मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
महाराजगन्जस्थित सिआइबी कार्यालयमा जाहेरी दिने पीडतको लाइन ।
टेकराज थामी काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०९:४४:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिआइबीमा सिभिल सहकारीपीडितको भिड, एक हजार ६१ पीडितले दिए जाहेरी

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०९:४४:००

२२ सय सक्रिय निक्षेपकर्तामध्ये आधाले जाहेरी दिँदा साढे चार अर्ब ठगिएको हिसाब

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को महाराजगन्जस्थित कार्यालयमा पछिल्ला दिन सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध जाहेरी दिनेहरूको भिड लाग्ने गरेको छ । संगठित रूपमा निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत १९ असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । त्यसलगत्तै ब्युरो कार्यालयमा पीडितको भिड लाग्न थालेको हो । 

सिआइबी प्रमुख धीरजप्रताप सिंह भन्छन्– ठगिनेमा पूर्वप्रशासक, सैनिकदेखि युएनका कर्मचारीसम्म

सहकारीको सक्रिय निक्षेपकर्ता २२ सयको हाराहारीमा छन् । अहिलेसम्म एक हजारभन्दा धेरै पीडितले जाहेरी दिएका छन् । जाहेरीमा उल्लेखित रकमको परिमाण साढे चार अर्ब रुपैयाँ पुगिसकेको छ । ठगिनेमा पूर्वप्रशासकदेखि सैनिक अधिकारीसम्म छन् । एनजिओ र आइएनजिओ मात्र होइन, युएनका कर्मचारीसमेत सिभिल सहकारीको ठगीमा परेका छन् । ठगिने कोही विदेशमा छन् । सम्बन्धित दूतावासबाट कागजात प्रमाणितपछि उनीहरूको जाहेरी अनलाइनमार्फत लिने तयारीमा छौँ ।

ब्युरोका अनुसार मंगलबारसम्म सहकारीविरुद्ध एक हजार ६१ पीडितले जाहेरी दिइसकेका छन् । सबैको जाहेरीमा उल्लेखित रकमको एकमुष्ट परिमाण चार अर्ब ४५ करोड ३२ लाख ३४ हजार नौ सय २६ रुपैयाँ छ । यो दर दैनिक बढ्दै गएको ब्युरो प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए । 

‘ब्युरो कार्यालय सिभिल सहकारीपीडितको भिडले भरिने गरेको छ । अहिलेसम्म एक हजारभन्दा धेरै पीडितले जाहेरी दिइसकेका छन् । जाहेरीमा उल्लेखित रकमको परिमाण साढे चार अर्ब रुपैयाँ पुगिसकेको छ । यो दर दैनिक बढ्दै गएको छ । हामी अनुसन्धान गरिरहेका छौँ,’ डिआइजी सिंहले भने ।

सहकारीको करिब तीन हजार निक्षेपकर्तामध्ये दुई हजार दुई सय निक्षेपकर्ता सक्रिय छन् । त्यसैले हालसम्म सहकारीविरुद्ध जाहेरी दिन ब्युरो कार्यालय पुगेका पीडितको संख्या पचास प्रतिशत मात्रै हो । बीचमा दसैँ बिदा भएकाले थप पीडित आउन बाँकी रहेको ब्युरोको अनुमान छ । 

डिआइजी सिंहले भने, ‘सहकारीको सक्रिय निक्षेपकर्ता नै २२ सयको हाराहारीमा छन् । हामीकहाँ अहिले एक हजारको हाराहारीमा पीडित आएका छन् । यो भनेको कुल पीडितको पचास प्रतिशत हिस्सा मात्रै हो । दसैँ बिदा परेकाले पीडित आउन केही समय लागेको हुन सक्छ ।’

ब्युरोका अनुसार सहकारीबाट पीडित हुनेमा नेपाली सेनाका पूर्वजर्नेल, संयुक्त राष्ट्रसंघका वर्तमान तथा पूर्वकर्मचारी, नेपाल सरकारका उच्च तहका वर्तमान तथा पूर्वप्रशासक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायतका रहेका छन् । सहकारीमा एकै परिवारको पाँच करोड रुपैयाँसम्म डुबेको अनुसन्धानबाट खुलेको छ । एक करोड रुपैयाँभन्दा धेरै ठगिनेको संख्या मात्रै एक सयभन्दा धेरै पुगेको ब्युरोले जनाएको छ । ठगिनेमध्ये कतिपय विदेशमा छन् । सम्बन्धित दूतावासमार्फत प्रमाणित गराई सिआइबीले त्यस्ता पीडितको अनलाइनबाटै जाहेरी लिने तयारीसमेत गरेको छ । 

‘ठगिनेमा नेपाल सरकारका पूर्वप्रशासकदेखि सैनिक अधिकारीसम्म छन् । एनजिओ र आइएनजिओ मात्र होइन, कोही त युएनका कर्मचारीसमेत सिभिल सहकारीको ठगीमा परेका छन् । ठगिनेमध्ये कोही विदेशमा छन् । सम्बन्धित दूतावासबाट कागजात प्रमाणितपछि उनीहरूको जाहेरी हामी अनलाइनमार्फत नै लिने तयारी गरिरहेका छौँ,’ डिआइजी सिंहले भने । 

निक्षेपकर्ताबाट संकलन गरेको पैसा सहकारीबाट सञ्चालक इच्छाराज आफैँले ऋण लिएर घरजग्गामा लगानी गरेका थिए । सिभिल होम्स, सिभिल अपार्टमेन्ट र सिभिल रियल स्टेटका नाममा ऋण लगाएका थिए । यी तीनवटै कम्पनीका सञ्चालक इच्छाराज हुन् । ब्युरोका अनुसार इच्छाराजले विनाधितो सहकारीबाट पहिलोपटक चार अर्ब ७२ करोड, दोस्रोपटक एक अर्ब ३० करोड, तेस्रोपटक एक अर्ब पाँच करोड र चौथोपटक ९५ करोड रुपैयाँ गरी कुल आठ अर्ब दुई करोड रुपैयाँ ऋण लगेको देखिन्छ । 

दुई अर्ब रकमको खोजीमा प्रहरी 
पक्राउ परेका इच्छाराजसहित १२ अभियुक्तकै सम्पत्ति ब्युरोको टोलीले खोजिरहेको छ । प्राप्त विवरणअनुसार सहकारीबाट मात्रै इच्छाराजले साढे आठ अर्ब रुपैयाँ लिएको देखिन्छ । यस अवधिमा उनले सिभिल होम्सका मात्रै ११ सय घर बिक्री गरेको देखिन्छ । एउटा घरलाई उनले सरदर एक करोड रुपैयाँमा बेचेका थिए । जसबाट उनले ११ अर्ब रुपैयाँ संकलन गरेका थिए । सहकारी र सिभिल होम्सको मात्रै जम्मा पुँजी गणना गर्दा साढे १९ अर्ब रुपैयाँ हुन आउँछ । तर, अनुसन्धानमा जुटेको प्रहरीले उक्त रकमबराबरको पुँजी अहिलेसम्म भेट्टाउन सकेको छैन । ब्युरो कार्यालयमा हालसम्म परेको जाहेरीमै पनि इच्छाराजले साढे चार अर्ब रुपैयाँ ठगी गरेको देखिन्छ । तर, प्रहरीले हालसम्म उनको करिब साढे दुई अर्ब रुपैयाँबराबरको मात्रै सम्पत्ति भेट्टाउन सकेको छ । बाँकी दुई अर्ब रुपैयाँ कहाँ छ ? प्रहरी यसैको खोजीमा जुटेको छ । 

ब्युरो प्रमुख डिआइजी सिंहले भने, ‘इच्छाराजले सहकारीबाट आठ अर्ब लगेको देखिन्छ । सिभिल होम्स बेचेर आएको पैसा जोड्दा रकमको परिमाण झन् ठूलो देखिन्छ । तर, त्यति रकम पुष्टि गर्ने खालको सम्पत्ति भने भेटिएको छैन । कहाँ गयो यति ठूलो रकम ? हामी खोजीमा जुटेका छौँ ।’

०५७ मा स्थापना भएको सिभिल सहकारीमा विगत तीन वर्षअघि समस्या सुरु भएको थियो । अन्य सहकारीभन्दा महँगो ब्याज दिएर उसले सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो । आफ्नो पुँजीको १० प्रतिशत रकम मात्र सदस्यहरूलाई कर्जा लगानी गर्न पाउने व्यवस्था भए पनि सिभिल होम्सलाई मात्र आठ अर्ब लगानी गरिएको थियो ।

२१ वटा कम्पनीमा इच्छाराजको लगानी, ४४ वटा बैंक खाता 
सिआइबीका अनुसार इच्छाराजले सहकारीबाट साढे आठ अर्ब रुपैयाँ ऋण तीनवटा कम्पनीको नाममा लगेको देखिए पनि लगानी भने विभिन्न २१ वटा कम्पनीमा गरेको खुलेको छ ।

त्यसबाहेक उनले सिभिल होम्स, रियल स्टेट र अपार्टमेन्ट बेचेको रकम पनि उक्त कम्पनीमा लगानी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसका लागि उनले विभिन्न बैंकमा ४४ वटा खाता खोलेकोसमेत भेटिएको छ । बैंकमा रहेको रकमको स्रोत प्रहरीले मिहिन ढंगले अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।