१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o६:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२४ उद्योग बन्द भए डन्डीको अभाव हुने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:४३:oo

नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनले प्रतिस्थापन विधेयकले २४ वटा डन्डी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएको छ । सरकारले ६ वटा डन्डी उद्योगलाई फाइदा पुग्ने गरी आर्थिक ऐनमा संशोधन गरेर सञ्चालनमा रहेका २४ उद्योगलाई बन्द गर्ने अवस्थामा पुर्‍याउन खोजेको एसोसिएसनको आरोप छ ।

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ स्पन्ज आइरनमा लाग्दै आएको भन्सारलाई शून्य बनाइदिएको छ भने स्वदेशी उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्था गरेको छ । तर, सोझै तयारी बिलेट आयात गर्दा ४।७५ प्रतिशत भन्सार र प्रतिकिलो दुई रुपैयाँ ५० पैसा अन्तःशुल्क तिर्नुपर्ने हुन्छ । सरकारले तयारी बिलेटको आयातमा भन्सारदर यथावत् राख्दै प्रतिकिलो एक रुपैयाँ ६५ पैसा रहेको अन्तःशुल्क बढाएपछि भारतबाट बिलेट आयात गरेर डन्डी बनाउँदै आइरहेका उद्योगीहरू विरोधमा उत्रिएका हुन् । 

नयाँ व्यवस्थाले स्पन्ज आइरन ल्याएर स्वदेशमै बिलेट उत्पादन गरी बनाइने डन्डीको मूल्यभन्दा विदेशबाट सोझै बिलेट ल्याएर बनाउने डन्डीको मूल्य प्रतिकेजी आठदेखि १० रुपैयाँसम्म महँगो पर्ने एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘यो संशोधनले ६ वटा फलामे छड उद्योग मात्र लाभान्वित हुनेछन्, २४ वटा उद्योग बन्द हुने अवस्था आउन सक्छ’ विज्ञप्तिमा भनिएको छ, ‘२४ वटा उद्योग बन्द भएमा बजारमा टिएमटी डन्डीको अभाव हुने र केही घरानीय उद्योगहरूलाई मात्र फाइदा हुने देखिन्छ ।’

स्टिल रोलिङ मिल्स एसोसिएसनले सञ्चालनमा रहेका धेरै उद्योग बन्द हुने हुँदा संशोधन ऐनको व्यवस्था फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । एसोसिएसनका अनुसार, २४ उद्योगमा एक खर्बभन्दा बढी लगानी हुनुका साथै १० हजारजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने १५० मेगावाट विद्युत् खपत भइरहेको छ । यस्तै, सरकारलाई वार्षिक ७० अर्ब राजस्व संकलन भइरहेको एसोसिएसनको दाबी छ । 

‘नेपाल भूकम्पीय जोखिमयुक्त देश भएको हुँदा बलियो र गुणस्तरीय निर्माणका लागि न्यूनतम ५०० डी ग्रेडको विकल्प छैन, ठूला आयोजनामा पनि यही ग्रेडको डन्डी आवश्यक हुन्छ’ एसोसिएसनको विज्ञप्तिमा भनिएको छ, ‘स्पन्ज आइरन ल्याएर फलामे छड उत्पादन गर्दा ५०० डी ग्रेडबराबरको गुणस्तर हुन सक्दैन, उक्त गुणस्तरका लागि आयात गरिएको प्राइम बिलेट नै चाहिन्छ ।’

नेपाल स्टिल बिलेट उत्पादक संघले भने स्वदेशमा उत्पादित बिलेटबाटै ५०० डी ग्रेडको डन्डी उत्पादन भइरहेको दाबी गर्दै आइरहेको छ । उता नेपाल स्टिल बिलेट संघले भने अहिले नेपालमा नौवटा उद्योगले स्पन्ज आइरन ल्याएर बिलेट उत्पादन गर्न थालेको र तीनवटा उद्योगले बिलेट उत्पादनको तयारी थालिसकेको दाबी गरेको छ । 

ad
ad