मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
डा. डिला संग्रौला
२०७८ भदौ २४ बिहीबार १०:३८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

तिज : नारी विद्रोहको ‘हिन्दू–कथा’

कुनै वेला ‘हिन्दू नारी’ समूहमा मात्रै सीमित तिज पर्वका सिमानाहरू अहिले व्यापक भइसकेका छन्

Read Time : > 4 मिनेट
डा. डिला संग्रौला
२०७८ भदौ २४ बिहीबार १०:३८:००

सारमा बुझ्ने हो भने– ‘हिन्दू–कथा’को एउटा सानो अणु मात्रै हो तिज । पौराणिक युगको ‘हिमालय प्लट’मा बुनिएको यस कथाका पात्र हुन्– पार्वती र शिव ।  एउटा पौराणिक प्रेम–कथा बिस्तारै हिन्दू नारीको एक ‘महान् पर्व’का रूपमा स्थापित भयो । र, यसलाई नेपाली हिन्दू नारीसँग गाँसेर मनाउन थालियो । पार्वतीले आफ्नो प्रेम (शिव) लाई पाएको त्यो ‘पवित्र’ दिन हरितालिका अर्थात् तिज भयो । कुनै वेला ‘हिन्दू नारी’ समूहमा मात्रै सीमित रहेको यो पर्वका सिमानाहरू अहिले व्यापक भइसकेका छन् । यसका दायरा र परिभाषा फराकिला भएका छन् । तिज मनाउने तरिका फरक भएका छन् । यसरी आजसम्म आइपुग्दा तिज सम्पूर्ण नारीको एउटा साझा पर्व भइसकेको छ । र, यसमा पुरुषहरू पनि कुनै न कुनै पाटोमा साझेदार हुन थालेका छन् । यो एउटा महत्वपूर्ण परिवर्तन हो । 

मूलतः तिज हाम्रो धर्म, संस्कृति र परम्परा अनि सामाजिक संस्कारको एउटा गहकिलो ‘प्याकेज’ हो । जसलाई हामीले स्वास्थ्य र विज्ञानका आधारमा समेत व्याख्या गर्न सक्छौँ । महिला अधिकार अनि स्वतन्त्रतासँग गाँसेर हेर्न सक्छौँ । नारीको प्रेमशक्ति अनि उसको त्याग, समर्पणको क्षमता अनि साहससँग गाँस्न सक्छौँ । यद्यपि हरेक पर्वलाई परिभाषित गर्ने र त्यसलाई अपनाउने आआफ्नै तरिका होलान्, त्यो पनि व्यक्तिगत स्वतन्त्रताको एउटा पाटो हो । 

नेपाली संस्कृति आफैँमा एक प्राचीन र समृद्ध छ । संस्कृतिका विविधता आआफ्नै मूल सनातन धर्ममा आधारित छन् । मानवीय मूल्य र मान्यताले भरिएको हाम्रा सांस्कृतिक परम्परा धर्मकै एक उपज हुन् । तथापि हाम्रो समाज धार्मिक रूपमा पनि सहिष्णु छ । हरेक संस्कृति अनि पर्वहरूले केही न केही सन्देश बोकेकै हुन्छन् । ती सन्देशलाई हामीले आफ्नो व्यक्तिगत जीवनमा मात्रै नभई आमसामाजिक रूपान्तरणका लागि त्यसलाई प्रयोग गर्नुपर्छ । यसबाट संस्कृतिको संरक्षण पनि हुन्छ । ती सांस्कृतिक र धार्मिक आस्थाको सम्मान पनि हुन्छ । अनि समाजका हरेक वर्ग र समुदायले हरेकका धर्म, संस्कृति र आस्थालाई सम्मान गर्न सक्छ । यसरी पर्वहरूलाई सामाजिक सद्भाव र प्रेरणाको ‘ग्रन्थ’ बनाउन सकिन्छ । हरेक पर्वलाई मान्नुपर्ने धेरै कारण र आधार हुन्छन् । खासगरी पर्वहरू मान्नुका पछाडि तीन कारण देखिन्छन्– सामाजिक, आर्थिक र धार्मिक । 

हरेक व्यक्ति सिंगो समाजको एउटा अंश हो । समाज निर्माणमा हरेक व्यक्तिको उत्तिकै भूमिका हुन्छ । दायित्व र अधिकार हुन्छन् । त्यसैले पर्व मनाउने तरिका, त्यसको प्रभाव र महत्व अन्ततः समाजमै गएर गाँसिन्छ । सामाजिक प्राणी भएका नाताले हरेक व्यक्तिले धारण गर्ने आस्था र कर्मको प्रभाव समाजमै पर्छ । त्यसैले एउटा पर्वलाई अपनाउने उसको तरिका सामाजिक नै हुन्छ । हरेक पर्वले सामाजिक सद्भाव बढाउँछ । सामाजिक एकता झल्काउँछ र त्यसको महत्व बुझाउँछ । हुनेखानेहरूले नहुनेहरूलाई पर्वका नाममा गर्ने सहयोग र देखाउने सद्भाव सामाजिक भावनाको एउटा महत्वपूर्ण पाटो हो । यसले हरेक पर्वको सामाजिक महत्व झल्काउँछ । हरेक महिलाले एकअर्काप्रति झल्काउने प्रेम, सद्भाव र सम्मान तिजको एउटा सामाजिक गुण हो । 

तिजको धार्मिक पाटोमा एउटी नारीको पवित्र प्रेम र समर्पण जोडिएको छ । र, एउटी नारीको ‘विद्रोह’को गाथा पनि यसले बोकेको छ ।

अनि हरेक पर्वसँग गाँसिने एउटा पाटो हो– आर्थिक । यससँग हाम्रो खानपिन, रहनसहन र खर्च वा देखासिकी जोडिन्छ । हामीले बुझ्नैपर्ने र अपनाउनैपर्ने एउटा मान्यता के हो भने ‘घाँटी हेरेरै हाड निल्नु ।’ अर्थात् कुनै पनि पर्व मनाउनका लागि हामीले देखासिकी गर्नुपर्ने आवश्यकता छैन । आफूले सकेको खाने र लगाउने हो । सकेको कर्म गर्ने हो । हामीले गर्ने श्रम र त्यसको आयको एउटा अंश अन्ततः पर्व मनाउनैका लागि बचत गरेका हुन्छौँ । पर्वमा हुने किनमेलले हाम्रो बजारमा आर्थिक क्रियाकलाप बढाइदिन्छन् । पुँजी परिचालन हुन्छ । यो पर्वको आर्थिक पाटो हो । 

आधुनिकतासँगै हाम्रो समाजमा तिज एउटा भड्किलो पर्व हो भनेर आलोचना पनि नभएका होइनन् । बढ्दै गएको सहरी संस्कारले तिजलाई भड्किलो बनाइरहेको यथार्थलाई नकार्न पनि सकिँदैन । तर, हरेक सचेत महिलाले बुझ्नुपर्ने के हो भने हामीले यसलाई ‘खान–लाउन’का लागि मात्रै होइन, सामाजिक रूपान्तरणको एउटा अभियानका रूपमा पनि मनाउनुपर्छ । खानका लागि तिज नै आउनुपर्छ वा मनाउनुपर्छ भन्ने मान्यतालाई अब बदल्नैपर्छ ।

राम्रो लुगा वा गहना लगाउनका लागि तिज नै आउनुपर्छ भन्ने चेतनाबाट अब हामी माथि उठ्नैपर्छ । यसो भन्दैमा हरेक नेपाली नारीसित आफूलाई मन लागेको वेला खान पाउने र मन लागेको कपडा वा गहना लगाउन सक्ने क्षमता छ भन्ने होइन । तर, हामीले हाम्रो सामाजिक र आर्थिक चेतनालाई एउटा साँघुरो मानसिकताले हेर्नु हुँदैन । मिठो खान अनि राम्रो लगाउन पर्व नै कुर्नुपर्ने बाध्यता हाम्रा दिदी–बहिनीको नभएको होइन । तर, युगअनुसार शिक्षित र चेतनशील नारीले अब त्यो सोच परिवर्तन गर्न जरुरी छ । त्यसैले हाम्रा पर्वहरू अझ खासगरी तिज परिवर्तनको संवाहक बन्न जरुरी छ । किनकि आजको युग हरेक नारीको नेतृत्वको युग हो । हरेक महिलाको निर्णायक युग हो । हामीले नै बनाएका संस्कार र सांस्कृतिक मान्यता हामीले नै फेर्नुपर्छ । 

विष, भाङ–धतुरो खाने र आफूलाई दिगम्बर ‘भोलेनाथ’ सम्झिने एउटा ‘बहुलठ्ठी’ भगवान् शिवलाई मन पराएकी पार्वतीको त्यो प्रेम प्राप्तिको दिन हो तिज । पिता हिमालय पर्वतले भगवान् विष्णुसँग तय गरेको विवाहलाई लत्याएर उनै ‘शिव’ पाउन पार्वतीले गरेको त्याग, तपस्या र समर्पणको एउटा विजयोत्सव हो तिज । तिजको धार्मिक पाटोमा एउटी नारीको पवित्र प्रेम गाँसिएको छ । एउटी नारीको समर्पण जोडिएको छ ।

 

अनि एउटी नारीको ‘विद्रोह’को गाथा पनि यसले बोकेको छ । समग्रमा तिजको यो धार्मिक र पौराणिक पानामा एउटी नारीले आफ्नो जीवनको स्वतन्त्रताका लागि गरेको विद्रोह र संघर्षको लामो कथा लेखिएको छ । हरेक भगवान्लाई हेर्ने हरेकका नजर आआफ्नै होलान् । शिवलाई बुझ्ने हरेकका आआफ्नै तरिका होलान् । पार्वतीलाई हेर्ने हरेकसँग अनेकन् ‘नजरिया’ होलान् । तर ‘शिव’ पाउने अभिलाषाले आफ्नो जीवनलाई एउटा कठोर बाटोमा हिँडाएकी ‘पार्वती’का ती पाइलाहरू आममहिलाका लागि विद्रोहको एउटा विस्फोट थियो । 

आज तिजमा लोग्नेको पाउको जल पिउने कि नपिउने ? उसका लागि व्रत बस्ने कि नबस्ने वा लिंगको पूजा किन गर्ने ? जस्ता बहस चर्किएका छन् । बढ्दो सामाजिक चेतका यी नैसर्गिक बहस हुन् । तर, ती त्यो वेलाका विधि थिए । त्यो समयका मान्यता थिए, अझ हुन सक्छ बाध्यता थिए । आज समय बदलिएको छ । धर्मलाई ‘फेसन’का रूपमा अँगाल्दै गएको हाम्रो समाजका लागि यी र यस्ता बहस अब थोत्रा भइसके । हामीले हाम्रो कर्मलाई पूजा गरौँ । त्यसको सम्मान गरौँ । त्यसैले तिजलाई एउटा परिवर्तनको अभियानका रूपमा मनाऔँ । 

तिजको एउटा युग थियो– जहाँ यो पर्व महिलाका लागि ‘माइती’(जन्मघर) अनि घर (विवाह–घर) को एउटा साँघुरो घेरामा मात्र सीमित थियो । वर्ष दिनमा माइतीको आँगन टेक्नैपर्ने, ‘घर’बाट मुक्त भएर आफूलाई उन्मुक्त नचाउनैपर्ने, विरहका गीत गाउनैपर्ने विरहको त्यो युग अब फेरिइसकेको छ । माइती अनि घरका पर्खालहरू अब सीमित छैनन् । तिज अब उदात्त भइसकेको छ । हाम्रा हरेक पर्वहरू उदात्त हुँदै छन् । हाम्रो सामाजिक सोच, संस्कार र चेतनाको स्तर उदात्त भइरहेको छ । परिवर्तन यसैगरी हुने हो । र, हाम्रा संस्कृति र परम्परालाई यसैगरी युगानुकूल परिष्कृत गर्दै लैजानुपर्छ ।