१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमा अनलाइन कक्षा लिने २७.५ प्रतिशत मात्र

युनिसेफ प्रतिवेदन– झन्डै ९० प्रतिशत अभिभावकले आफ्ना छोराछोरीले पहिले पढेको बिर्सिएको र बिर्सन सुरु गरेको बताएका छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३३:oo

नेपालमा अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी २७.५ प्रतिशत मात्र रहेको पाइएको छ । युनिसेफले गरेको अध्ययनमा कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा नेपालको हकमा ६३ प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर हुने र थोरै बालबालिकाको मात्रै वैकल्पिक शिक्षाका विधिमा पहुँच भएको पाइएको हो । 

अहिले काठमाडौं उपत्यका र बाहिरका जिल्लामा समेत स्मार्ट लकडाउनअनुसार विद्यालय खुल्न थालेपछि सिकाइ उपलब्धि बढ्ने अपेक्षा गरिएको छ । एउटा मात्र उपकरण किन्न पनि संघर्ष गरिरहेका गरिब र पिछडिएका घरधुरी सबैभन्दा बढी प्रभावित भएको युनिसेफले जनाएको छ ।

उपकरणहरू उपलब्ध हुँदा पनि तिनको प्रायः कम उपयोग भएको र ती उपकरणमा बालबालिकाको पहुँच सीमित रहेको अनुसन्धानले देखाएको छ । साना उमेरका विद्यार्थीहरूको सिकाइमा सफलता ल्याउन विद्यार्थी र शिक्षकबीचको नियमित र पारस्परिक संलग्नता आवश्यक भए पनि लकडाउनको समयमा वञ्चित भए । 

नेपालको अनुसन्धान युनिसेफ नेपालको नियमित सर्भे, चाइल्ड एन्ड फेमिली ट्र्याकरको २०२१ जुलाईमा गरिएको अनुसन्धानमा आधारित छ । देशभरिबाट प्रतिनिधित्व हुने गरी बालबालिका भएका ६ हजार ६ सय ४३ अभिभावकसँग टेलिफोनमा आधारित सर्भे गरिएको थियो ।

अध्ययनका क्रममा अधिकांश अर्थात् ८९ प्रतिशत अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहेका छन् । कोभिडका कारण सुरु भएको वैकल्पिक शिक्षाले एकातिर असमानता बढाएको छ भने अर्कोतर्फ विद्यार्थीले सिकेकोसमेत बिर्सन थालेका छन् । अध्ययनअनुसार झन्डै ९० प्रतिशत अभिभावकले बालबालिकाले पहिले पढेको बिर्सिएको र बिर्सन सुरु गरेको बताएका थिए । 

नेपालमा गरेको अनुसन्धानमा ८८ प्रतिशत अभिभावकले बालबालिका सिकाइमा पछाडि पर्न थालेको वा सिकेका कुराहरू बिर्सन थालेको बताएका छन् । दूरशिक्षाका कारण किशोरीहरू, सबैभन्दा पिछडिएका घरधुरी तथा अपांगता भएका बालबालिकाले सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको उल्लेख छ । कोभिडका कारण बारम्बार विद्यालय बन्द हुने क्रमले दक्षिण एसियामै सिकाइमा क्षति र असमानता वृद्धि भएको अध्ययनले देखाएको छ । 

कोभिडको संक्रमण घट्दै गएको र स्मार्ट लकडाउनलाई अनुसरण गरी विद्यालय खोल्न पाउने भएकाले सिकाइ उपलब्धि बढ्ने अपेक्षा गरिएको छ । विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न सकिन्छ ।
 दीपक शर्मा, प्रवक्ता, शिक्षा मन्त्रालय

युनिसेफको अध्ययनअनुसार श्रीलंकाको निजी प्राथमिक विद्यालयमा ५२ प्रतिशत शिक्षकले आफ्ना विद्यार्थीलाई साताको पाँच दिन सम्पर्क गर्ने गरेको रिपोर्ट गरेका छन् भने सार्वजनिक प्राथमिक विद्यालयमा आफ्ना विद्यार्थीलाई सम्पर्क गर्ने शिक्षकको संख्या आठ प्रतिशत मात्र छ । नेपालमा विद्यालय बन्द रहेको अवधिमा निजी विद्यालयका ३६ प्रतिशत र सामुदायिक विद्यालयका ५९ प्रतिशत शिक्षक बालबालिकासँग सम्पर्कमा थिएनन् ।

 विद्यालय खुल्न थालेपछि सिकाइ बढ्ने अपेक्षा
कोभिडको संक्रमण घट्दै गएको र स्मार्ट लकडाउनलाई अनुसरण गरी विद्यालय खोल्न पाउने भएकाले सिकाइ उपलब्धि बढ्ने शिक्षा मन्त्रालयका अधिकारीको भनाइ छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउनको प्रकृतिअनुसार विद्यालय सञ्चालन गर्न सकिने भएकाले विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने दाबी गरे । ‘स्मार्ट लकडाउनमा स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न सकिने भएको छ, विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न सकिन्छ,’ प्रवक्ता शर्माले भने । 

कोभिडको संक्रमण दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीय तहले विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन्, कतिपयले सञ्चालन गरिसकेका छन् । अनलाइन तथा भर्चुअल कक्षा प्रभावकारी नभएपछि शिक्षा मन्त्रालयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार कक्षा सञ्चालन गर्न प्रोत्साहन गरेका छन् ।

कोभिडको संकट मूल्यांकन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा स्मार्ट लकडाउनलाई अनुसरण गरी भौतिक रूपमा कक्षा सञ्चालन गर्दै छन् । कोभिडको जोखिम कम भएका ठाउँमा डिसिसिएमसीसँग समन्वय गरी विद्यालय सञ्चालन हुन थालेका छन् ।  

दक्षिण एसियामा साढे ४३ करोड बालबालिकाको सिकाइमा बाधा
कोभिड महामारीका कारण दक्षिण एसियामा विद्यालय बन्द हुँदा ४३ करोड ४० लाख बालबालिकाको सिकाइमा बाधा पुगेको युनिसेफले जनाएको छ । विद्यार्थीहरूले महामारीपूर्वको तुलनामा अहिले धेरै कम सिकेको विद्यार्थी र उनीहरूका अभिभावकले बताएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतमा १४–१८ वर्ष उमेर समूहका ८० प्रतिशत बालबालिकाले विद्यालयमा शारीरिक रूपमा उपस्थित भएर सिकेकोभन्दा धेरै कम सिकेको रिपोर्ट गरेका छन् । श्रीलंकामा प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका ६९ प्रतिशत अभिभावकका अनुसार उनीहरूका बालबालिकाले ‘कम’ वा ‘धेरै कम’ सिकिरहेका छन् ।

प्रविधिमा पहुँच भएको परिवारका बालबालिकालाई सधैँ उपकरणमा पहुँच नहुँदा बालबालिकालाई शिक्षा हासिल गर्ने यात्रामा ठूलो बाधा पुगेको दक्षिण एसियाका लागि युनिसेफकी क्षेत्रीय निर्देशक जर्ज लरियाले बताएकी छन् । विभिन्न देशका सरकारबाट भएका महत्वपूर्ण प्रयासका बाबजुद गुणस्तरीय इन्टरनेटको सुविधा नभएको र डिजिटल उपकरणको पहुँचमा भएको कमीले दूरशिक्षाको विस्तार र प्रभावकारितालाई गम्भीर रूपबाट बाधा पुर्‍याएको जनाइएको छ ।

भारतमा ६–१३ वर्ष उमेर समूहका ४२ प्रतिशत बालबालिकाले विद्यालय बन्द हुँदा कुनै पनि प्रकारको दूरशिक्षा प्रयोग नगरेको पाइएको छ । पाकिस्तानमा २३ प्रतिशत बालबालिकासँग दूरशिक्षामा सहयोग पुग्ने कुनै पनि उपकरणमा पहुँच थिएन । 

 यस्तो छ स्मार्ट लकडाउन कार्ययोजना
लकडाउनको प्रकृतिअनुसार शैक्षिक क्रियाकलापहरूको कार्यान्वयन कार्ययोजना एकीकृत रूपमा स्मार्ट लकडाउन कार्ययोजनामा समावेश गरी विद्यालयसम्म पठाएको छ । शिक्षा मन्त्रालयले जोखिमको अवस्थाअनुसार क्रियाकलाप गर्न सकिने गरी कार्ययोजना बनाएको छ ।

कार्ययोजनामा कडा र मिश्रित लकडाउन भएको स्थानमा प्रविधिको प्रयोग गरी सिकाइ क्रियाकलाप गर्ने उल्लेख छ । त्यसैगरी, सफ्ट लकडाउन र सामान्य लकडाउन भएको स्थानमा भौतिक दूरी कायम गरी सिकाइ क्रियाकलाप गर्न सकिने उल्लेख छ । 

ad
ad