१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
लक्ष्मीनारायण मिश्र
Invalid date format o९:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कर्मचारीका प्रवृत्ति र प्रकार

Read Time : > 2 मिनेट
लक्ष्मीनारायण मिश्र
नयाँ पत्रिका
Invalid date format o९:o९:oo

नियमित तलब–भत्ताबाहेक अतिरिक्त धनागमको सुइँको पाउनेबित्तिकै विचित्रको लचकता, अनुशासन र कार्यकुशलता देखाउनु धन कर्मचारीको विशेषता हो


कुनै संघसंस्था वा कार्यालयको विकास, विस्तार र समृद्धिमा त्यहाँका कर्मचारीको अहं भूमिका हुन्छ । कर्मचारीलाई कार्यालय वा संघसंस्थाको प्राण, मुटु, मेरुदण्ड वा शक्ति, जे नाम दिए पनि हुन्छ । कर्मचारीभित्र पियनदेखि कार्यालय प्रमुखसम्म समेटिन्छन् । जिम्मेवारीका आधारमा कर्मचारीको पद विभाजन गरिए पनि सफलता र समृद्धिका दृष्टिले सबैको उत्तिकै सक्रियता र सहभागिता रहन्छ । कर्मचारी र संघसंस्था एकअर्काका परिपूरक हुन् । त्यसैले सफलता र असफलतामा दुवैको जित र हार हुने वास्तविकतालाई संघसंस्था र कर्मचारी दुवैले बिर्सिनु हुन्न । 

१) तन कर्मचारी : तन कर्मचारीको कार्य र स्वभाव विचित्र खालको हुन्छ । यस्ता कर्मचारी कामलाई भन्दा आफ्नो भौतिक उपस्थितिलाई नै सर्वस्व ठान्छन् । येनकेन प्रकारेण समयमै कार्यालय पुग्नु र हाजिर लगाउनुलाई यस प्रकारका कर्मचारीले आफ्नो अभीष्ट सम्झन्छन् । यस्ता कोटीका कर्मचारीमा जिम्मेवारीको कत्ति पनि बोध हुन्न । आफ्नो भन्दा पनि अरूको कामको चियोचर्चाे गर्नमा पराङ्गत यस्ता कर्मचारी आफ्नो कार्यालयका नियम र योजनाबाट पनि विमुख हुन्छन् । कार्यालयमा उपस्थिति जनाएपछि घरपरिवार हुँदै हाकिमदेखि पियनसम्मका कुरा काट्नमा रचि राख्नु र मौका हेरेर फुत्त बाहिरिनु यस्ता कर्मचारीको चिनारी हो । यसका साथै आफ्नो कार्यालय र हाकिम अनि अरूका कार्यालयको लेखाजोखा गर्दै आफ्नो कार्यालयले आफूलाई न्यायोचित व्यवहार गर्न नसकेको दुखेसो पोख्नु तन कर्मचारीका दैनन्दिनी नै हुन् । यस्ता विचारलाई समर्थन र सराहना गर्ने एउटा झुन्ड प्रायः कार्यालयमा हुन्छ नै । यस्ता तन कर्मचारीको जमात जुन कार्यालयमा ठूलो हुन्छ, त्यस कार्यालयको अधोगति निश्चित छ । 

 २) धन कर्मचारी : नियमित तलब, भत्ताभन्दा पनि अतिरिक्त धनागमको सुइँको पाउनेबित्तिकै विचित्रको लचकता, अनुशासन र कार्यकुशलता देखाउनु धन कर्मचारीको विशेषता हो । अरू वेलाको कामका तुलनामा धनागमको पूर्वसन्ध्यामा यस्ता कर्मचारीको कार्य सम्पादनमा विचित्र किसिमको प्रतिभा प्रस्फुटन हुन्छ र अस्वाभाविक जिम्मेवारी बढ्छ । आफूलाई फाइदा हुँदासम्म बोलीमा मिठास, कार्यसम्पादनमा चुस्तता र व्यवहारमा स्पष्टता झल्किनु धन कर्मचारीका लक्षण हुन् । यस किसिमका कर्मचारी हाकिमलाई रिझाई आफ्नो दुनो सोझ्याउने च्याँखे दाउमा बसिरहेका हुन्छन् । अझ देश–विदेशमा हुने भ्रमण, सेमिनार, गोष्ठी, शान्तिसेनाजस्ता कुरामा यस प्रवृत्तिका कर्मचारीको जिम्मेवारी र व्यवहारमा नम्रता अनि विचित्रको भद्रता सजिलै अनुमान गर्न सकिन्छ । अवसरवादी कर्मचारीको काम गराइ खहरे जस्तो बेतालको हुन्छ । यस्ता आवेशिक कर्मचारीबाट संघसंस्थाको उन्नतिमा उतारचढाब आए पनि स्थिरताको अभाव हुन्छ । 

३) मान कर्मचारी : कामका लागि भन्दा पनि मानका लागि नामाङ्कन गरिएका कर्मचारीलाई मान कर्मचारी भनिन्छ । यस्ता कर्मचारी कुनै पनि संस्था वा कार्यालयका गहना र विश्वासिला विज्ञापन हुन् । अनुभवले खारिएका कार्यकुशल र ज्ञानवृद्ध यस्ता कर्मचारीबाट संघसंस्थाले पर्याप्त फाइदा उठाउन सक्ने प्रचुर सम्भावना भए पनि वर्षमा एकाधपल्ट टुप्लुक्क मुख देखाएर चियाको चुस्की लिँदै बगली तातो पार्ने मान कर्मचारीबाट कार्यालयले अपेक्षित फाइदा लिन भने सक्दैन । संघसंस्थाले आयोजना गरेकोे विशेष कार्यक्रममा उपस्थित भएर आफ्ना लम्बेतान भाषण र खोक्रा निर्देशनले कर्मचारीमा उत्प्रेरणाभन्दा पनि नैराश्य जन्माउने मात्र काम गर्छन् यिनले । ठूलाबडाको निर्देशनभन्दा पनि कार्यव्यापारबाट कर्मचारीमा सकारात्मक प्रभाव पार्ने सत्यतथ्यलाई मान कर्मचारीले पनि बुझ्नु आवश्यक छ । अनुभव र कार्यदक्षता भाषणमा नभई व्यवहारमा झल्किने हो भने मान कर्मचारीको मान अझ उँचो र अझ सम्मानित हुनेमा शङ्का छैन । 
 

४) मन कर्मचारी : आफ्नो कार्यालयलाई आफ्नै घर र आफूलाई त्यस घरको जिम्मेवार सदस्यका रूपमा लिने कर्मचारी मन कर्मचारी हुन् । यस्ता कर्मचारी कुनै पनि संस्थाका मुटु र गहना हुन् । यस्ता थोरै कर्मचारीका नैतिक जिम्मेवारीका बलमा कुनै पनि संघसंस्था टिकेको हुन्छ । यस्ता कर्मठ कर्मचारी अक्सर कार्यालयभित्र हँसीमज्जाका पात्र हुन्छन् । समयमै कार्यालय पुग्नु, आफ्नो कार्य जिम्मेवारीपूर्वक सम्पादन गर्नु, परिआएका खण्डमा अतिरिक्त समय दिएर भए पनि जिम्मेवारी वहन गर्नु, कार्यालयको इज्जत र प्रतिष्ठा जोगाउन बर्गतले भ्याएसम्म काम गर्नु, सबैसँग उचित व्यवहार गर्नु मन कर्मचारीका लक्षण र गुण हुन् ।

संघसंस्थाको उत्तरोत्तर अभिवृद्धिका लागि निरन्तर अध्ययन गर्नु, निरन्तर अगाडि बढ्ने सोच राख्नु, सबैसँग आत्मीयतापूर्वक व्यवहार गर्नु मन कर्मचारीका प्रवृत्ति हुन् । मन कर्मचारीको संख्या बढी भएका संघसंस्थाको उन्नति दिन दुई गुना र रात चौगुना हुने निश्चित छ । मन कर्मचारीको संख्या वृद्धि गर्न योग्य व्यक्तिलाई उचित पद र सम्मान दिन सक्नुपर्छ । मन कर्मचारीको संख्यात्मक वृद्धिमा कार्यालय प्रमुखको अनुशासन, इमानदारी, आत्मीयता, कार्यदक्षता, सदासयता अनि मिठो बोलीको महत्वपूर्ण भूमिका रहन्छ । मन कर्मचारीको पहिचान र सम्मान गर्न सके जुनसुकै संघसंस्थाले सफलताको शिखर चुम्न सक्छ ।