मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज १५ शुक्रबार १०:५५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अधिनायकवादी विश्वविद्यालयसँग डराउँछन्

Read Time : > 2 मिनेट
२०७८ असोज १५ शुक्रबार १०:५५:००

मध्यअगस्टमा तालिबान काबुल प्रवेश गर्‍यो । त्यसवेला उसले सबैभन्दा सुरुवाती निसानामा परेका संस्थामध्ये एक अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तान (एयुएफ) थियो ।

अफगानिस्तानको शिशु लोकतन्त्रको सम्बर्द्धन गर्ने उद्देश्यले सन् २००६ मा मुलुककै पहिलो निजी र गैर–नाफामूलक विश्वविद्यालय अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तान (एयुएफ) स्थापना भयो । विश्वविद्यालय तालिबानको निसानामा परेको पहिलोपटक भने थिएन । यसअघि पनि तालिबान लडाकुले एयुएफ विश्वविद्यालयलाई सन् २०१६ मा दुईपटक आक्रमण गरेका थिए । पहिलोपटक दुई प्राध्यापकहरूलाई अपहरण गरिएको थियो, जो प्राध्यापकहरू तीन वर्षपछि कैदी आदान–प्रदान हुँदा रिहा भए । दोस्रोपटक कार–बम हमला गरियो र १५ जना मारिए । यद्यपि, किल्लाबन्द पर्खालभित्र विश्विद्यालय चलिरहेकै थियो । 

विश्वविद्यालयमा तालिबान आक्रमण अस्वाभाविक भने होइन । खासमा अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तान युवायुवतीलाई रोजगारी एवं व्यावसायिक प्रशिक्षण दिन मात्र खोलिएको थिएन । अभिव्यक्ति स्वतन्त्रता, आलोचनात्मक चेतना, सहिष्णुता र बहसजस्ता उच्च शिक्षा र लोकतन्त्रको आधारभूत मूल्यमान्यताहरू लागू गर्न पनि खोलिएको थियो । निरंकुश व्यवस्थाले स्वतन्त्र विश्वविद्यालयलाई ग्रहण गर्न सक्दैन भनेर इतिहासले पुष्टि गरिसकेको छ । निरंकुश विचारधाराले स्वतन्त्र विश्वविद्यालयलाई नस्विकार्ने प्रवृत्ति २०औँ शताब्दीभर देखिएको छ । बेनिटो मुसोलिनीले सन् १९७१ मा विश्वविद्यालयका प्राध्यापकहरूलाई बफादारीको शपथ लिन बाध्य पारेका थिए भने सन् १९७० मा पोल्यान्डका गोप्य प्रहरीले भूमिगत विश्वविद्यालय ‘फ्लाइङ युनिभर्सिटी’का विद्यार्थीहरूलाई यातना दिने र कारबाही गर्ने काम गरेका थिए । वर्तमान अधिनायकवादी शासकले पनि विश्वविद्यालयलाई आक्रमण गर्न छाडेका छैनन् । केही वर्षअगाडि हंगेरीको बुडापेस्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीलाई अधिनायकवादी चरित्र ग्रहण गर्दै गएका देशका प्रधानमन्त्रीले बदनाम गराउने अभियान नै चलाए । अन्ततः २०१९ मा विश्वविद्यालयलाई भियानामा सर्न बाध्य बनाइयो । अधिनायकवादीहरूको नंग्रा गहिरो गरी गाडिँदै गर्दा टर्की, रुस, ब्राजिललगायतका मुलुकका विश्वविद्यालयहरू आक्रमणको निसानामा पर्दै गइरहेका छन् । 

प्रश्न गर्न सिकाउने संस्था भएकाले स्वतन्त्र विश्वविद्यालयप्रति अधिनायकवादीहरू त्रसित हुन्छन् । यी संस्थाहरू तथ्य र तर्कहरूमा अडिएका हुन्छन्, जुन मिथ्या सूचनामा टेकेर शासन चलाउन चाहने अधिनायकवादीहरूलाई मन पर्ने कुरै होइन ।

स्वतन्त्र विश्वविद्यालयले अधिनायकवादीहरूलाई त्राहिमाम पार्ने गर्छ । किनभने, यी संस्थाहरू अधिनायकवादी नेताको शक्ति सञ्चय गर्ने अपार महŒवाकांक्षा र निरंकुश शक्ति अभ्यास तगारा बन्न पुग्छन् । अखिर त्यहाँबाट उत्पादन हुने जनशक्ति प्रश्न गर्न सक्छन्, जुन अधिनायकवादीहरूलाई मन पर्दैन । स्वभावतः विश्वविद्यालय अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत हुने, फरक मत व्यक्त गर्ने र बेरोकटोक सूचना आदानप्रदान हुने ठाउँ हो । यी संस्थाहरू तथ्य र तर्कहरूमा अडिएका हुन्छन्, जुन मिथ्या सूचनामा टेकेर शासन चलाउन चाहने अधिनायकवादीहरूलाई मन पर्ने कुरै होइन । लोकतन्त्र र विश्वविद्यालयहरूको नियति एक–अर्कामा जेलिएको हुन्छ । 

विश्वविद्यालयले अधिनायकवादी नियमन वा आक्रमणको माहोलमा उन्नति गर्न सक्दैन । विश्वविद्यालयमा हुने आक्रमणले स्वतन्त्र चिन्तनलाई दबाउँछ, आविष्कार र अभिव्यक्तिलाई निषेध गर्छ । त्यस्तै, वस्तुनिष्ठ सत्यको आधार तयार गर्ने र मुलुकको इतिहासलाई प्रश्न एवं जगेर्ना गर्ने स्वतन्त्र विश्वविद्यालयविना कुनै लोकतन्त्र समृद्ध हुन सक्दैन । लोकतन्त्रलाई फल्न फुलाउन, बहुल समाज निर्माण गर्न तथा सचेत नागरिक उत्पादन गर्न विश्वविद्यालय अत्यावश्यक हुन्छ । लोकतन्त्र जीवित रहनका लागि बलियो संस्था, प्रभावकारी मिडिया, प्रतिस्पर्धात्मक राजनीतिक दलहरू एवं स्वतन्त्र न्यायालय हुनैपर्छ । 

धेरै सन्दर्भमा लोकतन्त्रको बहसमा विश्वविद्यालय छुट्छन् । विश्वविद्यालयको नेतृत्व गर्ने एवं विश्वविद्यालयको आधारभूत महत्व बुझेकाहरू लोकतन्त्रमाथि खतरा आउँदा शान्त रहन सक्दैनन् । लोकतन्त्रमाथि खतरा मडारिँदा अमेरिकी विश्वविद्यालयहरू लोकतन्त्रको रक्षार्थ अगाडि बढेको इतिहास छ । मुलुकको स्थापनाकालमै अमेरिकाका संस्थापकहरूले नागरिकमा नेतृत्वदायी क्षमता निर्माण गर्न उच्च शिक्षालाई प्राथमिकतामा राखेका थिए । दोस्रो विश्वयुद्धका वेला विश्वविद्यालका प्रशासक र प्राध्यापकहरूले दिनरात खटिएर नाजी जर्मनीबाट निर्वासित भएका विद्यार्थीहरूलाई शरण दिएको इतिहास छ । आज अमेरिकी विश्वविद्यालयहरू अफगान शोधकर्ता, प्राध्यापक र तिनका परिवारलाई शरण दिनका निम्ति ‘स्कलर्स एट रिस्क’ जस्ता अन्तर्राष्ट्रिय सञ्जालहरूसँग साझेदारी गरिरहेको छ ।

आजकल अमेरिकादेखि विश्वका कैयौँ मुलुकमा लोकतन्त्र संकटमा परिरहेको छ । यस सन्दर्भमा विश्वविद्यालयहरूले आफ्नो आदर्शहरूलाई पालना गर्नुपर्छ । विश्वविद्यालयहरूले लोकतान्त्रिक जनतालाई तयार पार्नु अपरिहार्य छ । विश्वविद्यालयहरूले विज्ञानसम्मत नतिजाहरूमाथिको शंका निवारण गर्न विज्ञ एवं ठोस तथ्यहरू उपलब्ध गराउन आवश्यक छ । विश्वविद्यालयहरूले समान अवसर र आर्थिक सहायताका लागि आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याउनु आवश्यक छ । अन्त्यमा विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई विविध पृष्ठभूमि, अनुभव एवं विश्वास भएका मानिसहरूसँग संलग्न हुन प्रशिक्षित गर्नुपर्छ ।

यदि विश्वविद्यालयले लोकतन्त्रमाथि आइपरेका चुनौतीहरूलाई गम्भीरतापूर्वक लिँदैन भने स्वतन्त्र निगरानी, संवाद एवं मानवीय समृद्धिको प्रतीकका रूपमा लिइने विश्वविद्यालयको छविमा आँच पुर्‍याउन सक्छ । यसो हुँदा विश्विद्यालयले जुन लोकतान्त्रिक समाजलाई सेवा दिने भनिरहेको छ, त्यसैमाथि थप खतरा पुग्नेछ । अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानको दुःखान्तले एकातर्फ स्वतन्त्र निगरानी, संवाद र सत्यको खोजप्रति प्रतिबद्धता जनाएका विश्वविद्यालयको भविष्य लोकतन्त्रको उतारचढावमा निर्भर हुन्छ । अर्कोतर्फ लोकतन्त्रको भविष्य विश्वविद्यालयको अभ्युदय र अधोगतिमा निर्भर हुन्छ भन्ने पनि देखाउँछ । 

(ड्यानियल्स जोन हप्किन्स विश्वविद्यालयका अध्यक्ष हुन्)
द वासिङ्टन पोस्टबाट