मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २३ बुधबार ०८:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यसम्पादन मूल्यांकनमा झापा, अर्घाखाँची र रुकुम पूर्वका सिडिओ उत्कृष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २३ बुधबार ०८:२४:००

गत आर्थिक वर्षमा ७७ जिल्लामध्ये झापा, अर्घाखाँची र रुकुम पूर्वका जिल्ला प्रशासन कार्यालय कार्यसम्पादन सम्झौता मूल्यांकनमा उत्कृष्ट भएका छन् । ती जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्झौताअनुसार धेरै नम्बर ल्याएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयसँग प्रमुख जिल्ला अधिकारीले गरेको कार्यसम्पादन सम्झौताअनुसार मूल्यांकनमा तीन जिल्ला समान नम्बर ल्याएर प्रथम भएका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिमल्सिना तथा अर्घाखाँचीमा विष्णु पौडेल छन् । गत आर्थिक वर्षमा रुकुम पूर्वको जिल्ला प्रशासन कार्यालयको नेतृत्व लामो समय राजकुमार राईले सम्हालेका थिए । हाल लक्ष्मीप्रसाद बाँस्कोटा छन् । 

त्यस्तै, ललितपुर र रुकुम पश्चिम द्वितीय तथा गुल्मी तृतीय भएको गृह मन्त्रालयका सहसचिव कमलराज ढकालले बताए । जिल्ला प्रशासनको ६ वटा विषयमा केन्द्रित भई कार्यसम्पादन मूल्यांकन भएको थियो । जसमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय/सदाचार र आर्थिक अनुशासनलाई आधार मानेर मूल्यांकन भएको थियो ।

उत्कृष्ट हुने जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्मान गरिने गृह मन्त्रालयले जनाएको छ । यो वर्ष पनि गृह मन्त्रालयले सबै जिल्लाका सिडिओसँग कार्यसम्पादन मूल्यांकन गरिसकेको छ । यो वर्ष भने पहाड, हिमाल, तराई र उपत्यकाका जिल्लाको फरक–फरक मूल्यांकन आधार तय गरिएको छ । सिडिओको प्रभावकारिता बढाउन यस्तो मूल्यांकन हुने भए पनि उत्कृष्ट काम गर्नेभन्दा मध्यमहरूले ठूला जिल्लाको जिम्मेवारी पाउने अवस्था रहेको गृह मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।