१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस परीक्षा केन्द्रमा आइतबार परीक्षा दिन आएका विद्यार्थी । तस्बिर: संजित परियार/नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड त्रासमै त्रिविका परीक्षा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१४:oo

कोभिड–१९ को महामारीबीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा भिडभाडमै सञ्चालन भइरहेका छन् । त्रिविका डिन कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयको समन्वयविनै तीन सिफ्टमा चलेका परीक्षा व्यवस्थित गर्न क्याम्पस प्रशासनलाई हम्मेहम्मे परेको छ ।  एउटा बेन्चमा दुईजना विद्यार्थी राख्नुका साथै एउटा सिफ्टको परीक्षार्थीले परीक्षा हलबाट बाहिरिएपछि निसंक्रमण गर्नुपर्नेमा त्योसमेत नगरी भिडभाडमा परीक्षा सञ्चालन भइरहेका छन् ।

बहुमुखी क्याम्पसहरू धेरै संकायका परीक्षा बिहान ७, ११ र दिउँसो १ बजे गरी तीन सिफ्टमा परीक्षा सञ्चालन गर्न बाध्य भएका छन् । परीक्षा अव्यवस्थित हुँदा विद्यार्थीले त्रासमै परीक्षा दिनुपरेको गुनासो गरेका छन् । स्नातकोत्तर तह पहिलो वर्षमा साढे दुई लाख र स्नातकोत्तर तहको सेमेस्टरमा २० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएका छन् । 

त्रिविका आंगिक क्याम्पसमा क्षमताभन्दा दोब्बर र तेब्बर परीक्षार्थी हुँदा स्वास्थ्य मापदण्ड पालना हुन नसकेको क्याम्पस प्रमुखहरूको गुनासो छ । नेपाल पब्लिक युथ क्याम्पस प्रमुख बलराम केसीले विद्यार्थी संख्या धेरै भएकाले भौतिक दूरी कायम गर्न नसकेको बताए । ‘एउटा कक्षामा २० जना राखेर परीक्षा सञ्चालन गर्दा पब्लिक युथमा दुईजनाको परीक्षा सञ्चालन गर्न सक्छौँ,’ क्याम्पस प्रमुख थापाले भने, ‘हामीले दुई सय विद्यार्थी मागेका थियौँ, परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयले पाँच सय विद्यार्थी पठाए ।’ भौतिक दूरी कायम गर्नेबाहेकमा परीक्षा व्यवस्थित रूपमा सञ्चालन भएको उनले बताए । 

त्रिविका आंगिक क्याम्पसहरू पाटन संयुक्त, पद्मकन्या, रत्नराज्य लक्ष्मीलगायतका क्याम्पसमा परीक्षा निकै भिडभाडमा सञ्चालन भएको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत एउटा बेन्चमा दुईजना परीक्षार्थी राखेर परीक्षा सञ्चालन भइरहेको छ । रत्नराज्यलक्ष्मी क्याम्पसमा ८० जना, पद्मकन्यामा डेढ सयसम्म, पाटन संयुक्त क्याम्पसमा ६० जनाभन्दा बढी विद्यार्थी एउटै हलमा राखेर परीक्षा सञ्चालन भइरहेको छ । 

सकेसम्म व्यवस्थित गर्ने  प्रयास भएको छ

प्रा.डा.शिवलाल भुसाल, रेक्टर

 धेरै भिडभाड हुने विषयको परीक्षा लगभग सकिएको छ । कतै चार–पाँचजनाले पनि परीक्षा दिएका छन्, कतै विद्यार्थी धेरै भएर कोठा कम भएको छ । सकेसम्म व्यवस्थित गर्ने प्रयास गरेका छौँ । कतै कक्षाकोठा अभाव त कतै निरीक्षक बस्ने शिक्षक कर्मचारीको अभाव भयो । यो समयमा निरीक्षक बस्न नमान्ने समस्या पनि छ । 

त्रिवि जसरी पनि परीक्षा सञ्चालन गर्न चाहने, तर भौतिक पूर्वाधार र स्वास्थ्य मापदण्ड पूरा गर्न लगानी नगर्दा बहुमुखी क्याम्पस प्रशासन समस्यामा परेका छन् । केही क्याम्पसले भने विद्यार्थीलाई दूरी कायम गर्न सक्ने अवस्था हुँदाहुँदै रकम बचाउन धेरै विद्यार्थीलाई एउटै कोठामा राखेर परीक्षा लिएको विद्यार्थीको गुनासो छ । त्रिविले २१ विद्यार्थीबराबर एक गार्डको रकम उपलब्ध गराउने व्यवस्था छ । परीक्षा गराउन सबैले चाहे पनि मापदण्ड पालना गराउन सरकार र त्रिविबाट आवश्यक सहयोग नभएको र कुनै शीर्षकबाट क्याम्पसले खर्च गर्न पनि लिखित अनुमति दिएको छैन । पाटन संयुक्त क्याम्पसका प्रमुख लक्ष्मण कुँवरले स्वास्थ्य मापदण्ड पूरा गर्न प्रयास भएको, तर विद्यार्थीको संख्या धेरै भएकाले चाहेजति व्यवस्थित गराउन नसकेको बताए । 

 माथिल्लो निकायले समन्वय नगर्दा भद्रगोल, निरीक्षक बस्ने शिक्षक कर्मचारीकै अभाव
त्रिवि डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयबीच समन्वय नहुँदा परीक्षा थप भद्रगोल भएको छ । उनीहरूले क्याम्पसमा परीक्षा केन्द्र राख्ने, तर समन्वय गरेका छैनन् । तीन संकायको कार्यक्रम पढाइ हुने पाटन संयुक्त क्याम्पसलाई हेर्दा नै भद्रगोलको अवस्था छर्लंग हुन्छ । पाटन संयुक्त क्याम्पसमा स्नातक तहका बिहान ७ देखि १०, बिसिएका ११ देखि २ बजेसम्म, दिउँसो १ बजेदेखि स्नातकोत्तर तहका विद्यार्थीको परीक्षा सञ्चालन भइरहेको छ । बिहान एक हजारको हाराहारीमा, बिसिएमा नौ सय ५० र मास्टर्सको साढे आठ सय विद्यार्थीको परीक्षा सञ्चालन गरेको छ ।

कोभिडको महामारीको समय भएकाले अहिले क्याम्पसमा निरीक्षक बस्ने शिक्षक कर्मचारीकै अभाव छ । पाटन क्याम्पस प्रमुख कुँवरले क्याम्पसको क्षमताले भ्याएसम्म मापदण्ड पालना गरेको दाबी गरे । उनले भने, ‘सबै शिक्षक कर्मचारी जाँचमा निरीक्षक बस्न पनि मान्दैनन्, एउटा बेन्चमा एक विद्यार्थी राख्न कोठा पुग्दैन, अर्कोतर्फ जनशक्ति नहुुँदा कोठा बढाउन पनि समस्या हुन्छ ।’ पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख थापाले जनशक्ति अभावको समेत सामना गर्नुपरेको बताए ।

पाटन क्याम्पसमा परीक्षार्थी र त्यहाँका पुराना विद्यार्थीबीचमा विवाद छ । स्नातकोत्तरको परीक्षा दिन पुगेका विद्यार्थीले स्वास्थ्य मापदण्ड पालना नभएको र त्रासमा जाँच दिनु परेको भन्दै प्रदर्शनसमेत गरेका छन् । एउटै कोठामा धेरै विद्यार्थी राखेर जाँच लिँदा कोभिड संक्रमणको जोखिम बढेको भन्दै उनीहरूले शुक्रबार प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा पाटन क्याम्पसका पुराना विद्यार्थी र प्रदर्शन गर्नेबीच विवादसमेत भएको थियो । समाजशास्त्रका विद्यार्थीले विज्ञप्ति निकालेर पाटन क्याम्पसका विद्यार्थी भन्नेहरूबाट धम्कीसमेत आएको जनाएका थिए । त्यही विषयलाई लिएर विभिन्न संगठनमा आबद्ध विद्यार्थी नेताहरूले आइतबारको परीक्षा सञ्चालनमा समेत अवरुद्ध गर्ने तयारी गरेका थिए ।

 शिक्षाशास्त्रको डिन कार्यालयले  लियो अनलाइन परीक्षा
त्रिविको शिक्षाशास्त्र संकायको डिन कार्यालयले स्नातक तहमा सूचना तथा प्रविधि विषयमा अनलाइन परीक्षा सम्पन्न गरेको छ । शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीका अनुसार स्नातक तहको सूचना तथा सञ्चार प्रविधि र विशेष आवश्यकता शिक्षाको दोस्रो र सातौँ सेमेस्टरको परीक्षा अनलाइनबाटै लिएको हो । १४ क्याम्पसबाट ६ सय ८२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
 

ad
ad