मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
बुद्धिनारायण श्रेष्ठ
२०७८ भदौ ८ मंगलबार १०:१९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

तुइनको तारडोरीमा अल्झेको जीवन

बहस

Read Time : > 5 मिनेट
बुद्धिनारायण श्रेष्ठ
२०७८ भदौ ८ मंगलबार १०:१९:००

दार्चुलामा भारतीय एसएसबीले तुइन फुस्काएको घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन प्रस्तुत गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा बनेको समितिले क्षेत्रगत अध्ययन अनुसन्धान गरीे प्रतिवेदन बुझाउने थप अवधि १ भदौसम्म थियो । तर, छानबिन टोलीले यी हरफ लेख्दासम्म प्रतिवेदन बुझाएको पाइएको छैन । खासमा जयसिंह धामीको खोजीलाई प्राथमिकता दिइएकाले र भारतीय एसएसबीको संलग्नताबारे कति बोल्ने भन्नेबारे निधो नगरिएकाले प्रतिवेदन अड्किएको अनुमान छ ।

प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुन सक्छ । सत्यतथ्य विवरणको प्रतिवेदन तयार हुँदा त्यसले सरकारमाथि जनताको विश्वास रहन्छ । स्थानीयका अनुसार एसएसबीले तुइनको डोरी फुस्काएको प्रतिवेदन आउँदा नेपाल–भारत सम्बन्धमा खलल पर्दैन, नफुस्काएको बनावटी विवरण उल्लेख गर्दा पनि दुई देशको सम्बन्ध ह्वात्तै बढ्दैन । सत्य सदा सत्य नै रहन्छ । व्यास क्षेत्रका मलाई चिनेका तर मैले नचिनेकाहरूले जिज्ञासा गरिरहेकाले यी हरफ कोर्न लागेको छु । 

दार्चुला व्यास गाउँपालिका–२ राङथाङ बस्तीनिवासी ३३ वर्षीय जयसिंह धामी नेपाल र भारतबीच बग्ने महाकाली नदीमाथि टाँगिएको तुइनडोरीको सहायताले नेपाली नदी किनारबाट भारतीय किनारातिर तानिदै थिए । टुँडी रूखको फेदमा बेरिएको तारडोरी भारतीय एसएसबीका जवानले फुस्काइदिँदा डोरी नदीको पानीमा लत्रिन पुग्यो । त्यही तारडोरीमा अडिएका धामी पानीमा बजारिए । उनलाई पानीको वेगले बगाएर कता पु¥यायो कता, तीन हप्ता बितिसक्यो, उनको लास अझै पत्ता लाग्न सकेको छैन । धामी भारतीय भूमिमा पुग्न दुई मिटरको मात्र फासला बाँकी थियो ।

तुइनमा मान्छे छ भन्दै नेपालतिरबाट चिच्याउँदाचिच्याउँदै अटेर गरी धामी आइपुग्न लागेको देख्दादेख्दै पनि एसएसबीले नेपालीको ज्यान लियो । यो कार्य अमानवीय, ज्यानमारा र अनुचित रहेको अहिले नेपाली र भारतीय सीमावर्ती जनताले भनिरहेका छन् । ०५० सालयता महाकाली नदीमाथिबाट तुइन तर्ने क्रममा २६ जनाले ज्यान गुमाइसकेका छन् । अझ कतिले गुमाउने हुन्, थाहा छैन । सीमाञ्चल क्षेत्रमा किन यस्ता जघन्य अपराध वेलाकुवेला गरिन्छन् ? के यस्ता घटना÷दुर्घटना रोक्न सकिँदैन ? यसको जवाफ सीमावर्ती जनतालाई कसले दिने हो ? नेपाली जनता यसको तथ्य जान्न उत्सुक छन् ।

भारतीय असहयोग : एक, मानिस आइरहेको छ भनेर कराउँदाकराउँदै पनि भारतीय एसएसबीले तुइन फुस्काई असहयोग गर्‍यो । दुई, मृतक जयसिंह धामीको शव खोज्न घटनास्थल पुगेको गृह सहसचिवको टोलीलाई महाकालीपश्चिम भारतीय नदी किनारमा क्यामेरायुक्त ड्रोन उडाएर खोजी गर्ने अनुमति नदिई भारतले असहयोग गर्‍यो । साउन २७ गते नेपाली पक्षले आफ्नो तर्फका नदी किनारैकिनार ३५ किलोमिटरसम्म ड्रोन उडाउँदा भारतले निगरानी बढाएको थियो । तीन, तुइन फुस्काइएको हो–होइन भनी सोधखोज गर्नुपर्नेमा उल्टै तुइन काटेको हल्ला फिजाएको भन्दै धार्चुला तहसिल पांगा क्षेत्रका तीनजना भारतीय नागरिकलाई भारतले कारबाही गर्‍यो ।

भनिन्छ, नेपाल र भारतबीच जनस्तरमा पनि गाढा सम्बन्ध छ । तर, तुइनमा झुन्डिएको सीमाञ्चलको सम्बन्ध अहिले छटपटिइरहेको अवस्थामा छ । यस्तो छटपटीलाई दुवै देश मिलेर कसरी शमन गर्न सकिन्छ भन्ने आपसी बलियो र भरपर्दो संयन्त्र निर्माण गर्न सरकार लागिपर्नु पर्छ ।

चार, दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतीय समकक्षी डिस्ट्रिक्ट मजिस्ट्रेट आनन्द स्वरूपलाई पठाएको १५ साउनको पत्रको जवाफमा खोजतलासै नगरी घटनामा एसएसबीको संलग्नता नभएको भन्ने जवाफ पठाइयो । पाँच, मृतक धामीका आफन्तले घटनाको छानबिन गरिपाऊँ भनी महाकालीपारि भारतको पाङ्ला ठानामा घटना भएको तेस्रो दिनमा निवेदन दिएकोमा यसबारे केही कारबाही गरेनन् । सोधखोज गर्ने चासो नै देखाइएन ।

छ, जयसिंह धामीलाई महाकालीको पानीमा खसाएपछि ती धामीभन्दा अगाडि तुइन तरेका प्रत्यक्षदर्शी कल्याणसिंह धामी तथा ७० वर्षीय गौरसिंह धामीले तुइन फुस्काउने दुईजना एसएसबी ब्यारेकतर्फ भागेको देखेका थिए । सात, नेपालबाट महाकालीपारि जाने १० तुइन विस्थापित गरी झोलुंगे पुल बनाउन नेपालले प्रस्ताव गरे तापनि भारतले चार ठाउँ (मालघाट, मेलघट्टे, बडुगाउँ मालिकार्जुन र बाँकु)मा मात्र सहमति दिएको थियो । आठ, मालघाटमा पुलको शिलान्यास भएपछि भारतततर्फ लठ्ठा बनाउन नदिएपछि काम रोकिएको छ । पुल बनाउँदा नेपाल र भारत दुवैतिर पर्ने भएकाले भारतको सहमति आवश्यक पर्ने हुन्छ । 

नेपालको निरीहता : एक, सरकारले तीन वर्षअघि मालघाट (अहिले तुइन काण्ड भएको स्थान) मा तीन करोडको लागतमा झोलुंगे पुल बनाउन ठेक्का लगाएको थियो । तर, ठेकदारले पारिपट्टि काम गर्न दिइएन भनी अहिलेसम्म काम सुरु गर्न नै सकेको छैन । सरकारी संयन्त्रबाट यसमा पहल हुन नसकेको बुझिन्छ । दुई, तुइन जोड्न नदिएपछि त्यस क्षेत्रमा खाद्यान्नको अभाव भएको छ । पारिबाट ल्याउन सम्भव भएको छैन, सरकारले खाद्यवस्तु उपलब्ध गराउन सकेको छैन । तीन, १२ वर्षअघि शिलान्यास भएको दार्चुला–टिंकर सडक निर्माण हुन सकेको छैन ।

सरकारको प्राथमिकतामा नपरेकाले अहिले धामीजस्ता व्यास क्षेत्रका जनता भारततर्फ आवागमन गर्ने क्रममा तुइनको जोखिममा परेका छन् । चार, ०७२ असोज २२ मा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि देशभर रहेका तुइन, साँघु, फट्केलाई विस्थापित गरी झोलुंगे पुल बनाइने प्रचार गरेका थिए । नयाँ सरकार गठन भएको एक वर्ष भएको अवसरमा ०७५ फागुन २ मा प्रधानमन्त्री ओलीले आफूले  सुरु गरेको तुइन विस्थापित गर्ने अभियान अन्तिम चरणमा पुगेको बताएका थिए । तर, माथिल्लो व्यास क्षेत्रमा झोलुंगे पुल बन्न सकेन । फलस्वरूप जयसिंह धामी महाकाली नदीभित्र कालको मुखमा परे । पाँच, हालका प्रधानमन्त्री शेरबहादुर देउवा दार्चुला घटनालाई गम्भीर रूपमा लिएको छु भन्छन् । तर, उनले खास कदम उठाएका छैनन् । छ, प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा अन्तर्राष्ट्रिय समितिमा के कारण कसरी घटना हुन पुग्यो र मृतक धामीको शव पत्ता लगाउने काम सम्बन्धमा सरकारको जवाफ मागिएको छ । तर, यस सम्बन्धमा छिमेकीले असहयोग गरेको कुरामा सरकार मौन छ । सरकार निरीह भएको बुझ्न सकिन्छ ।

एसएसबीका कारण नेपाली नागरिक धामीको ज्यान गयो भनी देश–विदेशमा रहेका नेपाली समुदायले विरोध गरेपछि त्यसको प्रतिशोधस्वरूप तुइनमार्गमा भारतले नाकाबन्दी गरेको स्थानीय जनमानसमा परेको छ 

तुइनमार्गमा नाकाबन्दी : गृह मन्त्रालयबाट छानबिन टोली घटनास्थलमा पुग्ने क्रममा भारतीय पक्षले साउन २८ देखि माथिल्लो व्यास क्षेत्रको तुइनमार्गमा नाकाबन्दी गरेको छ । कल्यानसिंह धामीले दशकौँदेखि मालघाटमा हिउँदमा रु ५० र वर्षात्मा १०० शुल्क लिएर तुइन तार्ने काम गर्दै आइरहेका छन् । परम्परागत रूपमा चलनचल्तीमा रहेका तुइनमार्गमा रोक लगाउँदा दुवै देशबीचका मानवीय व्यवहार र भाइचाराको नाता रहन्छ–रहँदैन भन्नेमा दुवैतर्फकाले ध्यान पुर्‍याउनुपर्छ ।

व्यास गाउँपालिकामा गाटीबगर, कुल्जु, घट्टेखोला, तल्लो दुम्लिन, रिठान, बिन्दला, मालघाट, बतीबगर, मेलघट्टे र दोकटमा गरी १० स्थानमा तुइन रहेका छन् । यी स्थानका सीमावर्ती जनता महाकाली नदीमाथिको फलामे तारमा झुन्डिएर सीमा वारपार गर्नुपर्ने बाध्यतामा छन् । व्यास गाउँपालिकाबाट सदरमुकाम खलंगा जान नेपालको बाटोबाट डेढ दिन पैदल हिँड्नुपर्छ । तुइन तरी भारत भएर जाँदा मोटर चढेर डेढ घन्टामा पुगिन्छ । भन्न त नेपाल–भारत सीमा खुला छ, एकआपसका जनता दुवैतिर ओहोरदोहोर गर्न सक्छन् भनिन्छ, तर भारतीय व्यवहारमा यस्तो देखिँदैन । एसएसबीका कारण नेपाली नागरिक धामीको ज्यान गयो भनी देश–विदेशमा रहेका नेपाली समुदायले विरोध गरेपछि त्यसको प्रतिशोधस्वरूप तुइनमार्गमा भारतले नाकाबन्दी गरेको स्थानीय जनमानसमा परेको छ ।

अन्य केही घटना : कञ्चनपुर जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिका वडा नं. ८ मा नेपालीहरूले कच्ची बाटो र कलभर्ट निर्माण गर्ने क्रममा नेपालतर्फबाट भारतीय एसएसबीलाई जानकारी गराई सहमति लिइएको थियो । तर, ०७३, २६ फागुनमा एसएसबीका २०–२५ जवान अचानक आएर गुगल नक्साअनुसार यो भारतीय भूमि पर्छ भन्दै निर्माण भइसकेको कलभर्टको इँटा उप्काउन थालेपछि नेपाली र भारतीय पक्षबीच विवाद भयो ।

ढुंगा हानाहानको सिलसिलामा भारतीय एसएसबीका थानेदार सइ अरविन्दकुमार शुक्लालाई छातीमा ढुंगाले लाग्यो । शुक्ला आवेशमा आई आफ्नो पेस्तोलबाट गोली चलाए । उनले प्रहार गरेको तीन गोलीसम्म कसैलाई लागेन । तर, चौथो गोली भिडभाडभन्दा निकै पर रहेका गोविन्द गौतमलाई लाग्यो । उनी कलभर्टभन्दा ६०–७० मिटर नेपालतर्फ ढले, उनको प्राण गयो । निकै दिनसम्म हल्लाखल्ला भयो । घटनामा मारिएका गोविन्द गौतमका परिवारलाई सरकारका तर्पmबाट तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे, घटना सामसुम भयो ।

यो घटना हुनुको मूल कारणचाहिँ जंगे खम्बा नम्बर २०० लोप हुन गएकाले हो । आनन्दबजारनजिक दुम्के डाँडा (कारगिल डाँडा) भनिने क्षेत्रको दक्षिणमा खम्बा नं. २०० खडा रहनुपर्ने हो । तर, त्यो स्तम्भ दशकौँअघि भत्काई लोप गरिएकाले वेलाबखत वादविवाद हुने गथ्र्याे । जंगे खम्बा त्यहाँ खडा भइरहेको भए सायद नेपालीको ज्यान जाने थिएन होला । कञ्चनपुर सीमा घटनाको समाधान गर्न र यो नै घटना अन्तिम पार्न आनन्दबजार दक्षिणको लोप भएको जंगे सीमाखम्बा नं. २०० र अन्य क्षेत्रका यसैगरी हराएका र नासिएका सीमाखम्बा दुवै देशका प्राविधिकको उपस्थितिमा अविलम्ब यथास्थानमा स्थापना गरिनुपर्ने हो । तर, हालसम्म पुनस्र्थापना हुन सकेको छैन ।

भारतीय एसएसबीको नेपालीप्रतिको दुव्र्यवहार उल्लेख गर्दा ०६७, १२ जेठमा मोरङको खयरबना सीमा–नाकाबाट दुई सय मिटर नेपालतर्फ आएर भारतीय एसएसबी इन्स्पेक्टर हितेन्द्र सिंहले मादक पदार्थ सेवन गरी सर्वसाधारणलाई पेस्तोलबाट गोली प्रहार गर्दा आफ्नो घरको पिँढीमा बसिरहेका अमाहिवरियाती वडा–७ का ५५ वर्षीय वासुदेव साहलाई गोली लागेर पिँढीमै मृत्यु भएको घटना पनि सम्झना आउँछ । बर्दिया जमुनी–९ का ५० वर्षीय हर्कबहादुर शाहीले एसएसबी जवानलाई नेपाली जंगलमा सिकार खेल्न रोक लगाएकाले नेपाल–भारत सीमाको ४३ र ४४ नं. जंगे खम्बाबीचमा भारतीय जवानले त्यसै वर्षको ११ चैतमा शाहीलाई गोली हानेर मारेका थिए । 

अन्तमा, तुइन काण्डको छानबिन गर्न गएको टोलीले ढिलोचाँडो प्रतिवेदन बुझाइसकेपछिको अवस्था के होला त ? मृतक धामीको परिवारलाई १० लाख रकम क्ष्तिपूर्तिस्वरूप दिइएला, समय बितेपछि घटना सेलाउँछ अनि सबै चुपचाप । जुनसुकै घटनाका समय हामी बेस्मारी कराउँछौँ, विरोध गर्छौं । तर, भविष्यमा यस्ता घटना नदोहोरिने संयन्त्र विकास गरिँदैन । भनिन्छ, नेपाल र भारतबीच जनस्तरमा पनि गाढा सम्बन्ध छ । तर, तुइनमा झुन्डिएको सीमाञ्चलको सम्बन्ध अहिले छटपटिइरहेको अवस्थामा छ । यस्तो छटपटीलाई दुवै देश मिलेर कसरी शमन गर्न सकिन्छ भन्ने आपसी बलियो र भरपर्दो संयन्त्र निर्माण गर्न सरकार लागिपर्नु पर्छ । सीमाञ्चल क्षेत्रका जनता अनाहकमा मर्नुपर्दैन भन्ने प्रत्याभूति सरकारले दिनुपर्छ ।