मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २७ बुधबार ०७:३३:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

देवेन्द्र थुम्केलीको ‘कलाकार जीवनवृत्त’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २७ बुधबार ०७:३३:००

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीको जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा उनले राजनीति, साहित्यलगायतका विधामा लेख्ने धेरै भए पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको बताए । कुलपति कर्माचार्यले भने, ‘कलाकारका सिर्जनालाई दस्ताबेजका रूपमा संग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै आएको तथा पुस्तक प्रकाशन गर्दै आएको छ । आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ ।’

यस्तै प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सक्यो त्यो कलाक्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे । उनले प्रतिष्ठानले कलालेखन तथा अनुसन्धानका कामलाई महत्व दिएको बताए । सदस्यसचिव घिमिरेले लेखकलाई कलाकारको जीवनी लेखेर प्रकाशनमा ल्याएकोमा बधाई तथा शुभकामना दिए । 

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए । उनले प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकारका बारेमा अझ खोज र अनुसन्धान गराई लुकेर रहेका प्रतिभाशाली कलाकारको दस्ताबेजीकरणसँगै योगदानको उचित मूल्यांकन गर्नुपर्ने विचार व्यक्त गरे । 

समालोचक तेजविलास अधिकारीले नेपाली कला इतिहासलाई व्यवस्थित ढंगले लेख्नुपर्ने आवश्यकता रहेको धारणा राखे । उनले प्रामाणिक रूपमा नेपालमा एक हजार वर्षभन्दा पुरानो चित्रकलाको परम्परा रहेको जनाउँदै कलाको सही र व्यवस्थित ढंगले दस्ताबेजीकरण नहुँदा सयौँ अज्ञात कलाकारको योगदानलाई सम्झन नसकिएको बताए । उक्त कृतिमा २०१४ साल र २०३६ सालबीचमा जन्मिएका कलाकारलाई लेखकले चित्रण गरेका छन् ।