ad