मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कृष्ण रिजाल काठमाडाैं
मुना कुँवर काठमाडाैं
२०७८ भदौ २३ बुधबार ०७:५५:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्टरनेटको गुणस्तरमा प्रयोगकर्ताको गुनासै-गुनासा : सेवाप्रदायकको ठगी, नियामकको मौनता

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
मुना कुँवर, काठमाडाैं
२०७८ भदौ २३ बुधबार ०७:५५:००

-इन्टरनेट कम्पनीले सर्तअनुसारको गुणस्तर नदिने, बढी बिल काट्नेदेखि बिक्रीपछिको सेवामा पनि ग्राहकको गुनासो
-इन्टरनेट सेवाप्रदायकले चार घन्टाभित्र ९५ प्रतिशत वा सोभन्दा बढी ग्राहकको सेवा क्रियाशील बनाउनुुपर्छ
-‘फास्ट डटकम’, ‘स्पिड टेस्ट डटनेट’, ‘स्पिड चेक ओआरजी’, ‘टेस्ट माई नेट’लगायत साइटमा गएर पनि आफ्नो इन्टरनेटको गति परीक्षण गर्न सकिन्छ

‘म बस्ने घरको तीन फ्ल्याटमा तीन अलग–अलग कम्पनीका नेट जोडिएका छन् । नेट जोड्नुअघि भनेजस्तो सेवा कसैको छैन,’ नेपालमा सञ्चालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको सेवाको विषयमा गुनासो गर्दै सामाजिक सञ्जालमा सञ्चारकर्मी टिपी भुसालले गरेको टिप्पणी हो यो । उनले कम्पनीको नाम भने उल्लेख गरेका छैनन्, तर सेवाप्रदायकहरूको गुणस्तरीय सेवाको विषयमा भने सुझाब माग गरेका छन् । नेपालमा सञ्चालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको गुणस्तरका विषयमा अधिकांश उपभोक्ताको गुनासो भुसालकै जस्तो छ । इन्टरनेटको गुणस्तरदेखि बिलिङ र बिक्रीपछिको सेवामा प्रयोगकर्ताको गुनासै–गुनासो देखिन्छ । तर, यसमा न त सेवाप्रदायकहरूले सुधारको प्रयास गरेको देखिन्छ, न त सेवाप्रदायकले नै चासो देखाएको पाइन्छ ।

भक्तपुर चागुनारायणका विशेष खनालले दुई वर्षअगाडि वल्र्डलिंक कम्प्युनिकेसनको इन्टरनेट जोडेका हुन् । कोभिड महामारीले कार्यालयको काम पनि घरबाट गर्नुपर्ने भएपछि उनले दिनभरि इन्टरनेटको प्रयोग गर्छन् । खनालले मासिक एक हजार पाँच सय ८० रुपैयाँ भुक्तानी गरी २० एमबिपिएस स्पिडको इन्टरनेट जोडेका हुन् । तर, बीच–बीचमा इन्टरनेट कनेक्सन काटिने समस्याले उनी पनि हैरान छन् । ‘अहिले कार्यालयको काम पनि घरमा नै गर्नुपर्छ । छोराछोरीलाई पनि अनलाइन पढाउनुपर्छ । तर, पैसा तिरेजत्तिको स्पिड कहिल्यै आउँदैन,’ उनले भने । तर, कसलाई भन्नु ? इन्टरनेट नभई पनि भ’को छैन । त्यसैले जेनतेन कामचलाउ गरिरहेको उनले गुनासो गरे ।

सोह्रखुट्टेका राजन पौडेलले चार वर्षदेखि सुबिसुको इन्टरनेट प्रयोग गर्दै आएका छन् । तर, सुबिसुको सेवाबाट उनी हैरान छन् । पौडेलले मासिक एक हजार ६ सय ३० भुक्तानी गरी ३० एमबिपिएसको इन्टरनेट सुविधा लिएका हुन् । तर, हप्तामा कम्तीमा पनि तीनपटक इन्टरनेटको कनेक्सन काटिन्छ । ‘हप्तामा कम्तीमा तीनपटक इन्टरनेट काटिन्छ । कार्यालयमा फोन गर्‍यो भने तपाईंको एरियामा इन्टरनेट समस्या छ भन्छन्,’ उनले भने । कहिलेकाहीँ त दिनभर कनेक्सन नआउने उनले गुनासो गरे । 

जोरपाटीका प्रभात भट्टराईले दुई वर्षअगाडि वार्षिक १४ हजार शुल्क भुक्तानी गरी २० एमबिपिएस स्पिडको इन्टरनेट जडान गरेका थिए । तर, उनले शुल्क भुक्तानी गरेअनुसारको कहिल्यै इन्टरनेट सुविधा पाएनन् । ‘काम गर्दागर्दै बीच–बीचमा इन्टरनेट बन्द हुन्छ । १५ देखि २० मिनेट कनेक्सन काटिन्छ । कार्यालयमा फोन गर्‍यो, खासै प्रतिक्रिया दिँदैनन्,’ उनले भने । कार्यालयले गुनासो नै नसुन्ने भएपछि भट्टराईले सम्पर्क गर्न पनि छाडिदिए ।  

बुद्धनगरका सुदीप बस्नेतले ६ महिनाअगाडि क्लासिक टेकको इन्टरनेट जोेडेका हुन् । उनले मासिक १५ सय भुक्तानी गरी ३० एमबिपिएस स्पिडको इन्टरनेट जोडेका हुन् । तर, कम्पनीले १–२ एमबिपिएस स्पिड मात्रै दिने गरेको उनले गुनासो गरे । ‘मैले ३० एमबिपिएसका लागि पैसा तिरेको हो । तर, कहिलेकाहीँ केबिपिएसको स्पिड दिइरहेको हुन्छ । कम्पनी परिवर्तन गरौँ भने पनि हैरान छ । जसको इन्टरनेट पनि यस्तै स्लो भएको गुनासो सुनिन्छ,’ उनले भने । स्पिड मात्रै कम होइन,  कहिलेकाहीँ त इन्टरनेट कनेक्सन नै काटिन्छ । ‘कहिलेकाहीँ १–२ घन्टामा कनेक्सन आउँछ । कहिले त ५ दिनसम्म पनि कनेक्सन जोडिँदैन,’ उनले भने । कार्यालयमा गुनासो गर्‍यो भने पनि खासै प्रतिक्रिया नदिने गरेको उनले गुनासो गरे । 

 इन्टरनेटको गुणस्तर कति हुनुपर्छ ? यस्तो छ व्यवस्था
दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३ ले इन्टरनेटको गुणस्तर तय गरेको छ । इन्टरनेट सेवाप्रदायकले चार घन्टाभित्र ९५ प्रतिशत वा सोभन्दा बढी ग्राहकको सेवा क्रियाशील तथा सेवा प्रदान (सर्भिस एक्टिभेसन एन्ड प्रोभिजनिङ) गर्नुपर्ने हुन्छ । डाटा प्राप्ति (डाटा डाउनलोड) सफलताको दर ८० प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ । डाटा पठाउने (डाटा अपलोड) सफलताको दर ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्छ । डाटाको वहाब (थ्रोपुट) ग्राहकले खरिद गरेको गतिको ७५ प्रतिशत वा सोभन्दा बढी हुनुर्छ । डाटालाई लक्षित स्थानसम्म पुग्न लाग्ने समय (डाटा लेटेन्सी) दुई सय ५० मिलिसेकेन्ड वा सोभन्दा कम हुनुपर्ने कानुनी व्यवस्था छ । 

 १५ दिनभित्र ९० प्रतिशत बिलिङ विवाद सकिनुपर्ने
बिलिङ विवाद २ प्रतिशत वा सोभन्दा कम हुनुनपर्नेछ । विवादको समाधान १५ दिनभित्र ९० प्रतिशत वा सोभन्दा बढी, ३० दिनभित्र ९५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेछ । बिलिङ विवाद भन्नाले गलत तरिकाले भुक्तानी माग भएको, बढी दस्तुर लिइएको, दोहोरो दस्तुर लिइएको, ढिलो गरी गरिएको बिजक, भुक्तानीको प्राप्तिको सूचना नदिएको, बिलसँग बेमेल भएकोलगायत दूरसञ्चार सेवाको शुल्कसँग सम्बन्धित कुनै पनि गुनासो सम्झनुपर्छ । 

 गुणस्तर मापन गर्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने
अनुमतिपत्र प्राप्त व्यक्तिले नियमित रूपमा आफूले दूरसञ्चार सेवा प्रदान गरेका विभिन्न स्थानहरूमा गुणस्तरका लागि ड्राइभ टेस्ट गरी दूरसञ्चार सेवाको मापन गर्नुपर्ने कानुनी व्यवस्था छ । यसरी गरिएको मापनको प्रतिवेदन तोकिएको ढाँचामा तयार गरी प्रत्येक तीन महिनामा सो अवधि समाप्त भएको दश कार्यदिनभित्र प्राधिकरणमा पेस गर्नुपर्छ । त्यस्तै, प्राधिकरणले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्रतिवेदन सार्वजनिक गर्न लगाउनेछ । प्राधिकरणले आवश्यकताअनुसार नियमित वा आकस्मिक रूपमा जाँच गर्न वा कुनै विशेष प्रकारको परीक्षण, मापन वा प्रश्नावली तयार गरी सर्वेक्षण गर्न–गराउन सक्नेछ । 

 इन्टरनेटको गुणस्तर कसरी मापन गर्ने ?
इन्टरनेटको गुणस्तर मापन गर्ने विभिन्न थरीका डिभाइस तथा सफ्टवेयरहरू रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पनि इन्टरनेटको गुणस्तर मापन गर्ने सफ्टवेयर सञ्चालन गरिरहेको छ । प्रयोगकर्ताले प्राधिकरणको वेबसाइटमा गएर पनि आफूले प्रयोग गरिरहेको इन्टरनेटको गुणस्तर मापन गर्न सक्छन् । प्राधिकरणको वेबसाइट स्क्रोल गरेर सबैभन्दा तल जानुहोस् । त्यहाँ तपाईंले ‘स्पिड टेस्ट’ देख्नुहुनेछ । उक्त स्पिड टेस्टलाई क्लिक गर्नुहोस् । अब तपाईंले  त्यहाँ इन्टरनेट गुणस्तर मापन गर्ने सफ्टेयर देखिन्छ (घडीजस्तै) । त्यहाँ तपाईंले  ‘स्टार्ट’मा क्लिक गर्नुहोस् । टेस्ट सकिएपछि तपाईंको इन्टरनेटको गुणस्तर के–कस्तो छ भन्ने रिजल्ट त्यहाँ देखिन्छ । यसका अलावा तपाईंले  ‘फास्ट डटकम’, ‘स्पिड टेस्ट डटनेट’, ‘स्पिड चेक ओआरजी’, ‘टेस्ट माई नेट’लगायत साइटमा गएर पनि आफ्नो इन्टरनेटको गति परीक्षण गर्न सकिन्छ ।