मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १२ शुक्रबार
  • Thursday, 10 July, 2025
२o७८ कार्तिक १२ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दोलखामा आयोजना हुने राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १२ शुक्रबार १२:o२:oo

दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कात्तिक १३ गते चरिकोटस्थित भ्युटावर खेलमैदानमा हुने हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको हो।

प्रतियोगितामा देशभरका १७ पुरुष तथा महिला रेस्लरले प्रतिस्पर्धा गर्ने रेस्लिङ संघका केन्द्रीय महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। खेल क्षेत्रको विकाससँगै कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले दोलखामा प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको महासचिव श्रेष्ठले जानकारी दिए।

प्रतियोगिता आयोजक टोलीले सर्वसाधारणहरूका लागि चरिकोट बजारबाट भ्युटावर खेलमैदानसम्म पुग्न दुईवटा बसको समेत व्यवस्था गरेको छ। भ्युटावर खेलमैदानमा मञ्च व्यवस्थापन, साउन्ड सिस्टम जडानजस्ता सबै काम सकिएको आयोजकले जनाएको छ। शुक्रबार सबै खेलाडी सदरमुकाम भित्रिने र उनीहरूलाई भीमेश्वर नगरपालिकाले औपचारिक रूपमा स्वागत गर्ने कार्यक्रम रहेको छ। नगरपालिकाको तर्फबाट नगरप्रमुख भरतबहादुर केसीले एक औपचारिक कार्यक्रमबीच स्वागत गर्ने नगरपालिकाले जनाएको छ। प्रतियोगिताको विभिन्न सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष प्रसारणसमेत गरिने महासचिव श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा नुवाकोटे टाइगर थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एमसी जोनलगायतका महिला तथा पुरुष खेलाडी सहभागी हुने जनाइएको छ।

प्रतियोगितामा हेभिवेट च्याम्पियनले एक लाख ५० हजार, हार्डकोर च्याम्पियनले एक लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइटवेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा प्रदीप पाण्डे, विकास खड्का र सिसम मैनालीले रेफ्रीको भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ।