मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ भदौ ३० बुधबार १७:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ भदौ ३० बुधबार १७:४४:००

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई विभागीय मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

आचार्यले झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी र संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् । सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री,  मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री र मोरङकै लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन् । 

राज्यमन्त्री लीलाबल्लभ अन्तिम समयमा माधव नेपाल पक्ष त्यागेर एमालेमा बसेका थिए । उत्तमकुमार बस्नेत एकीकृत समाजवादीमा जाने तयारी थिए । 

१० भदौमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले ११ भदौमा तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, वातावरण तथा पर्यटन र ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका थिए । अब मुख्यमन्त्री आचार्यको सरकार ८ सदस्यीय भएको छ । 

प्रदेश १ मा अझै दुईवटा मन्त्रालय मन्त्रीबिहीन छन् । ९२ सांसद रहेको प्रदेश १ सभामा सत्ताधारी दल एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक मञ्चको १ र राप्रपाको १ सांसद छन् । 

बहुमतमा रहेका मुख्यमन्त्री आचार्य एमालेका १० सांसदहरूले दल त्याग गरेपछि अल्पमतमा परेका छन् । 

निर्वाचन कानुनअनुसार २४ असोजभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिइसक्नुपर्छ । प्रदेश १ सरकारले २२ असोजमा प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री आचार्यले आफूले संसद्बाट बहुमत प्राप्त गरेरै छाड्ने दाबी गर्दै आएका छन् । 

एमाले सांसदहरूबाटै मन्त्री बन्न अस्वीकार 
प्रदेश १ मा सत्ताधारी दल एमालेका सांसदहरूले नै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा मन्त्री बन्न अस्वीकार गरेका छन् । प्रदेश १ सभामा एमाले संसदीय दलका प्रमुख सचेतक रहेका सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारी, उदयपुरका सांसद विमल कार्की र पूर्वराज्यमन्त्री राजकुमार ओझाले आचार्य नेतृत्वको सरकारमा मन्त्री बन्न अस्वीकार गरेका हुन् । 

स्रोतका अनुसार उनीहरू सबैलाई आचार्यले राज्यमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका थिए । तर, अब २४ दिनभित्र सरकार ढल्ने भएको साथै विभागीय मन्त्री नबनाएकोले उनीहरूले मुख्यमन्त्रीको प्रंस्ताव अस्वीकार गरेका हुन् ।