१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
जोसेफ एस नायी
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी लोकतन्त्र र सफ्ट पावर

ट्रम्पको कार्यकालमा अमेरिकी सफ्ट पावरमा पुगेको क्षति पुनर्बहाली हुनेमा धेरै प्रश्न छन्

Read Time : > 2 मिनेट
जोसेफ एस नायी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo


युरोप र अमेरिकाका विदेश नीतिविज्ञहरूको हालै सम्पन्न एक बैठकमा एकजना युरोपेली मित्रले समूहमा अमेरिकाका आन्तरिक अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनी अमेरिकाको हार्ड पावर (सैन्य शक्ति)प्रति विश्वस्त थिए । उनको चिन्ता अमेरिकाको घरेलु राजनीतिले उसको सफ्ट पावरलाई प्रभावित बनाउला भन्ने थियो । यस्तो डर कत्तिको यथार्थपरक छ ?
चतुर राजनीतिज्ञले धेरै पहिलेदेखि मूल्यले शक्ति सिर्जना गर्छ भन्ने बुझेका छन् । यदि मैले तपाईंलाई आकर्षित गरेर तपाईंबाट आफूले चाहेको काम गराउन सक्छु भने मैले न त ती काम गराउन पैसा खर्च गर्नुपर्छ, न बल प्रयोग गर्नुपर्छ । यदि अमेरिका (वा अन्य कुनै मुलुक)ले अरूलाई आकर्षक लाग्ने मूल्यको प्रतिनिधित्व गर्छन् भने उनीहरूले यसबाट ठूलो भूराजनीतिक प्रतिफल हासिल गर्न सक्छन् । अमेरिकाको सफ्ट पावर आंशिक रूपमा अमेरिकी संस्कृति र विदेश नीतिले निर्देशित गर्छ । तर, अमेरिकी मूल्य र देशभित्र अभ्यास हुने प्रजातन्त्रमा पनि सफ्ट पावर पनि निर्भर हुन्छ । 

अधिकांश अन्तर्राष्ट्रिय मतसर्वेक्षणहरूले डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकी सफ्ट पावरमा धक्का पुगेको देखाएको थियो । यो ट्रम्पले विदेश नीतिसम्बन्धमा अँगालेको एकाकी प्रतिक्रिया थियो । उनको सो नीतिले मित्र तथा बहुपक्षीय संस्थानलाई नै घृणा गथ्र्यो । कोभिड–१९ महामारी नियन्त्रणमा उनको प्रशासनले भोगेको असफलताले पनि त्यसमा भूमिका खेल्यो । अमेरिकाको सफ्ट पावरमाथि ट्रम्पको सबैभन्दा ठूलो प्रहार सन् २०२० को हारपछि राजनीतिक शक्ति हस्तान्तरण गर्न देखाएको अनिच्छाले गर्‍यो । 

सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद्माथि ट्रम्पसमर्थकले गरेको आक्रमणले अमेरिकाका मित्र मात्र होइन, अन्य मुलुकसमेत स्तब्ध भए । धेरैमा अमेरिकाको स्थितिले विकर्षण पैदा गर्‍यो । अमेरिकाप्रतिको आकर्षण पुनः पहिलेकै अवस्थामा फर्किन सक्छ ? अमेरिकाको सफ्ट पावरमा ठूलो धक्का लागेको यो पहिलोपटक होइन । अमेरिकाभित्र गम्भीर समस्याहरू छन्, तर ऊसँग लडेर पुनः उठ्न सक्ने क्षमता पनि छ । विगतमा अमेरिकाले गल्ती सुधारेर आफ्नो छवि सुधारेको छ । 

सन् १९६० को दशकमा अमेरिकामा नश्लवादविरुद्ध ठुल्ठूला विरोध भए । भियतनाम युद्धविरुद्धको प्रदर्शन हिंसात्मक बन्न थालेको थियो । विश्वविद्यालय भवन तथा सरकारी कार्यालयमा बम पड्किरहेका थिए । नेसनल गार्डले केन्ट स्टेट विश्वविद्यालयमा विद्यार्थी प्रदर्शनकारीको हत्या गरे । मार्टिन लुथर किङ जुनियर र केनेडी दाजुभाइको हत्या भयो । जर्ज वालेसजस्ता पपुलिस्ट डेमगगले घृणालाई बढाउने काम गरिरहेका थिए । 

यद्यपि, एक दशकभित्र कंग्रेसले कैयौँ राजनीतिक सुधार लागू गर्‍यो । राष्ट्रपति गेराल्ड फोर्डको इमानदारिता, जिम्मी कार्टरको मानवअधिकारवादी नीति र रोनाल्ड रेगनको आशावादले अमेरिकाको आकर्षण पुनर्बहाली गर्न सघायो । अश्वेत मानवअधिकार आन्दोलनमा घन्केका गीतले अमेरिकाको शक्ति त्यहाँको सरकारी नीतिमा नभएर मुख्यतः नागरिक समाज र यसको आत्मालोचना एवं सुधारको क्षमतामा भर पर्ने वकालत गर्‍यो । 

सफ्ट पावरको स्रोत हार्ड पावर (सैन्य फौज)जस्तो सरकार र राजनीतिमा मात्र निर्भर हुँदैन । जस्तो, स्वतन्त्र महिला अथवा सबल अल्पसंख्यक देखाउने हलिउड फिल्म र पप गीतले अमेरिकाप्रति अरूको ध्यान खिच्छ । त्यस्तै काम अमेरिकाको विविधतापूर्ण तथा स्वतन्त्र प्रेस, फाउन्डेसनका अनुदान कर्म र विश्वविद्यालयमा गरिने स्वतन्त्र अनुसन्धानले पनि गर्छ । अमेरिकाका फर्म, विश्वविद्यालय, फाउन्डेसन, चर्च र प्रतिरोध आन्दोलनले आफ्नै सफ्ट पावर निर्माण गरेका छन् । यिनले अमेरिकाको छवि निर्माणमा योगदान पुर्‍याउँछन् । 

स्वतन्त्र प्रेस, स्वतन्त्र अदालत र शान्तिपूर्ण प्रदर्शन अमेरिकाका सबभन्दा ठूला सफ्ट पावरका स्रोत हुन् । गलत सरकारी नीतिले अमेरिकाप्रतिको आकर्षण घटाउँदा पनि यिनको आत्ममूल्यांकन तथा आत्मसुधारको क्षमताले अरूलाई आकर्षित गर्छन् । 
 

निश्चित रूपमा शान्तिपूर्ण प्रदर्शनले सफ्ट पावर निर्माण गर्छन्, तर जनवरी ६ मा अमेरिकी संसद्वरपर देखिएको भिड कुनै हिसाबमा पनि शान्तिपूर्ण थिएन । त्यस दिनको घटनाक्रम ट्रम्पले देशको राजनीतिक ध्रुवीकरण कसरी बढाइरहेका छन् भन्ने प्रमाण थियो । आजसम्म पनि ट्रम्प रिपब्लिकन पार्टीभित्र आफूले सन् २०२० को चुनावमा जालझेलका कारण मात्र हारेको मिथक प्रचार गरिरहेका छन् । 

सन् २०१६ मा ट्रम्प निर्वाचित हुनुअघि नै अमेरिकामा राजनीतिक ध्रुवीकरण बढ्न थालेको थियो । ट्रम्पले त्यो स्थितिलाई उपयोग गरे र रिपब्लिकन पार्टीमा पकड जमाउन देशभित्र विद्यमान पपुलिजम विचारलाई मलजल गरे । रिपब्लिकन पार्टीभित्र अझै पनि धेरै नेता ट्रम्पले सन् २०२० को चुनावसम्बन्धी फैलाएका हल्लाको विरोध गर्न डराउँछन् । सौभाग्यवश ! धेरै राज्यका अधिकारी तथा विधायक ट्रम्पले ‘हराइरहेको मत खोज्न’ दिएको दबाबविरुद्ध खडा भए । 

केही मानिस अमेरिकी राजनीतिप्रति अझै निराश छन् । अमेरिकी लोकतन्त्रको अवसानप्रति दुःखी हुनेहरूले सन् २०२० मा एकजना डेमगग (भावोत्तेजक भाषणमार्फत जनतालाई उत्तेजित गर्ने नेता)लाई हराउन अभूतपूर्व संख्यामा मतदानकेन्द्र गएको तथ्यलाई ध्यान दिनुपर्छ । र, मतपरिणाममा प्रश्न उठाएर अदालतमा परेका झन्डै ६० मुद्दालाई स्वतन्त्र न्यायालयले बदर गरिदिएको थियो । अन्तिममा अमेरिकी कंग्रेसले चुनावी परिणामलाई सदर गरिदिएको थियो । 

अमेरिकी लोकतन्त्र पूर्णतः ठीक छ भन्ने होइन । ट्रम्पको शासनकालले थुप्रै प्रजातान्त्रिक मूल्यमा क्षति पुर्‍याएको छ । राजनीतिक ध्रुवीकरण अझै विद्यमान छ र अधिकांश रिपब्लिकन ट्रम्पले निर्वाचन सम्बन्धमा भनेको झुटमा विश्वास गर्छन् । प्रयोगकर्ताको ‘इंगेजमेन्ट’ बढाएर नाफा कमाउने अल्गोरिदममा भर पर्ने सामाजिक सञ्जालको व्यावसायिक मोडेलले विद्यमान ध्रुवीकरण बढाउन सघाइरहेको छ । फेसबुक र गुगलहरू आमसर्वसाधारणको नकारात्मक धारणा तथा संसदीय सुनुवाइको दबाबमा परेर बिस्तारै कदम उठाउन बाध्य 
हुँदै छन् । 

अमेरिकी संस्कृतिमा अझै सबलताका स्रोत भेटिन्छन्, जसलाई विगतमा निराशावादीले अवमूल्यन गरेका थिए । स्वतन्त्र प्रेस, स्वतन्त्र अदालत र शान्तिपूर्ण विरोध अमेरिकाका सबैभन्दा ठूला सफ्ट पावरका स्रोत हुन् । गलत सरकारी नीतिले अमेरिकाप्रतिको आकर्षण घटाउँदा पनि यिनको आत्ममूल्यांकन तथा आत्मसुधारको क्षमताले अरूलाई आकर्षित गर्छन् । लेखको सुरुमा मैले चर्चा गरेको चिन्तित युरोपेली मित्रलाई मैले मूल्य पुस्तासँगै बदलिने र युवापुस्ता आशाको स्रोत भएको बताएको थिएँ । 
 

ad
ad