मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १२ शनिबार १६:१२:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

कोरोनाको तेस्रो लहरबाट कसरी बच्ने ? (भिडियोसहित)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १२ शनिबार १६:१२:००

नेपालमा कोरोना महामारीले जटिल रूप नलेला भन्न सकिन्न । अस्पतालका आइसियू र भेन्टिलेटर भरिएकै छन् । अझै पनि नेपालमा ठूलो संख्यामा संक्रमण हुन बाँकी नै छ । ठूलो जनसंख्या भएको समुदायमा खोप पुग्न सकेको छैन। समुदायस्तरमा खोप प्रभावकारी रूपमा पुर्‍याउन सक्यौँ भने संक्रमणदर घट्न सक्छ । अहिलेसम्म करिब १०-१२ प्रतिशत जनसंख्यामा मात्रै खोप पुगेको छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ ।

खोपको प्रभावकारी वितरण नभएकाले ठूलो जनसंख्यामा रोग प्रतिरोधात्मक क्षमताको विकास भइसकेको छैन । त्यसैले भाइरस अझै पनि लामो समय रहने उच्च सम्भावना छ । खोप पाउने धेरै मानिस काठमाडौं उपत्यका र मुख्य सहरमा छन् । संक्रमणदर कम भएका कतिपय हिमाली र ग्रामीण क्षेत्रमा खोप पनि कम नै पुगेको छ । पर्याप्त खोप नहुँदा त्यस्तो ठाउँमा संक्रमितको संख्या नबढ्ला भन्न सकिन्न । 

पुरानो संक्रमणको लहर पूरै मत्थर भएपछि नयाँ उबार देखियो भने अथवा भाइरस नयाँ म्युटेसनसहित आयो भने नयाँ लहर आयो भन्न सकिन्छ । जस्तो पहिलो लहरको महामारीको ग्राफ क्रमिक रूपमा धेरै तल झरेपछि अल्फा भेरियन्ट देखियो र संक्रमणदर बढ्दै–बढ्दै पुनः डेल्टा भेरियन्ट देखियो । अहिले दोस्रो लहरमा डेल्टा भेरियन्टको संक्रमण यथावत् छ । तीव्र रूपमा फैलिरहेको यो भाइरसका कारण विश्वका दशौँ लाख मानिस संक्रमित भइरहेका छन् ।

महामारीशास्त्रका अनुसार यो भाइरस धेरै संक्रमणशील र डेल्टा भेरियन्टसँग लड्न सक्ने क्षमता विकास भइसकेका मानिसमा संक्रमण गर्न सक्ने गरी नयाँ रूपमा देखियो भने एकदमै ठूलो र नयाँ लहर आउने सम्भावना हुन्छ । त्यस्तो भेरियन्ट अहिलेको परिदृश्यमा देखिएको छैन । तर, त्यसको सम्भावना छैन भन्नेचाहिँ होइन ।

अहिले दैनिक ३०–४० जनाको संक्रमणका कारण मृत्यु भइरहेको छ। टेस्ट पोजेटिभ दर २०–३० प्रतिशतको हाराहारीमा छ । यो धेरै ठूलो संख्या हो । यो अझै केही महिना लम्बिने सम्भावना छ । त्यसैले हामीले यसलाई सिरियस्ली लिनुपर्छ । नयाँ लहर आएको छैन भनेर हामी ढुक्क भएर बस्ने अवस्था छैन ।

संक्रमण बढिरहँदा केही मानिसहरूले खोपप्रति नै शंका गरिरहेका छन् । खोपको प्रभावकारितामा अविश्वास गर्नुपर्ने कुनै पनि कारण छैन । कुनै खोप धेरै प्रभावकारी होलान् त कुनै कम प्रभावकारी । तर, खोप लगाएका व्यक्तिलाई संक्रमण भइहालेमा सिकिस्त हुने सम्भावना धेरै कम हुन्छ । मृत्यु हुने वा आइसियूमा जाने सम्भावना नगन्यप्रायः छ । अहिले अस्पताल आउने संक्रमितमा पनि अधिकांश खोप नलागएका नै छन् । कसैकसैमा खोप लगाएपछि संक्रमण भएको भए पनि अवस्था जटिल भएको पाइएको छैन । जसले जुन खोप पाउनुहुन्छ त्यो ढुक्क भएर लगाउँदा हुन्छ ।

नेपालको खोप वितरणात्मक प्रणाली पनि कमजोर छ । सबै क्षेत्रका नागरिकले आवश्यक खोप लगाउन पाएका छैनन् । जतिले लगाएका छन् पहिलो डोज मात्रै पाएका छन् । महामारीको अन्त्य खोपले मात्रै गर्ने भने होइन । यसमा नागरिक पनि जिम्मेवार हुनुपर्छ । एउटा व्यक्तिले आफ्नो स्वास्थ्यको जिम्मा आफैँले लिनुपर्छ। मास्क लगाउने, भौतिक दूरी कायम गर्ने अनावश्यक भिडभाड नगर्नेजस्ता सावधानी अपनाउनु नागरिकको कर्तव्य पनि हो ।

संस्थागत रूपमा गर्नुपर्ने जनस्वास्थ्यका कुरामा हामीले लत्तो छाड्दै गयौँ । कन्ट्याक ट्रेसिङ, आइसोलेसन निर्माणजस्ता कुरामा ध्यान दिइएको छैन । पहिले केही समय यस्ता काम भए पनि यसले निरन्तरता पाउन सकेको छैन । राज्यले लक्षण देखिएकाहरूको कन्ट्याक ट्रेसिङ, उपलब्ध नभएको ठाउँमा मास्क वितरणजस्ता कुराहरू निःशुल्क गर्नुपर्छ । अहिले खर्च बढेको देखिए पनि यसले दीर्घकालीन रूपमा फाइदा नै गर्छ । यति गर्न सकियो भने अस्पतालको भेन्टिलेटर र आइसियूमा जान पर्दैन । आइसोलेसनमा बस्नुपर्ने मान्छे आफैँ बस्छन् । सरकारले यसबारे दूर दृष्टि लगाउनुपर्छ । अन्यथा निषेधाज्ञा गर्ने, स्कुलहरू खुल्न नपाउने, पर्यटकहरू आउन नपाउने, व्यापार–व्यवसाय बन्द रहने कुराहरू निरन्तर रहिरहन सक्छ । 

यहाँ व्यापार–व्यवसायको मात्र कुरा होइन । बालबालिका विद्यालय जान पाएका छैनन् । खेल्न पाएका छैनन् । अनलाइन कक्षाले उनीहरूको दृष्टिमा त समस्या आउँछ नै । सँगै उनीहरूको शारीरिक र मानसिक विकासमा पनि यसले अवरोध गर्ने निश्चित छ । बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै मानसिक तनावमा पर्न थालेका छन् । समाजमा विभिन्न किसिमले यसको असर देखिन सुरु भइसकेको छ ।

राजनीतिक नेतृत्वले महामारी नियन्त्रणका लागि के–के गर्नुपर्छ भन्ने कुरा पनि स्पष्ट छ । खोपमा हाम्रो सीमितता होला, तर कन्ट्याक ट्रेसिङ, परीक्षणजस्ता कुरालाई निःशुल्क गर्न राज्य अक्षम छैन । यसका लागि सरकार र राजनीतिक तहबाट प्रतिबद्धता आउनुपर्‍याे र व्यवहारमा पनि देखिनुपर्‍याे । राजनीतिक तहबाट यस्ता निर्णय आउने र पालना हुने हो भने महामारी नियन्त्रण गर्न असम्भव छैन ।

संक्रामकरोग विशेषज्ञ डा. अनुप सुवेदीसँग पवन बराइलीले गरेको कुराकानीमा आधारित