टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ३ सोमबार
  • Monday, 17 January, 2022
टेकराज थामी काठमाडौं
२०७८ कार्तिक १४ आइतबार ०६:१३:००
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बोक्सी आरोपमा हुने जघन्य अपराधका पीडित न्यायबाट सधैँ वञ्चित : ठूलाबडाबाट मिलापत्रको दबाब, अदालतमा न्यायको अभाव

Read Time : > 9 मिनेट
२०७८ कार्तिक १४ आइतबार ०६:१३:००

- सप्तरीको कृष्ण–सवरण गाउँपालिका– ४ प्रसवनीकी ३३ वर्षीया शकुन्तलीदेवी सरदारलाई १८ असोज ०७६ मा बोक्सी आरोपमा स्थानीय डम्बर सरदार, बेचन सरदार र मावीदेवी सरदारले कुटपिट गर्दै मलमूत्र खुवाए । शकुन्तालीदेवी न्यायका लागि प्रहरी हुँदै जिल्ला अदालतसम्म पुगिन् । तर, दश महिनापछि १७ भदौ ०७७ मा न्यायाधीश प्रमेश पोखरेलको इजलासले तीनै अभियुक्त निर्दोष भएको ठहर गर्‍यो ।

- सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिकाकी कौशल्यादेवी यादवलाई ०७६ वैशाखमा स्थानीय बद्री यादव, विश्वेश्वर यादव, रामगुलाम यादव, उपेन्द्र यादव, शिवकुमार यादव, अरुण यादव र कामेश्वर यादवले बोक्सीको आरोपमा चरम यातना दिए । न्यायका लागि उनी प्रहरी हुँदै अदालतसम्म पुगिन् । तर, जिल्लाका न्यायाधीश रोमनाथ अधिकारीले दाबी नपुगेको भन्दै मुद्दा खारेज हुने आदेश गरे ।  

- सप्तरीको शम्भुनाथ नगरपालिका– १२ की सकलकुमारीदेवी मण्डलमाथि १६ जेठ ०७६ मा छिमेकी पवनकुमार मण्डलले बोक्सीकै आरोपमा अमानवीय व्यवहार गरे । प्रहरी हुँदै सकलकुमारीले १ भदौमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिन् । तेस्रो पेसीमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दाबी नपुग्ने भन्दै मुद्दा खारेज हुने फैसला सुनाए, अभियुक्त मण्डलले उन्मुक्ति पाए । 

- बोक्सी आरोपमा दुव्र्यवहार खेपेकी सिराहाको मिर्चैया नगरपालिका– २ की ३८ वर्षीया कलासोदेवी साहले पनि न्यायका लागि अदालतको ढोका ढकढक्याएकी थिइन् । तर, जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाले २० भदौ ०७८ मा दाबी नपुगेको भन्दै दोस्रो पेसीमै उनको मुद्दा खारेज गरिदिए । 

- ०७५ माघको अन्तिममा सप्तरीकै रुपनी गाउँपालिका– १ की जैनव कुजर्नीमाथि पनि गाउँकै मोहम्मद मुस्तकिम राइन र समसुदिन राइनले बोक्सी आरोपमा दुर्व्यवहार गरे । मिलापत्रका लागि गाउँमै आएको दबाब थेग्दै उनले २ फागुन ०७५ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरिन् । तर, दुई वर्षपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दाबी नपुग्ने फैसला सुनाए । 

न्यायको पर्खाइमा : गत २९ असोजमा बोक्सीको आरोपमा छिमेकीहरूबाट निर्घात कुटपिटपछि मलमूत्र खुवाइएकी महोत्तरी जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवी न्याय पाउँदिनँ कि भन्ने चिन्तामा छिन् । किनभने प्रहरीले पक्राउ गरेका पीडकहरू रगेश्वर महतो, पत्नी प्रमिला, छोराहरू सिकन्दर र अनिल तथा बुहारी पुरनीदेवीलाई छुटाउन गाउँकै भलाद्मी भनिएकाले जाहेरी फिर्ता लिएर मिलापत्र गर्न दबाब दिइरहेका छन् ।

बोक्सीको आरोपमा भएका जघन्य अपराधका पीडितले न्याय नपाएका केही उदाहरण मात्रै हुन् यी । न्यायका माग्दै जेनतेन प्रहरी र न्यायालयसम्म पुग्ने निमुखा पीडित त्यहाँबाट पनि निराश हुने गरेका छन् । यस्ता अनगिन्ती उदाहरण छन्, अझ प्रदेश २ झन् धेरै । 

प्रहरीमा दर्ता भएका मुद्दा कुल घटनाका १० प्रतिशत मात्रै हुन् : मोहना अन्सारी, पूर्वआयुक्त, मानव अधिकार आयोग

बोक्सीको आरोपमा पीडित हुनेहरू मुलुकभर छन् । शिक्षित बस्नेहरू भनिएको सहरभित्रसमेत यो समस्या छ । प्रदेश २ मा सबैभन्दा धेरै पीडित छन् । तर, प्रहरीमा दर्ता भएको मुद्दा घटनाको १० प्रतिशत मात्रै हो । यसमा राजनीतिक दल र स्थानीय सरकार दोषी छन् । किनभने उनीहरूले यस्तो जघन्य अपराधविरुद्ध कुनै सचेतना कार्यक्रम नै गरेका छैनन् । जसको परिणाम स्थानीयले भोग्दै आएका छन् । अधिकांश घटना प्रहरीमा पुग्न नपाउँदै मिलापत्रमा टुंग्याइन्छ । कानुनी प्रक्रियाबाहिरै हुने मिलापत्रमा पीडित नै अन्यायमा पर्ने गरेका छन् । 

धेरैजसो घटना समाजका अगुवा भनिनेकै संरक्षणमा हुने गरेका छन् र उनीहरूकै नेतृत्वमा मिलापत्र गराएर पीडितलाई थप अन्याय पार्ने गरिन्छ । मुद्दा प्रहरीसम्म पुग्न नदिएर कानुनी बाटो गाउँमै बन्द गर्ने गरिन्छ भने प्रहरीमा पुगेका मुद्दामा पनि अधिकांश पीडितले न्याय पाएका छैनन् । किनभने पीडक पक्षले पहुँचको आडमा प्रहरीलाई नै प्रभावमा पारी मुद्दा कमजोर पार्ने गर्छन् । र, जघन्य अपराधका दोषीले न्यायालयबाट सहजै उन्मुक्ति पाउँछन् ।  

वरिष्ठ अधिवक्ता जयकुमार गोइत वादीले दाबी गरेअनुसार प्रमाण नपुग्दा अदालतबाट अभिुक्तहरू छुट्ने गरेको बताए । प्रहरी र जिल्ला न्यायाधिवक्ताले प्रमाण जुटाउन नसक्दा वा मिलेमतोमा प्रमाण जुटाउन चासो नदिँदा अदालतबाट अभियोग दाबी नपुग्ने फैसला आउने गरेको उनको अनुभव छ । जिल्ला अदालत सिराहाका स्रेस्तेदार भट्टराईले पनि त्यसमा सहमति जनाए । अदालतमा साक्षी र पीडित स्वयंले बयान फेरेका घटना पनि धेरै रहेको उनले बताए । शक्ति र पहुँच भएका पीडकको दबाबमा त्यस्तो हुने गरेको छ । 

गत २९ असोमा महोत्तरीको जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवीमाथि भएको जघन्य अपराधको घटनामा पनि त्यस्तै भइरहेको छ । उनलाई स्थानीय रगेश्वर महतोको परिवारले बोक्सीको आरोपमा मलमूत्र खुवाउँदै कुटपिट ग¥यो । घरअगाडि बिजुलीको खम्बामा तीन घन्टाभन्दा बढी बाँधेर कपाल चारपाटे मुड्दै चरम यातना दिए । सुकमरिया देवीले दिएको उजुरीका आधारमा प्रहरीले रगेश्वरसँगै पत्नी प्रमिला, छोराहरू सिकन्दर र अनिल तथा बुहारी पुरनीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर, सुकमरिया देवीलाई गाउँकै भलाद्मी भनिएकाले जाहेरी फिर्ता लिएर मिलापत्र गर्न दबाब दिइरहेका छन् । न्यायका लागि लड्न कस्सिएकी उनी अहिले अलमलमा छिन् । 

पर्साको छिपहरमाई गाउँपालिका– ३ छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई ३१ असार ०७७ मा बोक्सीको आरोपमा कुटपिट गर्दै अर्धनग्न बनाई गाउँ घुमाइयो । गाउँ घुमाउँदै गर्दा प्रहरीले महिलाको उद्धार गरेको थियो । पीडितले बेला गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानूलगायत आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइन् । आरोपीमध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानू, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले नै नियन्त्रणमा लियो । जिल्ला अदालत पर्साले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठायो । 

तर, एक वर्षभन्दा बढी समय भइसक्दा पनि फैसला भएको छैन । अन्य अभियुक्त खुला घुमिरहेका छन् । न्याय पाउन ढिलाइ हुँदा पीडितले असुरक्षा महसुस गरिरहेकी छिन् । त्यसअघि ०७७ को पुसमा पनि उनीमाथि दुव्र्यवहार भएको थियो । तर, एक महिलाको पक्षमा बोलिदिने कोही नभएकाले गाउँघरको मामला भन्दै घटना गाउँमै दबाइएको थियो । प्रहरी हुँदै अदालतसम्म पुग्दा पनि समयमै न्याय नपाएकाले उनको मनमा न्याय नपाउने डर बढ्दै छ । 

बोक्सीकै आरोपमा छिमेकी धर्मनाथ यादव र उनका छोरा सन्तोषलगायतले २८ भदौ ०७७ मा मलमूत्र खुवाई निर्घात कुटपिट गरिएकी सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डीकी मूर्तिदेवी यादव पनि न्यायको पर्खामा छिन् । आफ्नी छोरी रञ्जनालाई टुनामुना लगाएको आरोपमा धर्मनाथले मूर्तिदेवीलाई बर्बर यातना दिएका थिए । 

मुखको बंगारामा चोट लागेर गम्भीर घाइते भएपछि मूर्तिदेवीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो । सञ्चारमाध्यममा लगातार समाचार आएपछि प्रहरीले उजुरी लिएर मुद्दा अघि त बढायो, तर जिल्ला अदालतबाट प्रमुख अभियुक्त सन्तोष यादव धरौटीमा छुटे । न्यायाधीश रोमनाथ अधिकारीले २० कात्तिक ०७७ मा अभियुक्त सन्तोष यादवलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

प्रदेश सरकारबाट विज्ञप्ति मार्फत सहानुभूति जनाउने काम मात्र भएको छ : भरतप्रसाद साह, आन्तरिक मामिलामन्त्री, प्रदेश २

प्रदेश सरकारमातहत प्रहरी नहुँदा समन्वयकारी भूमिका मात्र निभाउनुपरेको छ । बोक्सीलगायत विकृतिमाथि कानुनी कारबाही गर्नु जरुरी छ । तर, प्रहरी हाम्रो मातहतमा छैन । उसले लापरबाही गर्दा पनि हामीले कारबाही गर्न सकिरहेका छैनौँ । घटना सार्वजनिक भएपछि प्रदेश सरकारले पीडितलाई सहानुभूतिका लागि विज्ञप्ति निकाल्ने मात्र काम भइरहेको छ । 

सरकारी वकिलको कार्यालयले सो आदेशमाथि उच्च अदालत राजविराजमा पुनरावलोकनको निवेदन दियो । एक वर्षयता मूर्तिदेवीको मुद्दा उच्च अदालतमै अड्किएको छ । धरौटीमा छुटेका प्रमुख आरोपी मात्र होइन, प्रहरी सूचीमा फरार भनिएका अन्य आरोपी खुलेयाम धम्की दिँदै हिँडिरहेका छन् । 

१६ फागुन ०७६ मा यस्तै यातना झेलेकी सिराहाको भगवानपुर गाउँपालिका– २ की ८० वर्षीया जलेश्वरीदेवी यादव पनि डेढ बर्षदेखि न्यायको पर्खामा छिन् । उनलाई स्थानीय दुनियालाल यादवलगायतले बोक्सी आरोपमा कुटपिट गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए । मुद्दा अदालत पुगेको डेढ वर्ष बित्दा पनि उनले न्याय पाएकी छैनन् । न्यायाधीश कृष्णप्रसाद सुवेदीले पुनः म्याद जारी गर्ने आदेश दिएका छन् ।

महिला अधिकारकर्मी भन्छन्– गाउँमै दबाइएका घटना धेरै छन्

बोक्सीको आरोपमा भएका जघन्य अपराधका अधिकांश घटना प्रहरीसम्म पुग्दैनन् । घटना सार्वजनिक भएपछि गाउँमै मिलाउने गरिन्छ । घटना गुपचुप गराउन गाउँका अगुवा भनिनेहरू, राजनीतिक दलका स्थानीय नेताहरूको प्रत्यक्ष संलग्ता रहने गर्छ । हिंसाका घटना गाउँमै मिलाउने, प्रहरीले पनि अनुसन्धानमा बेवास्ता गर्नेलगायत कारणले धेरैजसो घटना सार्वजनिक नै नहुने महिला अधिकारकर्मीको गुनासो छ । ‘मिडियामार्फत उजागर हुने घटनाहरू अदालतसम्म पुगे पनि आरोपी सजिलै धरौटीमा छुट्ने हुँदा बोक्सीको आरोपमा हिंसा झेल्न बाध्य महिलाहरू झन् प्रताडित हुने गरेका छन्,’ महिला अधिकारकर्मी श्यामकुमारी साहले भनिन् । 

त्यसको उदाहरण हुन्, मूर्तिदेवी यादव । बोक्सी बकाउन भन्दै मूर्तिदेवीलाई मध्यरातमा निर्घात कुटपिट गर्नेमध्येका एक मात्र पक्राउ परे । पक्राउ परेका सन्तोष यादव पनि २७औँ दिन जिल्ला अदालतको आदेशमा दुई लाख रुपैयाँ धरौटीमा छुटे । ‘पुर्पक्षका लागि कारागार चलान गरिनुपर्ने व्यक्ति पक्राउ परेको महिना दिन नबित्दै धरौटीमा छुटेपछि गाउँमा छाती फुलाएर हिँडेको छ,’ मूर्तिदेवीका पति रामनारायण यादवले नयाँ पत्रिकासँग भने, ‘कुटपिटमा बायाँ बंगाराको हाड भाँचिएर मेरी पत्नीको राम्ररी मुखसमेत चलाउन हुँदैन ।’ 

जिल्ला अदालतबाट मुख्य आरोपी धरौटीमा छुटेपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत राजविराजमा पुनरावेदन दिएको थियो । वर्ष दिन पुग्न लाग्दा पनि उच्च अदालतबाट फैसला आएको छैन । सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत दर्ता भएको मूर्तिदेवीको मुद्दा निरन्तर सुनुवाइ भइरहे पनि फैसला आउन नसकेको बताए । मूर्तिदेवीका पति रामनारायण भन्छन्, ‘पीडकहरू गाउँमै छन्, पक्राउ परेका एकजना पनि धरौटीमा छुटेपछि उनीहरू झन् हौसिएका छन् ।’ 

गाउँघरमा प्रायः असहाय, अशक्त र विपन्न परिवारका महिलामाथि कथित बोक्सीको आरोप लगाई यातना दिने गरिएको पाइन्छ । यस्ता घटनामा पीडितलाई न्याय दिलाउनभन्दा पीडकलाई नै बचाउन जनप्रतिनिधिको भूमिका देखिन्छ । महिला अधिकारकर्मी साह भन्छिन्, ‘सामाजिक अगुवाहरूको पीडकहरूप्रतिको पक्षधरताले पनि पीडितले न्याय पाउन कठिन भइरहेको छ । 

प्रहरीकै अघिल्तिर भएको घटनाका अभियुक्त पनि धरौटीमा छुटे

सिराहाको कल्याणपुर नगरपालिका– ६ भोक्राहा गाउँकी ३६ वर्षीया बबिताकुमारी साहलाई २५ फागुन ०७७ मा धीरेन्द्र महासेठ र उनका भाई अनिलले दुर्व्यवहार गरे । टुनामुना गरेर आफ्ना वृद्ध बाबुलाई बिरामी बनाएको भन्दै बबिताकुमारीमाथि कुटपिट भएको थियो, तर उनीहरूमाथि कुनै कारबाही भएन । मनोबल बढेका महासेठ परिवारले २९ जेठ ०७८ मा राति पुनः घरमै पुगेर उनीमाथि निर्मम हिंसा गर्‍यो । विनोदकुमार महासेठ, उनकी पत्नी पुनम महतो, जितेन्द्र महासेठ, धीरेन्द्र महासेठ, अनिल महासेठ र मालती महतोलगायतले लछारपछार गर्दै फलामे रड, भाटा र लाठीले कुटेका थिए । 

बबिता न्याय खोज्दै प्रहरीसम्म पुगिन् । प्रहरीले घटनामा संलग्नमध्ये धीरेन्द्रलाई पक्राउ गरी कारबाही अगाडि बढायो । अदालतले उनलाई धरौटीमा छाडिदियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले भने, ‘कथित बोक्सीको आरोपमा संलग्न तीनमध्ये ३२ वर्षीय धीरेन्द्र महासेठलाई पक्राउ गरी कानुनी कारबाही चलाइएको थियो । उनी अदालतबाट धरौटीमा रिहा भएका छन् । घटनामा संलग्न अन्य फरार छन्, खोजी भइरहेको छ ।’

हात, खुट्टा र ढाडमा गम्भीर चोट लागेकी बबिता धनगढीको मुुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा करिब चार महिनासम्म थेरापीसहितको उपचार गरेपछि मात्र तंग्रिइन् । ‘एकातिर हिंसा सहनुपर्‍यो, अर्कोतिर उपचारका क्रममा करिब दुई लाख रुपैयाँ ऋण लाग्यो,’ बबिताका पति सुजित साहले भने, ‘गाउँमा उनीहरूकै बोलवाला छ । ठूलाबडा उनीहरूले नै चिनेका छन् । अनि, हामी निमुखाले कसरी न्याय पाउनु ?’ 

पीडितलाई न्याय दिलाउन राष्ट्रिय महिला आयोगको पनि बेवास्ता

सिराहाको औरही गाउँपालिका– ५ की ५० वर्षीया हिरादेवी साह न्याय खोज्दै सात महिनादेखि अदालत धाइरहेकी छिन् । गाईलाई टुनामुना गरेको भन्दै ४ वैशाख ०७८ मा उनलाई जेठाजु, बुहारी र भतिजाहरूले मलमूत्र खुवाई कुटपिट गरेका थिए । घटनालगत्तै गाउँमै मिलापत्र गर्न खोजिएको थियो । न्याय खोज्न प्रहरी कार्यालय पुग्दा त्यहाँ पनि उनीमाथि अन्याय भएको थियो । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।

नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि भने प्रहरीले जाहेरी दर्ता गरी एक आरोपीलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको थियो । अदालतले पक्राउ परेका भतिजा पर्ने धुरन साहलाई पुर्पक्षका लागि कारागार पठाएको छ । तर, जेठाजु मानवीर, अर्का भतिजो महेश कुमार तथा बुहारीहरू कौशिला, निशा र कवितालाई प्रहरीले अझै पक्राउ गरेको छैन । उजुरी दर्तापछि केही दिन फरार भएका उनीहरू अहिले घरमै आएर बसिरहेका छन् । तैपनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । गाउँका अगुवा भनिनेहरू मिलापत्रका लागि दबाब दिन थालेका छन् । यस्तोमा हिरादेवी असुरक्षा महसुस गरिरहेकी छिन् । 

‘आफ्नै मान्छे हो भन्दै मिलापत्र गर्न दबाब दिइरहेका छन्,’ हिरादेवीले नयाँ पत्रिकासँग भनिन्, ‘ममाथि त्यत्रो अन्याय भयो, त्यसको वास्ता छैन । गाउँका स्थानीय नेताहरू मिल्नुपर्छ, लागेको खर्च उपलब्ध गराइदिन्छौँ भन्छन् ।’ उनले आफूलाई पैसा नभई न्याय चाहिएको दृढता व्यक्त गरिन् ।

घटना सार्वजनिक भएपछि राष्ट्रिय महिला आयोगकी सदस्य विद्या सिन्हा नेतृत्वको टोलीले ८ वैशाखमा स्थलगत अध्ययनका लागि आएको थियो । टोलीले पीडितसँग भेट गरी कानुनी लडाइँमा आयोगले साथ दिने आश्वासन दिएको थियो । तर, त्यसयता आयोगबाट कुनै सम्पर्क नभएको नभएको हिरादेवीले दुखेसो गरिन् ।

प्रदेश २ का आन्तरिक मामिलामन्त्री भन्छन्– प्रदेशको आफ्नै प्रहरी नहुँदा एक्सन लिन सकिएन
कथित बोक्सीका नाममा भइरहेका जघन्य अपराध रोक्न प्रदेश २ सरकारको भूमिका कमजोर देखिएको छ । प्रदेश २ सरकारले सामाजिक विकृतिका रूपमा रहेको यस्तो जघन्य अपराध रोक्न प्रभावकारी कार्यक्रम ल्याएको छैन । तर, प्रदेश २ सरकारका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन नहुँदा तत्काल एक्सन लिन नसकिएको बताउँछन् । 

‘प्रदेश सरकारमातहत प्रहरी नहुँदा समन्वयकारी भूमिका मात्र निभाउनुपरेको छ,’ मन्त्री साहले भने, ‘बोक्सीलगायत विकृतिमाथि कानुनी कारबाही गर्नु जरुरी छ । तर, प्रहरी हाम्रो मातहतमा छैन । उसले लापरबाही गर्दा पनि हामीले एक्सन लिन सकिरहेका छैनौँ ।’ घटना सार्वजनिक भएपछि प्रदेश सरकारले पीडितलाई सहानुभूतिका लागि विज्ञप्ति निकाल्ने मात्र काम भइरहेको बताए । प्रदेश २ सरकारका प्रवक्ता रहेका आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले चेतनाको अभाव र अन्धविश्वासका कारण प्रदेश २ का जिल्लामा यस्ता घटना भइरहेको बताए । 

सिराहा २४ र सप्तरीमा नौ मुद्दा दर्ता
तीन वर्षमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोक्सी आरोपमा दुव्र्यवहार भएका नौ उजुरी परेका थिए । ०७६/७७ मा ६, ०७७/७८ मा दुई र चालू आर्थिक वर्षमा एक उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यी नौ उजुरीमा ३५ जनामाथि किटानी जाहेरी परे पनि चारजना मात्र पक्राउ परेका छन् । ३१ जना अझै पक्राउ परेका छैनन् । 

सिराहामा चार आर्थिक वर्षमा २४ उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ०७५/७६ मा तीन, ०७६/७७ मा पाँच, ०७७/७८ मा १४ र चालू आर्थिक वर्षमा दुई उजुरी दर्ता भएका छन् ।

सात महिनाअघि बोक्सी आरोपमा मलमूत्र खुवाइएकी सिराहाकी हिरादेवी साह भन्छिन्–पैसा दिलाइदिन्छौँ, मिलापत्र गर भनेर ठूलाबडाले दबाब दिइरहेका छन्, मलाई पैसा होइन, न्याय चाहिएको छ

गाईलाई टुनामुना गरेको भन्दै गएको वैशाखमा मलाई जेठाजु, बुहारी र भतिजाहरूले कुटपिट गर्दै मलमूत्रसमेत कोच्याए । त्यतिखेरै मिलापत्र गर्न दबाब आएको थियो । मैले मानिनँ, प्रहरीकहाँ उजुरी दिएँ । सुरुमा त प्रहरीले पनि जाहेरी दर्ता गर्न मानेको थिएन । अहिले मुद्दा अदालतमा पुगेको छ । प्रहरीले एकजनालाई मात्र पक्रियो, बाँकी घरमै बसिरहेका छन् । प्रहरीले चासो दिएको छैन । घटना भएलगत्तै महिला आयोगको टोली आएर न्याय दिलाउन सघाउँछौँ भनेको थियो, तर त्यसपछि कसैले सोधखोज गरेको छैन । अझ अहिले गाउँका अगुवा भनिनेहरू मिलापत्रका लागि दबाब दिन थालेका छन् । ‘आफ्नै मान्छे हो मिलापत्र गर्नुपर्छ, लागेको खर्च उपलब्ध गराइदिन्छौँ’ भनेर दबाब दिइरहेका छन् । गाउँका नेताहरू पनि त्यस्तै भन्छन् । अब त डर पनि लाग्न थालेको छ । मलाई पैसा होइन, न्याय चाहिएको छ ।

बोक्सी आरोपमा हिंसा : चार वर्षमा १८६ मुद्दा, प्रदेश २ मा मात्रै ७९

बोक्सीको आरोपमा भएको हिंसाविरुद्ध पछिल्ला चार वर्षमा मात्रै प्रहरीमा एक सय ८६ मुद्दा दर्ता भएका छन् । सबैभन्दा धेरै प्रदेश २ मा ४२.४७ प्रतिशत अर्थात् ७९ मुद्दा दर्ता भएका छन् । 

लुम्बिनीमा २६ (१३.९७%), प्रदेश १ मा २३ (१२.३६) र बागमतीमा २२ (११.८२%) मुद्दा दर्ता भएका छन् । बागमती प्रदेशमा पर्ने काठमाडौं उपत्यकामा एउटा मात्रै मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । त्यस्तै, सुदूरपश्चिममा १३ (६.९८%), कर्णालीमा १० (५.३७%) र गण्डकीमा १२ (६.४५%) मुद्दा दर्ता भएका छन् । 

प्रहरीको तथ्यांकले मध्य तराईका जिल्लामा बोक्सीका नाममा हिंसा बढी हुने गरेको देखाउँछ । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी पनि यो तथ्यलाई स्विकार्छिन् । तर, देशभर दर्ता भएका मुद्दाको संख्या कुल घटनाको १० प्रतिशत मात्रै रहेको उनको दाबी छ ।

‘बोक्सीको आरोपमा पीडित हुनेहरू मुलकभर छन् । शिक्षित बस्नेहरू भनिएको सहरभित्र समेत यो समस्या छ । प्रदेश २ मा सबैभन्दा धेरै पीडित छन्,’ अन्सारीले भनिन्, ‘तर, प्रहरीमा दर्ता भएको मुद्दाको तथ्यांक कुल घटनाको १० प्रतिशत मात्रै हो । अधिकांश घटना प्रहरीमा पुग्न नपाउँदै मिलापत्रमा टुंग्याइन्छ । कानुनी प्रक्रियाबाहिरै हुने मिलापत्रमा पीडित नै अन्यायमा पर्ने गरेका छन् ।’ 

प्रदेश २ सरकारका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले चेतनाको अभाव र अन्धविश्वासका कारण प्रदेश २ का जिल्लामा यस्ता घटना भइरहेको बताए । ‘प्रदेश सरकारमातहत प्रहरी नहुँदा समन्वयकारी भूमिका मात्र निभाउनुपरेको छ,’ उनले भने, ‘बोक्सीलगायत विकृतिमाथि कानुनी कारबाही गर्नु जरुरी छ । तर, प्रहरी हाम्रो मातहतमा छैन । उसले लापरबाही गर्दा पनि हामीले एक्सन लिन सकिरहेका छैनौँ ।’