मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
मञ्जु भट्ट
२०७८ असोज १९ मंगलबार ०९:५८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ज्येष्ठ नागरिकका सकस

Read Time : > 2 मिनेट
मञ्जु भट्ट
२०७८ असोज १९ मंगलबार ०९:५८:००

युवायुवतीको मनोरञ्जनका लागि फिल्म हल, डान्स बार, दोहोरी साँझ आदि छन् भने ज्येष्ठ नागरिकका लागि भजनकीर्तन हल, भेटघाट गर्ने चौतारी वा मिलन केन्द्र आदि किन छैनन् ?


गाउँमा एकजना ८० वर्षीया आमाका तीन छोरा, तीन छोरी, बुहारी तथा थुप्रै नातिनातिना छन् । सबै छोरा सरकारी जागिरे तथा बुहारी गृहिणी छन्, सबै सहरमा बस्छन् । आमा भने छोराबुहारीले राम्रो नगर्ने हुँदा एक्लै गाउँमा बस्नुहुन्छ ।

भारतको मुम्बई बस्ने अर्का एक छोराले घरमा अर्को छोरासँग बस्ने बुढीआमासँग उनले पाउने भारतीय पेन्सनको आधा रकम आफूले समेत पाउनुपर्ने माग गरेका छन् । केही वर्षपहिले एकजना हजुरबुबाले श्रीमती बितेपछि महाकालीमा हाम फालेर प्राण त्याग गरे । अर्की एक ८२ वर्षीया ठूलीआमा आफ्नी एक्ली छोरीको घरमा गएर बस्न अप्ठेरो लागेकाले भतिजासँगै बस्नुहुन्छ ।

भारतीय पेन्सन पाउने उहाँले उनीहरूलाई टन्न पैसा बुझाएबापत दुई छाक खाना पाउनुहुन्छ । राम्ररी आँखा नदेख्ने उहाँले आफ्ना सबै काम आफैँ गर्नुपर्छ । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । गाउँदेखि सहरसम्म कतिपय ज्येष्ठ नागरिक आफ्नै घरभित्र पनि अनेक समस्यासँगै जुधिरहेका छन् । कतिपय सन्ततिले घरका ज्येष्ठ नागरिकलाई भगवान्सरह मान्ने र पुज्ने पनि गरेका छन् । 

अशक्त बालबालिका तथा वृद्धवृद्धा सबैबाट हेपिने गरेका छन् । अनुभवले भरिएका हाम्रा ज्येष्ठ नागरिकसँग बोल्नसमेत परिवारका सदस्यलाई समय हुँदैन । उनीहरूले बनाएका घरखेत र जोडेको धनसम्पत्तिमा घरपरिवारका सदस्य रमाइरहेका हुन्छन् । तर, त्यही घरखेत, धनसम्पत्ति किनबेच गर्नुपर्दा घरका ज्येष्ठ नागरिकबाट अनुमति मागिँदैन । उनीहरूलाई थाहै नदिई उनीहरूकै सम्पत्ति र जीवनसँग जोडिएका अनेकौँ विषयमा निर्णय लिइन्छ । वृद्धवृद्धाका आँखामा आँसु देख्दा सबैको मन दुख्नुपर्ने हो । तर, विडम्बना ! त्यही आँसुमा रमाउने सन्तति पनि छन् यहाँ ।

घरका आमाबुबा, ज्येष्ठ नागरिक बाँचुन्जेल एक गिलास चियाका लागि नसोध्नेहरू उनीहरूको मृत्युपश्चात् श्राद्ध गर्न तम्सिन्छन् । उनीहरूलाई एक प्रकारको डर हुन्छ, कहीँ पितृको सराप नलागोस् । यस्ता छोराबुहारीले पितृको श्राद्ध गर्दा सहरमा घर ठड्याइसकेका पण्डितलाई हजारौँ दान दिन सक्छन्, तर कुनै दीनदुःखी, अशक्तलाई भने कुनै सहयोग गर्न सक्दैनन् । वर्तमानमा राम्रो काम गर्नुभन्दा पनि मान्छेलाई भविष्यको चिन्ताले सताएको हुन्छ । जब कि आज राम्रो काम गरे मात्र भविष्य राम्रो हुने हो । आजका बाबुआमाले परिवारका ज्येष्ठ नागरिकप्रति गर्ने व्यवहार तिनका सन्तानले पनि देखिरहेका हुन्छन् । भोलि तिनले पनि त्यस्तै व्यवहार गर्छन् भन्ने कसैले पनि भुल्नु हुँदैन । 

आफन्त कोही नभएका ज्येष्ठ नागरिक आफू अशक्त भएसँगै वृद्धाश्रममा शरण लिन जानु उचित हो । तर, छोराछोरी, बुहारी, नातिनातिना घरभरि हुँदाहुँदै पनि एक्लो, असुरक्षित, अशक्त अनुभव गर्दै, आफन्तको यादमा रुँदै वृद्धाश्रम खोज्न बाध्य हुनु चिन्ताको विषय हो । वृद्धाश्रममा बस्नेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । सरकारी वृद्धाश्रममा ४२.१३ प्रतिशत पुरुष तथा झन्डै ५८ प्रतिशत महिला ज्येष्ठ नागरिक छन् । त्यसैगरी संस्थागत वृद्धाश्रममा करिब ३७ प्रतिशत पुरुष तथा ६३ प्रतिशत महिला ज्येष्ठ नागरिक छन् । महिला पुरुषभन्दा धेरै बाँच्ने हुँदा पनि उनीहरूले झनै पीडा खेप्नुपरेको छ । पितृसत्तात्मक हाम्रो समाजमा सानैदेखि घरपरिवारबाट हेपिँदै आएका महिला वृद्ध भएपछि पनि पुरुषभन्दा बढी हेपिनेमा पर्छन् । घरका जुनसुकै सदस्यले पनि सजिलै हप्काउने, दप्काउने हुँदा बाध्य भएर वृद्ध महिला घर छोड्न बाध्य हुन्छन् । 

छर, छिमेक, बिहेबारी, मन्दिर, भजनकीर्तनमा गएर आफ्ना दुःख भुलाउन खोज्ने ज्येष्ठ नागरिक कोरोनाका कारण घरभित्रै थुनिएका छन् । घरपरिवारका अन्य सदस्य घर, अफिसको काममा व्यस्त हुने, घर फर्केपछि पनि मोबाइलमा व्यस्त भइदिने, नातिनातिना पढ्न देश, विदेश जाने क्रम बढेसँगै ज्येष्ठ नागरिक झनै एक्लिन पुगेका छन् । कतिपय ज्येष्ठ नागरिकका सन्तान नै विदेशमा बस्ने हँुदा उनीहरूलाई बुढेसकालमा औषधोपचारदेखि एक्लै हिँड्डुल गर्नसम्म सकस हुने गरेको छ । पछिल्लो समयमा सरकारले वृद्धभत्ता महिनाको चार हजार बनाएसँगै ज्येष्ठ नागरिकलाई बाँच्न सहज भएको छ । भत्ताबाटै उनीहरूले परिवारको गर्जोसमेत टारिरहेका छन् । 

युवायुवतीको मनोरञ्जनका लागि फिल्म हल, डान्स बार, दोहोरी साँझ आदि भएजस्तै ज्येष्ठ नागरिकका लागि पनि ठाउँ–ठाउँमा भजनकीर्तन हल, भेटघाट गर्ने चौतारी वा मिलन केन्द्र आदि हुनु जरुरी छ । उनीहरूका लागि सुरक्षित आवास, सर्वसुलभ स्वास्थ्योपचार र गुनासो गर्न पाउने ठाउँको व्यवस्था हुनु आवश्यक छ । सकेसम्म घरमै पनि टेलिभिजन, रेडियो जस्ता उनीहरूलाई मन पर्ने विभिन्न मिडियामा उनीहरू व्यस्त रहने व्यवस्था गर्न सकिन्छ ।

धेरैजसो ज्येष्ठ नागरिकमाथि सम्पत्तिकै कारण दुव्र्यवहार हुने गरेका छन् । यदि उनीहरूसँग पर्याप्त सम्पत्ति छ भने उनीहरूप्रति घरका सदस्यको व्यवहार केही राम्रो देखिने र सम्पत्ति छैन भने हेलाहाँसोको पात्र बन्नुपर्ने बाध्यता छ । यस्तो बाध्यता कहिलेसम्म झेलिरहनुपर्ने हो, समाजका ज्येष्ठ नागरिकले ?