१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वर्षाले १३१ ठाउँको राष्ट्रिय राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:४८:oo

निरन्तरको वर्षाले देशभरका एक सय ३१ ठाउँमा राष्ट्रिय राजमार्ग एकतर्फी मात्र सञ्चालन हुने अवस्थामा पुगेका छन् । त्यस्तै, केही ठाउँमा सडक पूर्ण रूपले अवरुद्ध भएको छ । सुर्खेत तल्लो डुंगेश्वर–सात खम्बा–डुल्लु–पिपलकोट–खुलाल–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएको छ । राष्ट्रिय राजमार्गमा पर्ने यो सडकको कालिकोट जिल्लाको हुल्म, सेरिघाट, मोल्फा, पिली र राँचुलीमा अवरुद्ध भएको हो ।

अन्य ठाउँहरूमा ससाना पहिरोले अवरुद्ध भएको, तर पिलीनजिक ठूलो ढुंगा आई अवरुद्ध भएको छ । तत्काल ब्रेकर परिचालन गर्न अपरेटर उपलब्ध नहुँदा विस्फोटक पदार्थ प्रयोग गरी खुलाउने विषयमा सुरक्षा निकायसँग समन्वय भइरहेको इन्जिनियर सन्तोष भण्डारीले जानकारी दिए । अन्य साना पहिरोहरू हटाउन विभागकै एउटा र भाडामा तीनवटा जेसिबी परिचालन भइरहेको उनले जानकारी दिए ।

सडक डिभिजन पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पिपलडाँडा भन्ने ठाउँमा ‘डेब्रिस’ निरन्तर बगिरहेको छ । यसले एकतर्फी मात्र सडक सञ्चालन भइरहेको छ । अहिले सडक सुचारु गर्न लोडरले काम गरिरहेको छ । त्यस्तै, साँफेबगर मार्तडी कोल्टी सडक बल्दे अम्कोट र डुम्रे बेँसीसहर चामे सडकको तिमाङ छहरामा पनि एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको छ । 

कर्णाली राजमार्गको दैलेखमा पर्ने बांगेसिमल, कालाखाला, बोटखालामा पनि सडक एकतर्फी बनेको छ । खोड्पे चैनपुर राजमार्गको बैतडी, बझाङ र बाजुराका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । 

अरनिको राजमार्गको जुरे, राप्ती राजमार्गको सल्यान कपुरकोट, बिपी राजमार्गको माम्ती खोला, कमेरे फाँटमा पनि एकतर्फी सडक सञ्चालनमा छ । यसबाहेक पृथ्वी राजमार्गअन्तर्गत तनहुँ एनापहरा, याम्पा, डुम्रे, देउराली घाँसीकुवामा पनि एकतर्फी मात्र सडक सञ्चालनमा छ ।

ad
ad