
कामना सेवा विकास बैंक बाग्लुङ शाखाले आफ्नो स्थापना दिवसको अवसरमा बाग्लुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकको १५औँ स्थापना दिवसको अवसरमा आश्रमका लागि ३० हजारबराबरको खाद्य सामाग्री र न्यानो कपडा प्रदान गरिएको हो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आश्रमका लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्य सामग्री र कपडा सहयोग गरेको बैंकका बाग्लुङ शाखाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।
बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत यस्तै प्रकारका कार्यक्रममा सहयोग गर्दै आएको अधिकारीले बताए । आश्रममा हाल तिन महिनाको एक बच्चासहित ४९ जना आश्रित रहेको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन् ।