१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Tuesday, 01 July, 2025
एजेन्सी
२o७८ असोज २४ आइतबार १३:o७:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनसामु ताइवान झुक्दैन : राष्ट्रपति वेन

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार १३:o७:oo

ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो सरकार चाइनासामु नझुक्ने बताएकी छिन्। उनले आफ्नो नेतृत्वको सरकारले देशको लोकतान्त्रिक संस्कारको रक्षा गर्न निरन्तर प्रयास गर्ने बताउँदै चीनले दिएको जस्तोसुकै दबाबका अगाडि नझुक्ने बताएकी हुन्।

ताइवानको राष्ट्रिय दिवसका अवसरमा गरिएको एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति साईले चीन र ताइवानबीच बढिरहेको तनाव समाधान हुनेमा आफू आशावादी रहेको पनि बताएकी छिन्। ताइपेईमा रहेको राष्ट्रपति भवनअगाडि सम्बोधन गर्दै साईले आफ्नो सरकारले हतारमा काम नगर्ने बताएकी अलजजिराले उल्लेख गरेको छ। ‘ताइवानी जनताले दबाबका अगाडि झुक्छन् भन्ने भ्रम राख्नुहुँदैन। ताइवान राष्ट्रिय सुरक्षालाई बलियो बनाउन निरन्तर लागिपर्नेछ। र, अरू कसैले पनि ताइवानलाई चीनले जस्तो व्यवहार नगरोस् भनेर ताइवानले देखाउनेछ,’ उनको भनाइ उद्धृत गर्दै अलजजिराले उल्लेख गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँग ‘शान्तिपूर्ण पुनर्मिलन’ हुने धारणा राखेको भोलिपल्टै वेनले कडा रूपमा जवाफ फर्काएकी हुन्। ताइवानले चीनले बनाएको नियम मान्नुपर्ने भन्दै चीनले सैन्य तथा राजनीतिक दबाब दिँदै आएको छ। ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा चिनियाँ वायुसेनाले बारम्बार निगरानी बढाउने प्रयास गर्दै आइरहको छ। यही अक्टोबरको पहिलो सातामा मात्रै चीनले ताइवानसँगको सीमा क्षेत्रमा एक सय ४९ सैन्य जहाज उडाएको थियो। यसले अन्तर्राष्ट्रिय चासो बढाएको छ।

राष्ट्रपति साईले चाइनाले गरेको प्रस्तावले ताइवानको लोकतान्त्रिक संस्कार र ताइवानका दुई करोड ३० लाख जनताको सार्वभौमसत्ताको सम्मान गर्न नसक्ने स्पष्ट पारेकी छन्।

विगतमा ‘रिपब्लिक अफ चाइना’ भनेर चिनिने ताइवान चिनको मुख्य क्षेत्रभन्दा एक सय ६१ किलोमिटर टाढाको टापु हो। सन् १९४९ मा चिनियाँ गृहयुद्धको अन्त्य भएपछि चीन र ताइवानमा फरकफरक शासन व्यवस्थाको प्रयोग हुँदै आएको छ। युद्ध हारेका चाङ काइसेकले ताइपेईमा सरकार गठन गरे र माओ जेदोङले बेइजिङमा ‘पिपुल्स रिपब्लिक अफ चाइना’को स्थापना गरे। चीनले ताइवानलाई चीनबाट छुट्टिएर गएको प्रान्त मान्छ। पाँच वर्षअघि ताइवानमा निर्वाचनका माध्यमबाट साई राष्ट्रपति चुनिएपछि दुई देशबीच तनाव चुलिएको थियो। ताइवान ‘एक चीन’कै एउटा भाग हो भन्ने अस्वीकार गर्ने साईलाई चीनले विखण्डनवादी भएको आरोप लगाउँदै आएको छ।

तर, राष्ट्रपति साइले भने ताइवानले जति प्रगति गर्दै जान्छ चाइनाबाट त्यति नै खतरा रहेको दाबी गर्दै लोकतन्त्रको रक्षाका लागि ताइवान अग्रपंक्तिमा उभिने बताउँदै आएकी छिन्।