मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक ३ बुधबार ०६:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चीनसँग सम्बन्ध सुधारको  प्रयासमा सरकार

Read Time : > 1 मिनेट
२०७८ कार्तिक ३ बुधबार ०६:५०:००

एक महिनाको तयारीपछि नेपाल र चीनका परराष्ट्रमन्त्रीहरूबीच टेलिफोन वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार र चीन सरकारबीच ‘चिसिएको सम्बन्ध’ सुधारका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ । एक महिनाको तयारीपछि मंगलबार नेपाल र चीनका परराष्ट्रमन्त्रीहरूबीच एक घन्टा टेलिफोन वार्ता भएको छ । चीनले थप २० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । 

‘सरकारले हुम्लास्थित नेपाल–चीन सीमामा समस्या रहेको निक्र्योलसहित गृह मन्त्रालयमार्फत एकतर्फी छानबिन थालेपछि चीन असन्तुष्ट थियो । तर, चीनकै प्रयासमा सम्बन्ध सुधारको प्रयास भएको छ,’ उच्च सरकारी स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त भएपछि चीन सरकारले उनीमार्फत सरकारसँग संवादको राजनीतिक च्यानल खुला गरेको थियो । करिब तीन साता लामो गृहकार्यपछि एक घन्टा टेलिफोन कुराकानी भयो र नेपालले चीनसँग राख्नुपर्ने मूलभूत विषय स्पष्ट रूपमा राखेको छ ।’ परराष्ट्रमन्त्री खड्काले वर्तमान सरकार र कांग्रेस दुवै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका थए । नेपाली भूमिमा चीनविरुद्ध गतिविधि गर्न नदिइने धारणा पनि उनले राखेका थिए । 

परराष्ट्रमन्त्री खड्काले गत ७ असोजमा शपथग्रहण गरेलगत्तै नेपाल र चीन सरकारको कूटनीतिक च्यानलमा दुई परराष्ट्रमन्त्रीहरूबीच भिडियो बैठक आयोजनाका विषयमा छलफल सुरु भएको थियो । परराष्ट्रले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा चिनियाँ नेतृत्वसँग परराष्ट्रमन्त्री खड्काको भेटका लागि आग्रह गरेको थियो । तर, चिनियाँ परराष्ट्रमन्त्री वाङ महासभामा सहभागी नहुने सूचनासँगै चिनियाँ दूतावासमार्फत् दुई देशका परराष्ट्रमन्त्रीहरूबीच भिडियो बैठक आयोजनाको तयारी थालिएको थियो । परराष्ट्रमन्त्री नहुँदा पनि कांग्रेस नेता खड्कासँग नेपालस्थित सबैजसो मुख्य मुलुकका राजदूतहरूसँग निरन्तर छलफल र संवाद हुँदै आएको थियो । 

के थियो नेपालको एजेन्डा ? 
परराष्ट्रमन्त्री खड्काले नेपाललाई निरन्तर खोप अनुदानमा उपलब्ध गराएकोमा तथा सहज रूपमा खरिदको प्रबन्ध गरिदिएकोमा चिनियाँ समकक्षी वाङलाई धन्यवाद दिएका थिए । साथै, खड्काले दुई देशबीच व्यापार र वाणिज्य तथा विकास सहायताका विषयमा विगतमा भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । 

दुई देशका परराष्ट्रमन्त्रीहरूबीच नेपाल चीन सीमा व्यवस्थापनका विषयमा पनि कुराकानी भएको थियो । स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्काले विभिन्न विकास परियोजनाहरूको कार्यान्वयनमा भएको ढिलाइबारे चासो राखेका थिए । उनले नेपाली विद्यार्थीलाई चीनमा अध्ययनका लागि जान दिन आग्रह गरेका थिए । परराष्ट्रमन्त्री खड्काले तातोपानी र रसुवागढी नाकाबाट रासायनिक मल बोकेका कन्टेनर तथा अन्य मालबाहक कन्टेनरलाई सहज रूपमा आवागमन गर्न सहजीकरण गरिदिन चिनियाँ समकक्षीसँग आग्रह गरेका थिए । उनले कोरोनाका कारण बन्द अवस्थामा रहेको नेपाल चीन हवाईयात्रा सुरुवात गर्नुपर्ने पनि बताएका थिए । 

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहो¥याउँदै नेपालको विकासमा चीनको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका छन् । दुई देशबीचका साझा विषयमा निरन्तर छलफल गर्ने र सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाने विषयमा दुई परराष्ट्रमन्त्रीहरूबीच सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा
चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका छन् । खड्काले उपयुक्त समयमा चीन भ्रमण गर्ने जवाफ दिएका छन् । सरकारले हुम्लाको नाम्खादेखि हिल्सासम्म सीमा समस्याका विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेपछि विभिन्न आशंकाबीच दुई परराष्ट्रमन्त्रीहरूबीच कुराकानी भएको हो ।

सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा १६ भदौमा सीमा छानबिन टोली गठन गरेको थियो । टोलीले १० असोजमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । टोलीले चीनबाट नेपालमा सीमा अतिक्रमण नभएको, तर सीमा क्षेत्रमा सीमा समस्या रहेको निष्कर्ष निकालेको गृह स्रोतले जानकारी दिएको छ ।