१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन लोचनमगर रोल्पा
२o८१ बैशाख २० बिहीबार १७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ठेकेदार भागेपछि पुल निर्माणकार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

Read Time : > 1 मिनेट
नवीन लोचनमगर रोल्पा
नयाँ पत्रिका रोल्पा
२o८१ बैशाख २० बिहीबार १७:३४:oo

रोल्पाको घोडागाउँ र प्युठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्युठानको सिमानामा पर्ने घोडेखोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको छ।

रोल्पाको रोल्पा नगरपालिका, रुन्टिगढी गाउँपालिका हुँदै दाङको घोराहीसम्म जाने छोटो सडकमा पर्ने घोडेखोलामा पानीको बहाब बढेसँगै आवतजावत गर्न थप समस्या भएको छ।

तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएका जलजला आसु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले  समयावधिभन्दा अगाडि नै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए। तर, सम्झौताअनुसार काम गर्ने समय दुई महिना मात्र बाँकी हुँदासम्म निर्माणकार्य अझै ७० प्रतिशतभन्दा बढी बाँकी छ।

दुई करोड ५९ लाख २२ हजार लागतमा कन्स्ट्रक्सनका सञ्चालक श्रेष्ठले निर्माणको जिम्मा लिई पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए। पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माणकार्य हाल अलपत्र परेको छ।

विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन्। यो वर्ष पक्की पुल बन्ने आसमा रहे पनि अब भने अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको स्थानीय भूपेन्द्र कुँवरले बताए। उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन्। ठेकेदारले स्थानीय पसल र होटेलको उधारोसमेत तिरेका छैनन्।

दैनिक सयौँ मानिस घोडेखोला तरेर वारपार गर्छन्। नजिकको किमीचौर, भिंग्री पुग्न पनि घोडेखोला तर्नैपर्छ। घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेर काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अनाहकमा ज्यान जान सक्ने खतरा बढेको छ।

समयमै ज्याला नपाएपछि श्रमिकले काम छोडेका छन् भने तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेललाई साक्षी राखेर निर्माणकार्य मितिअगावै सम्पन्न गरेर बोनस खाने प्रतिबद्धता जनाएका कम्पनी सञ्चालक पनि बेखबर छन्। स्थानीय समुदायका लागि निकै महत्व राख्ने यस्ता योजना अलपत्र हुँदा पनि कसैले वास्ता नगरेको भन्दै स्थानीय आक्रोशित छन्।

ad
ad