१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Sunday, 11 May, 2025
२o७८ कार्तिक २ मंगलबार १३:३४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिराहा–सप्तरीमा वर्षाले धानबालीमा क्षति, २० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार १३:३४:oo

सिराहा र सप्तरीमा लगातारको वर्षाले धानबालीमा क्षति पुगेको छ। आइतबार रातिदेखि परेको वर्षाले जिल्लाका दक्षिणी क्षेत्रमा काटेर खेतमै रहेको अवस्थामा धानबाली डुबानमा परेको छ । लगातर भइरहेको वर्षाका कारण सिराहा र सप्तरीका किसान चिन्तित बनेका छन्।

वर्षाले खेतमा पानी जमेपछि काटेको धान कुहिने र त्यसले ठूलो क्षति पुगेको सप्तरीको बलान विहुल गाउँपालिका– ५ का कृषक अशोक यादवले बताए। सप्तरीको दक्षिणी क्षेत्रका बलान विहुल गाउँपालिका, बोदे बरसाइन नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा धानबालीमा बढी असर पारेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।

यता सिराहा जिल्लाको सिराहा नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिका क्षेत्रका खेतमा लगाइएको धानबालीमा क्षति पुगेको छ।

राष्ट्रिय कृषक महासंघ सिराहाका अध्यक्ष मुक्तिलाल यादवले वर्षाले गर्दा धानखेतीमा व्यापक असर पारेका बताए। कतिपयले पाकिसकेको धान कटान गरी खेतमै छाडेको अवस्थामा वर्षा हुँदा क्षति पुगेको उनले बताए। एकातिर गाईवस्तुलाई चाहिने लार (पराल) र अर्कोतिर धान उत्पादनमा असर पुगेको अध्यक्ष यादवले बताएका छन्।

अहिलेसम्म क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन। यद्यपि, करिब २० प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख कृष्णदेव राउतको अनुमान छ। सिराहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर र सप्तरीको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानवाली लगाइएको केन्द्रले जनाएको छ। वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले दुवै जिल्लामा धान उत्पादन बढ्ने अनुमान गरेको थियो। तर, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने ज्ञान केन्द्र सिराहाका प्रमुख राउतले बताए।