१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रीहरू र चारवटै सुरक्षा प्रमुखसँग कार्यबाहक प्रधानमन्त्रीको छलफल

चाडपर्वका वेला हुन सक्ने सुरक्षा चुनौती र कोभिड– १९ प्रति अलर्ट रहन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार ०६:५०:००

कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका वेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणमा अलर्ट रहन मुलुकका चारवटै सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले यस्तो निर्देशन दिएका हुन् । समितिको बैठकमा रक्षामन्त्री डा. मीनेन्द्र रिजालसहित नेपाली सेनाका उपरथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारी सहभागी थिए । 

बैठकमा मन्त्री खाँणले भने, ‘नेपालमा चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरूको दायित्व हो । आवश्यक सतर्कता अपनाउनुहोस् । सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा हो । त्यसतर्फ सबैको ध्यान पुगोस् ।’ कोभिड–१९ संक्रमण नियन्त्रणका विषयमा समेत बैठकमा छलफल भएको थियो । खाँणले कोभिड–१९ पुनः संक्रमण हुन नदिन आवश्यक सुरक्षा रणनीति अपनाउन पनि निर्देशन दिए । 

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि सहभागी थिए । छलफलको क्रममा सहभागी मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूले कोभिड संक्रमण नियन्त्रण गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।