१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार o७:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

तालिबानको कब्जापछि अफगानिस्तानको  खेल क्षेत्र के हुन्छ भन्ने अन्यौल 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:१२:oo

दुई दशकपछि विद्रोही समूह तालिबानले अफगानिस्तानमाथि पुनः कब्जा जमायो । तालिबानविरुद्ध प्रतिकार गर्न नसक्दा राष्ट्रपति असरफ घानी युएईको शरण लिन पुगे । तालिबान पुनः शक्तिमा आएपछि अफगानिस्तानको सबै क्षेत्रमा अन्यौल छाएको छ । यद्यपि, तालिबानले राष्ट्रपति कार्यालयभित्र प्रवेश गरेलगत्तै कुनै पनि क्षेत्रमा हस्तक्षेप नगर्ने घोषणा भने गरेको छ । 

तालिबानको यो घोषणासँगै अफगान नागरिकहरू केही सयम खुसी पनि भएका थिए । तिनले कम्तीमा यसपटक तालिबान भद्र र नरम रूपमा प्रस्तुत भएको आभास गरे । तर, उनीहरूले भोलिपल्टै वाचा तोडेका छन् । उनीहरूले सञ्चारकर्मी तथा अन्य पेसामा रहेका महिलालाई जागिरबाट निष्कासन गर्न थालेका समाचार सार्वजनिक भएका छन् । यी घटनाबाट तालिबानको नीति केही परिवर्तन नभएको स्पष्ट पारेको छ । 

क्रिकेटरद्वारा शान्ति पुनर्स्थापना गर्न आह्वान
यसैबीच, विश्व खेलकुद क्षेत्रमा अफगानिस्तानको खेल गतिविधि पुरानै अवस्थामा फर्कने त होइन भनेर चिन्ता जताउन थालिको छ । क्रिकेटदेखि करातेसम्मका खेलाडीले अफगानिस्तानको खेल रक्षा गर्न विश्व समुदायसमक्ष अपिल गरेका छन् । अफगानी क्रिकेटर रसिद खानले द हन्ड्रेड बलमा सहभागी जनाइरहेकै वेला सामाजिक सञ्जालमा विश्वका नेताहरूलाई अफगानिस्तानमा शान्ति पुनस्र्थापना गर्न आह्वान गरेका छन् । उनी वर्तमान समयकै असाध्यै राम्रा अलराउन्डरमा गनिन्छन् । उनले विशेषतः तालिबानको अत्याचारबाट बालबच्चादेखि महिलाको सुरक्षा गर्न आग्रह गरेका छन् । 

रसिदले सबैसँग अपिल गर्नुको खास कारण छ । सन् १९९६ देखि २००० सम्म तालिबान सत्तामा रहँदा त्यहाँको खेलकुद अवस्था कस्तो थियो भन्ने उनलाई राम्रैसँग थाहा छ । यसकारण पनि उनी बढी नै निराश बनेका हुुन् । दुई दशकअघि सत्तामा तालिबान रहँदा कुनै पनि खेलकुद गतिविधि हुन सकेनन् । एक किसिमले त्यसवेला सबै किसिमका खेल गतिविधि प्रतिबन्ध थियो । 

अफगानी खेलाडीहरू घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्ष वञ्चित भएका थिए । क्रिकेट तथा फुटबल मैदानमा त्यसताका केवल गोलीका छर्रा मात्र हुन्थे । खेलाडीले राम्रो नतिजा निकाले कठोर सजाय भोग्नुपथ्र्यो । अमेरिकी तथा बहुराष्ट्रिय सेनाले तालिबानलाई हटाएपछि अफगानिस्तानमा नयाँ सरकार बन्यो । सन् २००४ पछि अफगानिस्तानले बिस्तारै अन्तर्राष्ट्रिय खेलकुदमा पाइला राख्यो । यो १७ वर्षमा अफगानी खेलाडीले गृष्मकालीन ओलम्पिकदेखि क्रिकेट विश्वकपमा तहल्का नै मच्चाए । 

ओलम्पिकमा अफगानिस्तानले दुई कांस्य नै जित्यो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) तथा एसियन क्रिकेट महासंघ (एसिसी)मा आबद्ध भएको छोटो समयमै आफगानिस्तानी क्रिकेट टोलीले एकदिवसीय तथा टेस्ट मान्यता प्राप्त ग¥यो । एसोसिएट राष्ट्रबाट छोटो समयमै यी दुवै मान्यता पाउने टोलीमा अफगानिस्तान पर्छ । 

टी–२० विश्वकप, एकदिवसीय तथा एसिया कपजस्तो इभेन्ट्समा अफगानिस्तानले निरन्तर स्थान बनाइरह्यो । शारीरिक रूपमा बलिया तथा अग्ला कदका अफगानी फुटबल खेलाडीले दक्षिण एसियाली क्षेत्रमा राम्रो पकड जमाए । सार्क क्षेत्र परित्याग गर्नुअघिसम्म अफगानिस्तानलाई उपाधि दाबेदार टोलीकै रूपमा हेरिएको थियो । 

यो १७ वर्षमा अफगानिस्तानले पुरुषसँगै महिला खेलाडीलाई पनि उत्तिकै प्राथमिकतामा राख्यो । महिला खेलाडीलाई पनि विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउँदै घानी सरकारले एउटा नमुना नै प्रस्तुत गर्‍यो । अब यी सबै असफलता फेरि इतिहासको पानामा सीमित हुने छाँटकाँट देखिन्छ । अन्य क्षेत्रमा झैँ तालिबान विद्रोहीहरूले खेल क्षेत्रमा पनि हस्तक्षेप गरिरहेको समाचार आइरहेका छन् । करातेकी च्याम्पियन मीना असादीले अफगानिस्तानको अस्तित्व नै धरापमा परेको प्रतिक्रिया दिएकी छन् । उनी अहिले इन्डोनेसियामा शरणार्थीहरूलाई प्रशिक्षण दिइरहेकी छन् । ‘अहिलेसम्म खेलकुदमा हामीले प्राप्त गरेको सफलता ध्वस्त हुनेछ, खेल क्षेत्र पुनः एकपटक अँध्यरोतर्फ धकेलिनेछ,’ चिन्ता व्यक्त गर्दै मीनाले भनिन् ।

अफगानिस्तानबाट पहिलो महिला खेलाडीका रूपमा पारा ओलम्पिकमा भाग लिएकी तेक्वान्दो खेलाडी जाकियाले पनि अफगानिस्तानमा सबै समाप्त भएको बताएकी छन् । ‘अब महिला खेलाडी घरभित्र थुनिनेछन्,’ जाकिया भन्छिन्, ‘उनीहरूको स्वभाव परिवर्तन हुनेछैन, हामी १७ वर्षअघिकै अवस्थामा पुगेका छौँ ।’

अन्तर्राष्ट्रिय खेलकुदमा अफगानिस्तान

क्रिकेटदेखि करातेसम्मका खेलाडीले अफगानिस्तानको खेल क्षेत्र रक्षा गर्न विश्व समुदायसमक्ष अपिल गरेका छन् । अलराउन्डरमा गनिने अफगानी क्रिकेटर रसिद खानले द हन्ड्रेड बलमा सहभागी जनाइरहेकै वेला सामाजिक सञ्जालबाटै विश्वका नेताहरूलाई अफगानिस्तानमा शान्ति पुनस्र्थापना गर्न आह्वान गरेका छन् ।

ओलम्पिक
अफगानिस्तान सन् १९३६ देखि ओलम्पिकमा सहभागिता जनाएको राष्ट्र हो । बर्लिनमा सम्पन्न ओलम्पिकमा अफगानिस्तानका १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सन् १९९६ देखि २००० सम्म विद्रोही लडाकु तालिबानले सत्ता चलाउँदा अफगानिस्तानले सिड्नी ओलम्पिकमा भाग नै लिएन । तालिबान हटेपछि निरन्तर उपस्थिति जनाइरहेको छ । सन् २००८ को बेइजिङ ओलम्पिकमा अफगानिस्तानले पहिलोपटक पदक हात पार्‍यो । तेक्वान्दोको ५८ केजी तौल समूहमा रोहुल्लाह निक्पईले ओलम्पिकमा पहिलो पदकका रूपमा कांस्य दिलाए । यस्तै, सन् २०१२ को लन्डन ओलम्पिकमा पनि रोहुल्लाहले नै तेक्वान्दोमै ६८ केजी तौल समूहमा कांस्य दिलाए । यसै महिना सम्पन्न टोकियो ओलम्पिकमा अफगानिस्तानका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

एसियन गेम्स
सन् १९३५ मा अफगानिस्तान ओलम्पिक कमिटी गठन भयो । त्यसको एक वर्षपछि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले अफगानिस्तानलाई मान्यता दियो । सन् १९५१ मा नयाँदिल्लीमा सम्पन्न पहिलो संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा अफगानिस्तानले भाग लियो । 

सन् १९५४ को मनिला एसियाडमा अफगानिस्तानले रजत जित्यो । अफगानिस्तानले सन् १९७०, १९७८, १९८६, १९९० र १९९८ का संस्करणमा भाग नै लिएन । सन् २००२ यताको एसियाडमा अफगानिस्तानले निरन्तर रूपमा भाग लिइरहेको छ । एसियाडमा अफगानिस्तानले पाँच रजत तथा आठ कांस्य जितेको छ । समग्र पदक तालिकामा अफगानिस्तान ३८औँ स्थानमा छ । 

एसियन बिच र इन्डोर
सन् २००८ मा इन्डोनेसियाको बालीमा भएको एसियन बिचमा अफगानिस्तानले एक स्वर्ण तथा कांस्य जितेको थियो । एसियन बिच प्रतियोगितामा अफगानिस्तानले दुई स्वर्ण, दुई रजत तथा ६ कांस्य हात पारेको छ । अफगानी खेलाडीले एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्समा पनि भाग लिँदै पदक जितेका छन् । सन् २००७ मा मकाउमा भएको एसियन इन्डोर तथा मार्सल आर्टस्देखि अफगानी खेलाडीको उपस्थिति देखियो । अहिलेसम्म पाँच संस्करणमा अफगानी खेलाडी रित्तो हात फर्केएका छैनन् । यस प्रतियोगितामा अफगानिस्तानले तीन स्वर्ण, पाँच रजत तथा २३ कांस्य हात पारेका छन् । 

साग खेलकुद
सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा अफगानिस्तानलाई नयाँ सदस्यका रूपमा स्वागत गरियो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलले अफगानिस्तानलाई समावेश गरेपछि प्रतियोगितालाई छोटकरीमा साग गेम नाम दिइयो । यसअघि यो खेलकुदलाई साफ भन्ने गरिन्थ्यो । सागमा अफगानिस्तानले बलियो उपस्थिति देखायो । तेक्वान्दो, कराते, जुडो तथा बक्सिङजस्ता खेलमा अफगानिस्तानी खेलाडीको दबदबा रह्यो । सागमा चारपटक भाग लिँदा अफगानिस्तानले २० स्वर्ण, २६ रजत तथा ५४ कांस्यका साथ अहिलेसम्म सय पदक जितेको छ । सागको पदक तालिकामा अफगानिस्तान छैटौँ स्थानमा छ । सन् २००६ को कोलम्बो सागमा आफ्नो पहिलो सहभागितामै अफगानिस्तानले ६ स्वर्ण जित्यो । 

साफ च्याम्पियनसिप
अफगानिस्तान सन् २०१३ को काठमाडौंमा सम्पन्न दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) च्याम्पियन नै बन्यो । सार्क क्षेत्रमा फुटबलको नयाँ बादसाहका रूपमा अफगानिस्तान उदायो । साफ च्याम्पियनसिपमा अफगानिस्तान सन् २०११ र २०१५ को संस्करणमा उपविजेता बन्यो । अफगानिस्तान फुटबलको स्तर बढाउन सार्क क्षेत्र त्यागेर सेन्टर एसियन फुटबल जोनमा आबद्ध छ । 
 

ad
ad