भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालले चितवनस्थित कालीबहादुर गणबाट ‘केआर १००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) चोरीमा आफ्नो मात्रै संलग्नता रहेको स्वीकार गरेपछि कैद सजाय भुक्तान गरिरहेका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले न्याय पाउने सम्भावना बढेको छ ।
सैनिक मुख्यालयमा बिहीबार बसेको विशेष सैनिक अदालत लवकुमार र सरोजको पक्षमा सकारात्मक रहेको सैनिक स्रोतले जानकारी दिएको छ । भरतको हत्यामा संलग्न ढकालले कालीबहादुर गणबाट हतियार चोरी गरेको स्वीकार गरेको र छानबिनका क्रममा प्राप्त प्रतिवेदनले पनि त्यही देखाएको हुँदा अदालतको फैसला लवकुमार र सरोजको पक्षमा रहेको सैनिक स्रोतको दाबी छ ।
बिहीबार दिउँसो ३ बजे उच्च अदालत पाटनका न्यायाधीश लोहती चन्द शाहको संयोजकत्वमा सैनिक विशेष अदालत बसेको थियो । अदालतमा सदस्यका रूपमा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेल र उपरथी रत्नशमशेर थापा रहेका थिए । अदालतमा प्राप्त प्रमाणका आधारमा बहस भएको थियो । तर, अदालतले फैसला शुक्रबार मात्रै सार्वजनिक गर्ने जानकारी दिएको छ ।
‘केआर १००७९२’ हतियार चोरी गरेको अभियोगमा सैनिक अदालतले अमल्दार लवकुमार र सरोजलाई दोषी ठहर्याएको थियो । उनीहरू २८ महिनादेखि चितवनस्थित सैनिक कारागारमा सजाय भुक्तान गरिरहेका छन् । कसुर प्रमाणित गर्दै सैनिक अदालतले लवकुमारविरुद्ध १० र सरोजविरुद्ध सात वर्ष कैद सजयको फैसला गरेको थियो । उनीहरूसँगै पक्राउ परेका अर्का सिपाही सुबी गुरुङविरुद्ध भने तीन महिना कैद र जागिरबाट बर्खास्त हुनै फैसला अदालतले गरेको थियो ।
हतियार चोरीमा लवकुमार र सरोज संलग्न नभई ढकाल रहेको तथ्य बाहिरिएपछि पीडितका आफन्तले सेनासमक्ष हारगुहार गरेका थिए । सोही आधारमा सेनाले घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।