१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नियमविपरीत सेयर कारोबारमा नाम मुछिएपछि नेप्से प्रमुख साउदले दिए राजीनामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:३१:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सिइओ चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन् । नियमविपरीत सर्वोत्तम सिमेन्टमा लगानी गरेका र पदमा रहेकै अवस्थामा आफ्नै कम्पनीबाट सेयर बजारमा लगानी गरिरहेको खबर सार्वजनिक भएपछि उनले अवकाश हुनुभन्दा दुई महिनाअघि राजीनामा दिएका हुन् ।

अर्थ मन्त्रालयले समेत समिति बनाएर यस सम्बन्धमा छानबिन गरिरहेको छ । चारवर्षे कार्यकालका लागि नियुक्त पाएका साउदको कार्यकाल आगामी २२ असोजमा सकिँदै छ । ‘अहिले छानबिन समिति बनेर यो विषयमा अध्ययन भइरहेको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘विषय गम्भीर भएकैले समिति नै बनाएर अध्ययन भइरहेको हो ।’

साउदले बुक बिल्डिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर अगाडि नै लिएर प्रक्रियालाई प्रभावित पारेको आरोप लागेको छ । उनले पत्नी सुशीलाको नाममा सर्वोत्तमको १० हजार कित्ता सेयर लिएको देखिन्छ, जुन बोनससमेत थपिएर ११ हजार ९ सय १२ कित्ता पुगेको छ । 

नयाँ पत्रिकाले समेत उनले पदमा बहाल रहेकै अवस्थामा चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट कम्पनीको नामबाट सेयर बजारमा लगानी गरिरहेको तथ्य सार्वजनिक गरेको थियो । नेप्सेमा नियुक्ति हुनुअघि सो कम्पनीमा अध्यक्षका रूपमा रहेका साउदले नियुक्तिसँगै अध्यक्षबाट राजीनामा दिए पनि उनकी श्रीमती सोही कम्पनीमा सञ्चालक रहेकी थिइन् । साउदको इन्भेस्टमेन्ट कम्पनीले सेयर बजारमा लगानी गर्ने अर्को कम्पनी मार्केट पुण्डित क्यापिटल एन्ड मर्चेन्ट बैंकिङ लिमिटेडमा पनि लगानी गरेको तथ्य नयाँ पत्रिकाले सार्वजनिक गरेको थियो । 

हाल ५ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको मार्केट पुण्डितमा चार्टर्ड क्यापिटलको करिब ४ प्रतिशत सेयर लगानी रहेको छ । त्यस्तै, कम्पनीले ३ करोड ७६ लाखको सेयर बिक्री गरेको छ भने १ करोड ५५ लाख रुपैयाँको सेयर खरिद गरेको छ । कम्पनीसँग ०७७ मंसिरसम्म ८ करोड ३ लाख रुपैयाँबराबरको सेयर रहेको देखिएको छ ।

सर्वोत्तम सिमेन्टको सेयरमा भएको ट्रेडिङमा भने धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको समेत नाम आएको छ । ढुंगानाले पनि आफ्नी दुई छोरी प्रत्येकको नामबाट ११ हजार ९ सय १२ कित्ता दरमा सेयर पाएका छन् । यद्यपि, ढुंगानाले हालसम्म राजीनामा दिएका छैनन् । संसद्को अर्थसमितिले ढुंगाना र साउद दुवैलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने माग गरेका थियो । 

ad
ad