मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Thursday, 10 July, 2025
सञ्जय झा
टेकराज थामी काठमाडौं
२o७८ भदौ २९ मंगलबार o८:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कलेजको सेयर दिने प्रलोभनमा दुई करोड ठगी

ठगी धन्दामा संलग्न डब्ल्युएलसी कलेजका सञ्चालक झा पक्राउ

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार o८:५३:oo

कलेजको सेयर दिने प्रलोभन देखाइ दुई करोड रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने रौतहट इशनाथ नगरपालिका–३ का सञ्जय झा र ललितपुरका मुकेश महर्जन पक्राउ गरेका छन् । पक्राउ पर्ने झा बुद्धनगरस्थित डब्ल्युएलसी कलेज नेपालका अध्यक्ष र महर्जन केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टका लेखा अधिकृत हुन् । झा र महर्जनले चार वर्षअघि धनुषा दुहबी–३१ का ४२ वर्षीय प्रवीणकुमार झालाई केन्ट ग्रुपबाट सञ्चालित केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टको सेयर दिने प्रलोभनमा दुई करोड ४४ हजार एक ३४ रुपैयाँ लिएका थिए । तर, पटक–पटक प्रयासपछि पनि सेयर नदिएपछि पीडित प्रवीणकुमारले प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि प्रहरीले सञ्जय र मुकेशलाई गत ११ भदौमा पक्राउ गरेको हो । 

परिसर प्रमुख एसएसपी अशोक सिंहले ठगी अभियोगमा सञ्जय र मुकेश पक्राउ परेको जानकारी दिए । ‘ठगी अभियोगमा रौतहटका सञ्जय झा र ललितपुरका मुकेश महर्जन पक्राउ परेका छन् । उनीहरूविरुद्धको अनुसन्धान करिब÷करिब सकिएको छ । सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएर अहिले थुनछेकको प्रक्रिया चलिरहेको छ । उनीहरूले कलेजको सेयर दिने भन्दै प्रवीणकुमार झासँग दुई करोड रुपैयाँभन्दा धेरै रकम लिएको देखिन्छ । तर, कबुल गरेअनुसारको सेयर भने दिएको देखिँदैन । त्यसैले उनीहरूलाई हामीले पक्राउ गरेका हौँ,’ उनले भने ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनअनुसार प्रवीणकुमारले केन्ट ग्रुपको खर्चका लागि माइन्ड्स फ्रेम नामक कम्पनीबाट ४१ लाख ५० हजार रुपैयाँ, सिस्टम एनलाइसिस एन्ड सफ्टवेयर सोलुुसनको नामबाट ७९ लाख ४३ हजार पाँच सय रुपैयाँ दिएको देखिन्छ । बाँकी ७९ लाख ४४ हजार ६ सय ३४ रुपैयाँ भने प्रवीणकुमारले आफ्नै नामबाट दिएका थिए । ‘घरजग्गा बैंकमा धितो राखेर सेयरबापतको रकम दिएको हो,’ प्रवीणकुमारले नयाँ पत्रिकासँग भने, ‘मलाई कलेजको सेयर दिन्छु भन्यो । मैले दुई करोड रुपैयाँभन्दा धेरै रकम केन्ट ग्रुपको नाममा दिएँ । चार वर्ष बित्यो उसले न मलाई सेयर दियो, न मेरो रकम नै फिर्ता ग¥यो । घरजग्गा बैंकमा धितो छ । हातमुख जोर्न समस्या आइलागेको छ । पटक–पटक प्रयास गरेँ । तर, रकम पाउन सकिनँ ।’

 काठमाडौंको कलेज धरान पुर्‍याइयो
प्रवीणकुमारका अनुसार सञ्जय झाले केन्ट ग्रुपमार्फत आफूसँग लिएको रकम डब्ल्युएलसी कलेज नेपाल र विराट कलेज चितवनमा समेत अवैध ढंगले लिएर गएको बताए । ‘केन्ट ग्रुपको नाममा सञ्जयले लगानी संकलन गर्यो । ग्रुपले चलाउने भनेको त केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट मात्रै थियो । तर, उसले थाहै नदिई लगानी एकाएक डब्ल्युएलसी कलेज, विराट कलेजमा लिएर गएछ । उनको यस्तो कार्यको विरोध गरेपछि अहिले यस्तो हालत भयो,’ उनले भने ।प्रतिवेदनअनुसार उनले उक्त रकम १ साउन ०७४ देखि ११ फागुन ०७४ सम्मको विभिन्न मितिमा पटक–पटक गरी चेक तथा बैैंक ट्रान्सफरमार्फत केन्ट ग्रुपको प्रयोजनका लागि देखिएको देखिन्छ ।