१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वामदेव गौतम
२०७८ असोज १३ बुधबार १०:०७:००
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

क्रान्ति र निर्माणमा विचारधाराको महत्व

Read Time : > 8 मिनेट
वामदेव गौतम
२०७८ असोज १३ बुधबार १०:०७:००

राष्ट्रिय परिस्थितिका आधारमा विकसित विचारधाराले मात्र कुनै पनि देशको क्रान्ति र निर्माणमा स्पष्ट मार्गदर्शन गरेका छन् र सफल पनि भएका छन् । विचारधारा सिद्धान्त हुन्छन् र सार्वभौम सच्चाइमा विकसित हुन योग्य हुन्छन् । सुरुमा विचारधाराको विकास हुँदा त्यसमा राष्ट्रिय विशेषता पनि समाहित भएको हुन्छ । तर, त्यो सार्वभौम सच्चाइका रूपमा विकसित हुँदा सबै राष्ट्रिय विशिष्टता समाप्त भई सामान्यीकृत भएको हुन्छ । जनताको बहुदलीय जनवाद नेपालको अर्ध–सामन्ती अवस्थालाई समाप्त गरी पुँजीवादी जनवादको कालमा लागू हुने कार्यक्रमका रूपमा अगाडि सारिएको थियो ।

००७ सालमा सुरु भएको नेपालको पुँजीवादी क्रान्ति ५८ वर्षपछि शान्तिपूर्ण संघर्ष र वैधानिक प्रक्रियाबाट सामन्तवादको अन्तिम किल्लाका रूपमा रहेको राजतन्त्र समाप्ति र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सम्पन्न भएको थियो । विगत ५८ वर्षको अवधिमा भएका अनेकौँ शान्तिपूर्ण र हिंसात्मक संघर्षका सहउत्पादनका रूपमा नेपाली समाजमा पुँजीवादीकरण पनि सम्पन्न भएको थियो ।

योसँगै नेपालको अर्धसामन्ती अवस्था समाप्त गरी पुँजीवादी जनवादीकरण गर्ने कार्यक्रमका रूपमा अगाडि आएको नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादको ऐतिहासिकता पनि समाप्त भयो । तर, जनताको बहुदलीय जनवादमा रहेका सैद्धान्तिक पक्ष भने मार्गदर्शक सिद्धान्तका रूपमा विकसित भए । ती सिद्धान्तमध्ये कतिपय समाजवादको कालसम्म मात्र मार्गदर्शन गर्ने र कतिपय साम्यवादको अवस्थामा पनि मार्गदर्शन गर्ने हैसियतका छन् । 

जनताको बहुदलीय जनवादले अगाडि सारेको प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था, क्रमिक विकासका माध्यमबाट पुँजीवादलाई समाजवादमा रूपान्तरण गर्ने आर्थिक व्यवस्था र बहुलवादी खुला समाजको स्थापनासम्बन्धी सिद्धान्तहरू समाजमा कुनै न कुनै किसिमका आर्थिक वर्गहरूको अस्तित्व रहँदासम्म मार्गदर्शन गरिरहने अवस्थामा छन् । बहुदलीय प्रतिस्पर्धाको प्रणाली राजनीतिक व्यवस्थामा उत्पन्न हुने द्वन्द्व व्यवस्थापनको सबभन्दा प्रभावकारी माध्यम हो ।

समाजवादको कालभरि कुनै न कुनै रूपमा पुँजीवादको पनि अस्तित्व रहन्छ । तसर्थ, समाजवाद र पुँजीवादका बीच मित्रतापूर्ण प्रतिस्पर्धा र सहकार्य अनिवार्य हुन्छ । मानव समाज विकासको प्रारम्भिक अवस्थादेखि नै मुख्य चरित्र बहुलवादी र खुला रहेको छ । यसलाई तदनुरूपै विकसित हुन दिनुपर्छ । जनताको बहुदलीय जनवादले अगाडि सारेका यी विषयहरू मार्क्सवाद–लेनिनवादका मुटुका रूपमा रहेका द्वन्द्ववादका तीन नियमअनुरूप सिद्धान्तका रूपमा विकसित भएका छन् । जनताको बहुदलीय जनवाद यतिवेला नेपाली विशेषताको माक्र्सवाद र लेनिनवाद हो । 

कुनै पनि देशको क्रान्ति र निर्माणका निम्ति जनता नै मुख्य र निर्णायक शक्ति हुन्छन् । तर, जनतालाई संगठित गर्न, आन्दोलित गर्न, आह्वान गर्न र निर्माणमा समर्पित हुन निश्चित सिद्धान्त र विचारधाराको महत्व प्रमुख हुन्छ । उक्त सिद्धान्त र विचारधाराको व्यावहारिक प्रयोगले कतिपय व्यक्तिलाई क्रान्ति–प्रतीकका रूपमा पनि स्थापित गर्छ । संसारमा क्रान्ति नभएका कुनै पनि स्वतन्त्र मुलुक छैनन् । तर, क्रान्ति सफल भएका र तदनुरूप नयाँ व्यवस्थामा रूपान्तरण भएका मुलुक भने केही मात्र छन् । संघर्षमा सामेल भएर मात्र क्रान्ति–प्रतीकको जन्म र विकास हुन्छ । क्रान्तिमा सामेल अगुवाहरूले नै आफ्ना अनुभवको आधारमा अध्ययन, अनुसन्धान र परिकल्पनाबाट विचारधारा प्रतिपादन गर्छन्, तिनलाई कार्यान्वयनमा लगेर परिमार्जन गर्दै विकास गर्छन् ।

अमेरिकी स्वतन्त्रता संग्रामका क्रान्ति–प्रतीक बने जर्ज वासिङ्टन, भारतीय स्वतन्त्रता संग्रामका क्रान्ति–प्रतीक बने महात्मा गान्धी, रुसी समाजवादी क्रान्तिका प्रतीक लेनिन बने, उनको विचार बन्यो मार्गदर्शक सिद्धान्त । युगोस्लाभियाका टिटो त्यहाँको क्रान्तिको प्रतीक बने । माओत्सेतुङ चिनियाँ क्रान्तिका प्रतीक बने, उनले अगाडि सारेको विचार माओत्सेतुङ विचारधारा बन्यो । त्यही विचारधारा चिनियाँ क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्यो ।

भियतनाम क्रान्तिका प्रतीक होचिमिन्ह र क्युबाली क्रान्तिका प्रतीक फिडेल क्यास्ट्रो भए । कोरियन क्रान्तिका प्रतीक बने किम इल सुङ र उनको विचार जुच्छे कोरियन क्रान्ति र निर्माणको मार्गदर्शन सिद्धान्त बन्यो । दक्षिण अफ्रिकी क्रान्तिका प्रतीक नेल्सन मन्डेला बने । उपरोक्त सबै मुलुकमा क्रान्तिले सफलता प्राप्त गर्‍यो । तर, क्रान्ति सुरु भएका, क्रान्तिका प्रतीक निर्माण गर्न नसकेका र विचारधारा पनि विकास गर्न असमर्थ मुलुकहरूमा क्रान्ति असफल भए । 

प्रत्येक देशमा हुने क्रान्ति आफ्नै समाजमा विकसित शत्रुतापूर्ण अन्तरविरोधको समाधानका लागि हुने गर्छ । कुनै पनि मुलुकमा क्रान्ति बाहिरबाट थोपर्न सकिन्न न त क्रान्ति निर्यात नै गर्न सकिन्छ । दोस्रो विश्वयुद्धमा साम्राज्यवादीहरूको पराजयपछि धेरै मुलुकमा क्रान्ति विस्फोट भयो, तर अधिकांश मुलुकले न क्रान्ति–प्रतीक जन्माउन सके, न त विचारधारा नै विकास गर्न । ती मुलुकमा क्रान्तिहरू एकपछि अर्को असफल भए । त्यहाँका कम्युनिस्ट क्रान्तिकारीहरूले माक्र्स, एंगेल्स, लेनिनका विचारहरूको व्यापक प्रचार गरे, उनीहरूकै फोटो प्रचार गरे । तिनले आफ्ना नेतालाई न क्रान्ति–प्रतीक बनाउन सके, न त क्रान्तिको मार्गदर्शक सिद्धान्त विकास गर्न । अन्ततः क्रान्ति पराजित हुन पर्‍यो । हजारौँ क्रान्तिकारीहरूको बलिदान खेर गयो । म्यानमार, थाइल्यान्ड, कम्पुचिया, इन्डोनेसिया, पेरु, अर्जेन्टिना, भारत आदि यसमा पर्छन् । 

अब आफ्नै मुलुक नेपालको चर्चा गरौँ । ००७ सालको क्रान्ति–प्रतीक बने बिपी कोइराला, उनको विचारधारा बन्यो, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र । जनवादी गणतन्त्रका वाहक थिए पुष्पलाल, तर उनी त्यो क्रान्तिका प्रतीक हुन सकेनन्, सहयोगी मात्र भए । संवैधानिक राजतन्त्रका वाहक राजा त्रिभुवन पनि थिए, उनी पनि प्रतीक भएनन्, क्रान्तिका सहयोगी मात्र रहे । उनले र उनका उत्तराधिकारीले पछि क्रान्तिलाई धोका दिए, क्रान्ति अधुरै रह्यो । ००७ सालमा अधुरो रहेको क्रान्ति ५८ वर्षपछि राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापना गरेर सम्पन्न भयो । धोकेबाजहरूलाई इतिहासको गतिले कठोर सजाय दिन्छ भन्ने प्रमाणित भयो ।

०४६ सालमा कम्युनिस्ट र कांग्रेसको संयुक्त प्रयासमा पञ्चायती निरंकुशतन्त्रका विरुद्ध क्रान्ति सुरु भयो । सो क्रान्ति सम्झौतामा टुंगियो । क्रान्तिका प्रतीक बने गणेशमान सिंह र मदन भण्डारी । त्यसका विचारधाराहरू थिए, संसद्को पुर्नस्थापन र बहुदलीय प्रजातन्त्र । मदन भण्डारीले लगत्तै बहुदलीय प्रजातन्त्रमा टेकेर जनताको बहुदलीय जनवादको क्रान्तिकारी विचारधारा विकास गरे । जनताको बहुदलीय जनवादलाई मदन भण्डारीका उत्तराधिकारीहरूले पछि नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा विकास गरे । ०४७–०७५ साल २ जेठसम्म २८ वर्ष जनताको बहुदलीय जनवादले नेपालको राजनीतिमा वैचारिक रूपले एकछत्र प्रभाव पारिरह्यो ।

 ०५२–०६३ सम्म १० वर्ष प्रचण्डको नेतृत्वमा जनयुद्ध नामको सशस्त्र संघर्ष भयो । यसले ग्रामीण क्षेत्रको सामन्ती सत्ताको जरो छिन्नभिन्न पार्ने काम गर्‍यो । तर, यसको सबभन्दा ठूलो गलत पक्ष आफूसँग असहमत पार्टीका कार्यकर्ता र नेताहरूको निर्मम हत्या थियो । पछि नेपाललाई अधीनस्त गर्न चाहने अन्तर्राष्ट्रिय शक्तिको पनि सहयोग लिएका विषयहरू प्रकाशित भए । यस्ता घटनाहरू कुनै पनि स्वभिमानी नेपालीका निम्ति स्वीकार्य हुनै सक्दैनथे । तर, पनि ०६२/६३ को नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी) मिलेर भएको संयुक्त शान्तिपूर्ण जनक्रान्तिमा यो पार्टीको महत्वपूर्ण भूमिका रह्यो ।

उपरोक्त संघर्षका दौरान हिंसात्मक माओवादी आन्दोलन शान्तिपूर्ण संघर्षमा अवतरण भयो । पछि संविधानसभाबाट राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा पनि यस पार्टीको भूमिका महत्वपूर्ण रह्यो । माओवादी आन्दोलनमा प्रचण्ड पथका नाममा विचारधाराको स्थापना गर्ने कोसिस भए पनि स्थापित हुन सकेन । तर पनि यो युगान्तकारी आन्दोलनका महान् नायकका रूपमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड देखा परे । नेपाली विशेषताको विचारधारात्मक नेतृत्व भने जनताको बहुदलीय जनवादले मात्रै गरिरह्यो । 

नेपाली कांग्रेस पार्टीले स्थापनाकाल ००६ सालदेखि अवलम्बन गरेको विचारधारा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र थियो । नेकपा (माओवादी)को विचारधारा जनयुद्धबाट सत्ता कब्जा र जनवादी गणतन्त्रको स्थापना थियो । नेकपा (एमाले)को शान्तिपूर्ण जनसंघर्ष र जनमतको आधारमा जनवादी गणतन्त्र स्थापना मुख्य रणनीतिक मान्यता थियो । शान्तिपूर्ण जनक्रान्तिका दौरान नेपाली कांग्रेसले आफ्नो संवैधानिक राजतन्त्रको मान्यता छोडेर राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनामा अद्यावधिक भयो ।

नेकपा (माओवादी) पनि आफ्नो केन्द्रीय सत्ता कब्जा र नयाँ जनवादी गणतन्त्र छोडेर बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक गणतन्त्रमा अद्यावधिक भयो । नेकपा (एमाले)ले पनि कार्यनीतिक रूपमा प्रयोग गर्दै आएको संवैधानिक राजतन्त्रको कार्यनीति परित्याग गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटोमा प्रवेश गर्‍यो । बहुदलीय प्रतिस्पर्धासहितको गणतन्त्रात्मक राज्यव्यवस्था जनताको बहुदलीय जनवादको मुख्य मान्यता थियो ।

सबैलाई थाहा भएकै विषय हो, त्यस बखत जनताको बहुदलीय जनवाद नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त थियो । अहिले जनताको बहुदलीय जनवाद कुनै निश्चित पार्टीको मात्र कार्यक्रम होइन, नेपाली क्रान्ति र निर्माणको सिद्धान्त हो । अहिले नेपाली समाज पुँजीवादी उत्पादन पद्धतिमा प्रवेश गरिसकेको छ र पार्टीको मुख्य कार्यभार नेपाली विशेषताको समाजवाद अथवा बहुदलीय समाजवाद निर्माण गर्नु भएको छ । बहुदलीय समाजवाद भन्नुको अर्थ हो, पुँजीवादसहितको समाजवाद, जहाँ पुँजीवादको मुख्य चरित्र राष्ट्रिय हुनेछ । 

लेनिनका अनुसार मार्क्सवादका तीन संघटक अंग छन्– द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । जनताको बहुदलीय जनवाद मदन भण्डारीले विकास गरेको मार्क्सवादी विचारधारा हो । यसका पनि तीन संघटक अंग छन्– राज्यसत्तामा द्वन्द्वात्मक भौतिकवादका नियमहरूको प्रतिस्थापन, चरणबद्ध आर्थिक विकास र बहुलवादी खुला समाज ।

माक्र्सवादका विद्यार्थीहरूलाई थाहा हुनुपर्छ, द्वन्द्वात्मक भौतिकवादका नियमहरू तीनवटा छन् । पहिलो, विपरीत तत्वका बीच एकता र संघर्षको नियम । दोस्रो, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम । र तेस्रो, निषेधको निषेध नियम । मदन भण्डारीले उपरोक्त तीनै नियमलाई राज्यसत्ता, राजनीतिक अर्थशास्त्र र समाजवादमा प्रयोग गरे । यसअनुसार राज्यसत्ता निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ र त्यसको प्रकट रूप बहुदलीय प्रतिस्पर्धा हुन्छ । अर्थतन्त्र पनि निरन्तर परिवर्तन, विकासको अवस्थामा हुन्छ, त्यसको प्रकट रूप क्रमिकतामा हुन्छ । समाजवाद पनि निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ र यसको प्रकट रूप खुला र बहुलवादी समाज हुन्छ भन्ने निष्कर्षहरू निकालियो । विस्तृत जानकारी लिन चाहनुहुनेले मेरो रचना माक्र्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययनलाई लिन सक्नुहुन्छ ।

पाठकवृन्द ! आफ्नो राष्ट्रिय विशेषतामा विकसित विचारधारा परित्याग गरेर कसैले पनि आफ्नो देशमा न क्रान्ति सफल गर्न सकेको छ, न त समाजवाद नै निर्माण गर्न सकेको छ । अग्रगमनमा पूर्वाग्रहको कुनै स्थान हुँदैन । जनताको बहुदलीय जनवाद नेपालको इतिहासमा पहिलोपटक विकसित माक्र्सवादी विचारधारा हो । नेकपा (एमाले)ले आफ्ना अनुभवहरूका आधारमा जनताको बहुदलीय जनवादलाई विकसित गर्दै आएको छ । यद्यपि, जनताको बहुदलीय जनवादका सम्बन्धमा पार्टी नेताहरूका बीच यो विचार सर्वसम्मत हुन सकेको छैन ।

नेकपा (एमाले)को पाँचौँ राष्ट्रिय महाधिवेशनभन्दा पहिले नेकपा (माले) र नेकपा (मार्क्सवादी )को ०४७ सालमा भएको एकीकरणपश्चात् राष्ट्रव्यापी पार्टी एकता सन्देश अभियानका दौरान पार्टी घोषणापत्रको विरुद्ध भएको अनर्गल प्रचारलाई चिर्नका निम्ति मदन भण्डारीले ‘बहुदलीय जनवादबारे’ नामको रचना प्रकाशित गरे । यसपछि ०४९ सालमा भएको पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा पहिलोपटक व्यवस्थित रूपमा नेपाली क्रान्तिको कार्यक्रम भनेर मदन भण्डारीले पार्टी कार्यक्रम र राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादलाई अरू विस्तारित रूपमा प्रस्तुत गरेका थिए ।

एमाले र एकीकृत समाजवादीको वर्तमान रवैयालाई नियाल्दा नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य निराशाजनक देखिन्छ । अहिले देखिएको यो निराशाको अवस्थालाई चिर्दै नयाँ नेपाल निर्माणका लागि जनताको बहुदलीय जनवादको मार्गदर्शन पुनस्र्थापित गर्न सक्ने गरी कुनै नयाँ शक्ति उदाउन सक्यो भने पूर्वानुमानलाई बदल्न पनि सकिनेछ ।

महाधिवेशनमा यो विचारका विरुद्ध प्रस्तुत भएका चारवटा प्रस्तावलाई पराजित गर्दै अत्यधिक बहुमतबाट जनताको बहुदलीय जनवाद पारित भएको थियो । पार्टीको छैटौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई मौलिक सिद्धान्त भन्यो । सातौँ महाधिवेशनले नेपाली क्रान्तिको सिद्धान्त मान्यो, आठौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त मान्यो । नवौँ महाधिवेशनले यसलाई पहिलेभन्दा अझ उन्नत गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा विकास गर्‍यो । पार्टीको आठौँ महाधिवेशनदेखि नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहँदै आएको सबैलाई जानकारी छँदैछ । जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा मात्र राख्दा ठीक हुन्छ । मार्गदर्शक सिद्धान्तका रूपमा राख्नु हुँदैन भन्ने विचार क. केपी ओलीको थियो । तर, उनले यसमा फरक मत भने राखेका थिएनन् । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकीकरणका सन्दर्भमा ०७४ को आमनिर्वाचनभन्दा पहिले दुई सम्झौता भएका थिए । पछिल्लो र तेस्रो सम्झौता ०७५ साल जेठ २ गते राति प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको थियो । ३ जेठमा दुवै पार्टीबाट उपस्थित केन्द्रीय कमिटीका सदस्यहरूको बैठकले दुवै पार्टीका केन्द्रीय कमिटीलाई भंग गर्दै सर्वसहमतिमा नयाँ केन्द्रीय कमिटी गठन गर्‍यो । नयाँ केन्द्रीय कमिटीले मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई मात्र राख्यो र जनताको बहुदलीय जनवाद, २१औँ शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनबाट टुंगो लगाउने गरी स्थगित मात्र गर्‍यो । तर, यो पार्टी एकता २३ फागुन ०७७ मा महाधिवेशन वा कुनै राष्ट्रियस्तरको सम्मेलन नै नगरी समाप्त भयो ।

दुवै पार्टी एकताभन्दा पहिलेको अवस्थामा पुनस्र्थापित भए । अहिले नेकपा (एमाले) विभाजन भएर एमाले र एकीकृत समाजवादी भएका छन् । अहिले एमालेका मुख्य नेता केपी ओली र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र झलनाथ खनाल छन् । नेकपा (एमाले)को छैटौँ र सातौँ महाधिवेशनमा महासचिवको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने माधव नेपाल र आठौँ र नवौँ महाधिवेशन पहिले का.वा. महासचिव र पार्टी अध्यक्षका नाताले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने झलनाथ खनाल हुन् । अहिले नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई पार्टी कार्यक्रमका रूपमा मात्र स्वीकार गर्न थालेको बुझिन्छ । यसैैगरी, नेकपा (एकीकृत समाजवादी)ले मार्गदर्शक सिद्धान्तको स्तरबाट हटाएर सम्मान गर्ने विचारका रूपमा मात्र स्वीकार गर्ने गरी लिएको बुझिन्छ । एमालेले अहिले नै मार्गदर्शक सिद्धान्तबाट नहटाउने बुझिन्छ भने एकीकृत समाजवादीले मार्गदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद र लेनिनवादलाई मात्र अगाडि सारेको देखिन्छ ।

अर्थ स्पष्ट छ– जनताको बहुदलीय जनवाद एउटा पक्षले राखेर पनि त्यसबाट मार्गनिर्देशित नहुने र अर्को पक्षले भने मार्गदर्शक सिद्धान्तको तहबाटै हटाउनुले बहुदलीय समाजवाद स्थापना गर्ने कार्यदिशाबाट भड्किएको स्पष्ट छ । उपरोक्त दुई सय वर्षभन्दा लामो समयको अवधिमा संसारका विभिन्न मुलुकमा भएका क्रान्तिमा देखिएका क्रान्ति–प्रतीक र विचारधाराहरूको संक्षिप्त विश्लेषणका आधारमा भन्दा राष्ट्रिय विशेषतामा आधारित क्रान्ति–प्रतीक र विचारधारा विकसित र संरक्षण नगर्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलन ह्रासोन्मुख हुँदै समाप्तिको अवस्थामा पुग्ने अनुमान गर्नु अन्यथा हुनेछैन ।

एमाले र ए. समाजवादीको वर्तमान रवैयालाई नियाल्दा नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य निराशाजनक देखिन्छ । अहिले देखिएको यो निराशाको अवस्थालाई चिर्दै नयाँ नेपाल निर्माणका लागि जनताको बहुदलीय जनवादको मार्गदर्शन पुनस्र्थापित गर्न सक्ने गरी कुनै नयाँ शक्ति उदाउन सक्यो भने पहिलेको पूर्वानुमानलाई बदल्न पनि सकिनेछ । यसका निम्ति भविष्यतर्फ आँखा लगाउनुको विकल्प छैन । नेपाली क्रान्तिले विकास गरेको विचारधारा खारेज गर्ने र आफैँले नयाँ विचार अगाडि सार्न पनि नसक्ने हो भने कम्युनिस्ट आन्दोलनको समाप्ति कुर्नुबाहेक अर्काे केही हुनेछैन ।
(गौतम राष्ट्रिय सभा सदस्य हुन्)