Skip This
कानुनमाथि ट्राफिक प्रहरी !
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
ट्राफिक कारबाहीमा परेका चालकहरूलाई बुधबार स्वयंसेवकको रूपमा खटाइँदै । तस्बिर : संजित परियार
टेकराज थामी काठमाडाैं
२o८१ जेठ १७ बिहीबार o६:२६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कानुनमाथि ट्राफिक प्रहरी !

‘मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई सडकमा स्वयंसेवक बनाउनु संविधान र कानुनविपरीत’

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o६:२६:oo

मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक व्यवस्थापनमा स्वयंसेवकका रूपमा सडकमा खटाउने ट्राफिक प्रहरीको अभियान सुरुमै विवादमा तानिएको छ । विज्ञहरूले सवारीचालकलाई पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउनु कानुन र संविधानविपरीत रहेको टिप्पणी गरेका छन् । साथै उनीहरूले ट्राफिकको अभियानले मानव अधिकार र गोपनीयता उल्लंघन हुने चिन्ता व्यक्त गरेका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारबाट मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेका सवारीचालकलाई पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको छ । पहिलो दिनमा एक हजार तीन सय दुई सवारीचालकलाई कार्यालयले ट्राफिक प्रहरीसँगै पोसाक लगाएर सडकमा स्वयंसेवकका रूपमा खटाइसकेको छ ।

तर, यो काम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मात्र नभई मुलुककै संविधानविपरीत रहेको भन्दै आलोचना भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसार ट्राफिक प्रहरीले आफैँ निर्णय गरेर कसुरदारलाई पहिलोपटक कसुर गरे पाँच सय, दोस्रोपटक सोही कसुर गरे एक हजार र सोही कसुर तेस्रो वा त्यसभन्दा धेरै गरे एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने अधिकार छ । त्यसबाहेक अन्य कारबाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई छैन । 

नेपाल प्रहरीका पूर्वडिआइजी केशव अधिकारीले ट्राफिक प्रहरीबाट बुधबारबाट सुरु गरिएको कारबाही कानुन मात्र नभई संविधानविपरीत रहेको बताए । ‘मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतका कारबाहीमा परेका चालकलाई ट्राफिक प्रहरीले पोसाक लगाएर सडकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवकका रूपमा खटाउन सुरु गरेको छ,’ उनले भने, ‘यो कानुन मात्र नभई संविधानविपरीतको काम हो । ट्राफिक प्रहरीको यो कार्यले नागरिकको गोपनीयताको हकको उल्लंघन मात्रै गरेको छैन, एउटै कसुरमा पटक–पटक कारबाही गरेर कानुनको गम्भीर उल्लंघन गरेको छ ।’

पूर्वडिआइजी अधिकारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसार ट्राफिक प्रहरीलाई ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्ने अधिकार छ । तर, कारबाहीमा परेको सोही व्यक्तिलाई विशेष पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा स्वयंसेवकका रूपमा खटाउने अधिकार छैन । 

ट्राफिक प्रहरीले बुधबारबाट सुरु गरेको कारबाहीले नेपालको संविधान २०७२ को धारा २८ मा उल्लेखित गोपनीयताको हकसम्बन्धी आधारभूत अधिकार उल्लंघन गरेको उनले बताए । ‘ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुरार कारबाही गर्न सक्छ । तर, त्यही व्यक्तिलाई सचेतना क्लासका नाममा, त्यसले पनि नपुगेर सडकमा विशेष पोसाकमा ट्राफिक प्रहरीसँगै उतारेर स्वयंसेवकका रूपमा खटाउन मिल्दैन । यो विषय कानुन, निर्देशिका कतै उल्लेख छैन,’ उनले भने, ‘ट्राफिक प्रहरीले गरेको पछिल्लो कामले व्यक्तिको गोपनीयताको हक उल्लंघन गरेको छ । यो मानव अधिकार उल्लंघनको विषय पनि हो । व्यक्तिलाई एउटै कसुरमा पटक–पटक कारबाही गरेर सार्वजनिक ठाउँमा उतारेर बेइज्जत गर्नु गोपनीयतको गम्भीर उल्लंघन हो ।’

सडक तथा ट्राफिक बत्ती विशेषज्ञ इन्जिनियर आशिष गजुरेलले पनि ट्राफिक प्रहरीले सुरु गरेको पछिल्लो कारबाही संविधान र कानुन दुवै विपरीत रहेको बताए । ‘ट्राफिक प्रहरीले बुधबारबाट मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेका सवारीचालकलाई पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको छ,’ उनले भने, ‘यो कानुन मात्र नभई संविधानविपरीत छ । कारबाहीमा परेका नागरिकसँग गोपनीयताको हक हुन्छ । उनीहरूको परिचय खुल्ने गरी पोसाक लगाएर सडकमा उतार्नु संविधानविपरीतको काम हो । यसरी कारबाही गर्नु कानुनमा कतै व्यवस्था छैन ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माथिको निर्देशनपछि बुधबारबाट कारबाही सुरु गरिएको हो । ट्राफिक प्रहरीले बुधबारबाट कारबाही सुरु गरेको छ । ‘यस्तो कारबाही गर्न कानुनमा व्यवस्था छैन । माथिको निर्देशनपछि हामीले कारबाही अघि बढाएका हौँ,’ कार्यालय स्रोतले भन्यो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवन श्रेष्ठले ट्राफिक प्रहरीले सुरु गरेको कारबाहीप्रति सकारात्मक प्रतिक्रिया आउने अपेक्षा रहेको बताए । ‘मापसे कारबाहीमा परेका सवारीचालकले अब ट्राफिक प्रहरीसँगै सडकमा उभिएर यात्रुलाई सचेतना सन्देश दिनुपर्नेछ । कारबाहीप्रति नागरिकको प्रतिक्रिया सकारात्मक आउने अपेक्षा गरिएको छ । पहिलो दिन एक हजारभन्दा धेरै चालकले सचेतना कार्यक्रममा भाग लिएका छन् । अब प्रत्येक दिन यो कार्यक्रम सञ्चालन हुनेछ,’ उनले भने ।

सवारी तथा यातायात व्यवस्था ऐनमा कारबाहीसम्बन्धी यस्तो व्यवस्था
नियम उल्लंघन गर्नेलाई पहिलोपटक पाँच सय, सोही कसुरमा दोस्रोपटक एक हजार र तेस्रो वा धेरैपटक उल्लंघन गरे १५ सय रुपैयाँसम्म ट्राफिक प्रहरीले जरिवाना गर्न सक्छ  

  • ट्राफिक संकेत वा इसारा उल्लंघन गरे  
  • निषेधित ठाउँमा सवारी राखे  
  • गलत साइडबाट सवारी चलाए  
  • वन वेमा छिरे  
  • निर्धारित गतिभन्दा बढीमा चलाए  
  • राति बत्ती नबाली सवारी चलाए  
  • मादक पदार्थ सेवन गरी सवारी चलाए  
  • निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाए 
  • नम्बर प्लेट नराखी सवारी चलाए  
  • पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाए  
  • चालक अनुमतिपत्र साथमा नराखी सवारी चलाएलगायत 

केशव अधिकारी पूर्वडिआइजी, नेपाल प्रहरी
ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुरार कारबाही गर्न सक्छ । तर, त्यही व्यक्तिलाई सचेतना क्लासका नाममा, त्यसले पनि नपुगेर सडकमा विशेष पोसाकमा ट्राफिक प्रहरीसँगै उतारेर स्वयंसेवकका रूपमा खटाउन मिल्दैन । यो विषय कानुन, निर्देशिका कतै उल्लेख छैन । ट्राफिक प्रहरीले गरेको पछिल्लो कामले व्यक्तिको गोपनीयताको हक उल्लंघन गरेको छ । यो मानव अधिकार उल्लंघनको विषय पनि हो । व्यक्तिलाई एउटै कसुरमा पटक–पटक कारबाही गरेर सार्वजनिक ठाउँमा उतारेर बेइज्जत गर्नु गोपनीयताको गम्भीर उल्लंघन हो ।

एसएसपी जीवन श्रेष्ठ प्रवक्ता, उपत्यका ट्राफिक प्रहरी कार्यालय
मापसे कारबाहीमा परेका सवारीचालकले अब ट्राफिक प्रहरीसँगै सडकमा उभिएर यात्रुलाई सचेतना सन्देश दिनुपर्नेछ । कारबाहीप्रति नागरिकको प्रतिक्रिया सकारात्मक आउने अपेक्षा गरिएको छ । पहिलो दिन एक हजारभन्दा धेरै चालकले सचेतना कार्यक्रममा भाग लिएका छन् । अब प्रत्येक दिन यो कार्यक्रम सञ्चालन हुनेछ ।