१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १९:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उत्कर्षमा प्रधानन्यायाधीश प्रकरणः जबरालाई सर्वोच्च प्रवेशमा रोकसम्मका आन्दोलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १९:५७:oo

बिहीबारबाट प्रधानन्यायाधीश प्रकरण थप उत्कर्षमा पुगेको छ। सर्वोच्च परिसरमा जारी नेपाल बार एसोसियसनको धर्नामा प्रहरी हस्तक्षेप भएसँगै एकाएक विवाद उत्कर्षमा पुगेको हो। बिहीबारको हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागको आन्दोलनको स्वरूपमा परिवर्तन ल्याउँदै सर्वोच्च प्रवेशमा रोकदेखि नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वानसम्मको बाटो राजेको छ। प्रहरी हस्तक्षेपपछि आक्रामक बनेको बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। यससँगै सर्वोच्चको माहोलमा तनावपूर्ण अवस्था बढ्दै गएको छ। 

नेपाल बारले पछिल्लो घटनाक्रमको समीक्षा गरी अब आक्रामक कार्यक्रम आवश्यक रहेको निष्कर्ष निकालेको छ। नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ जबराको बर्हिगमनमा ढिलाइ भ्रष्ट्र न्यायालय प्रमुखको संरक्षण मात्रै हुने बताउँछन्। यससँगै बार आक्रामक आन्दोलनलाई अपनाउन बाध्य भएको उनको तर्क छ। ‘अब जबराको संरक्षण भनेको बिचौलियाको नाइकेको संरक्षण हो। हामीलाई बिचौलियाको नाइके चाहिएको छैन। हामीलाई शूद्ध न्याय दिने प्रधानन्यायाधीश चाहिएको हो, ’उनी भन्छन्,‘स्वच्छ न्याय दिने, निर्भीक न्याय दिने स्वतन्त्र न्यायापालिकाको नेतृत्व गर्ने प्रधानन्यायाधीश चाहिएको छ। त्यस्तो प्रधानन्यायाधीश जबसम्म हामी ल्याउँन सक्दैनौँ तबसम्म हाम्रो आन्दोलनको कदमबाट पछि हट्ने छैनौँ।’

बारले राजीनामा बटमलाइन बनाएर आन्दोलन आक्रामक बनाइहेको अवस्थामा सर्वोच्चका सबै न्यायाधीशहरू प्रधानन्यायाधीशविरुद्ध बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरालाई बहिष्कारको रणनीतिमा आन्दोलनलाई अगाडि बढाइरहेका छन्। आन्दोलन चर्किँदै जाँदा बारले देशभर इजलास बहिष्कार गरेर आन्दोलनलाई सशक्त बनाउँदै लगेको छ। तर, जबराले भने राजीनामा नगर्ने दाहोर्‍याउँदै आएका छन्। यसले अझै तनाबको स्थिति र गतिरोध लम्बिने संकेत गरेको छ।  
नागरिकस्तरबाट आन्दोलनको आह्वान
बारले बिहीबारबाट आन्दोलन बार मात्रैबाट सम्भव नभएको निष्कर्ष निकालेको छ। अध्यक्ष श्रेष्ठले अब नागरिकस्तरबाट समेत आन्दोलनका कार्यक्रम सुरु गर्न आह्वान गरे। ‘जबराको बर्हिगमनमा अब नेपाल बार मात्र हुनेछैन। अब नेपाल बारसँगै सम्पूर्ण नागरिकमा गइसकेको छ। उहाँलाई हटाउनका लागि सम्पूर्ण नागरिक समाजको आवश्यकता पर्दछ। बारले आफ्नो किसिमबाट गर्दछौँ। तपाईहरू आ–आफ्नो ठाउँबाट।’ बिहीबार नै बारले विज्ञप्ति निकालेर आन्दोलनमा भएको धरपकडलाई प्रधानन्यायाधीश जबराको निर्देशनमा भएकाले यसको मूल्य चुकाउन तयार रहन चेतावनीसमेत दिएको थियो।  

सर्वोच्च अदलत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्य शान्तिपूर्ण रूपमा विरोधका कार्यक्रम गर्दा कमजोरी ठानेर प्रधानन्याायधीशज्यूले हर्कत देखाइरहेकाले जुनसुकै मूल्यमा पनि बर्हिगमनको विकल्प नरहेको बताउँछन्। ‘शान्तिपूर्ण रूपमा विरोधका कार्यक्रम गर्दा हाम्रो कमजारी ठानेर प्रधानन्यायधीशज्यूले जुन हर्कत देखाइराख्नुभएको छ। त्यसले हामीलाई मर्माहित बनाएको छ, ’उनले भने, ‘अब हाम्रो आन्दोलनको रूप परिवर्तन भएको छ। भोलि काठमाडौं उपत्यकाका सम्पूर्ण कानुन व्यवसायी परिचालन गरेर प्रधानन्यायाधीशको सर्वोच्चमा भौतिक प्रवेशलाई निषेध गर्नेछौँ। बिचाैलियाको नाइके,भ्रष्ट्राचारीको नाइके भएर रहन दिँदैनौँ।’

सर्वोच्चभित्रै नाराबाजी–भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे!
यसअघि शान्त धर्नामा सीमित बारको आन्दोलन बिहीबार प्रहरी हस्तक्षेपसँगै आक्रामक बन्यो। बिहीबारबाट बारले उपत्यकाका अदालत र न्यायिक निकायमा २ घण्टा बहस बहिष्कार गरेर सर्वोच्च परिसरमा हुँदै आएको कार्यक्रमलाई सशक्त रूपमा सुरु गरेको थियो। बिहीबार सर्वोच्च परिसरमै धर्ना र कोणसभा गर्ने बारको कार्यक्रम थियो। सोहीअनुसार बारले कार्यक्रम अगाडि बढाएपछि प्रहरीले हस्तक्षेप गर्न पुगेको थियो।

सर्वोच्च परिसरमा प्रहरी हस्तक्षेपछि कानुन व्यवसायीहरू आक्रामक रूपमा प्रस्तुत भएका थिए। धर्नामा मन्तव्य दिने क्रममा बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरालाई भ्रष्ट्र र बिचौलियाको नेतृत्व गरेको भन्दै पटकपटक आरोप लगाएका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि कानुन व्यवसायीहरूले चर्को नाराबाजी र सिठ्ठी बजाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका थिए। यसक्रममा सर्वोच्च परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे!’ भन्दै नारा लगाइएको थियो।
 

ad
ad