१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काष्ठमण्डप पुनर्निर्माण ११ हजार क्युफिट काठको प्रयोग, कहिलेसम्म सकिएला ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

०७२ को भूकम्पबाट क्षतिग्रस्त उपत्यकाको ऐतिहासिक काष्ठ सम्पदा काष्ठमण्डप पुनर्निर्माणमा ११ हजार क्युफिटभन्दा बढी काठ प्रयोग भएको छ। एउटै रूखको काठले मात्रै बनेको इतिहास बोकेको यो सम्पदा यसपटक पुनर्निर्माण गर्दा सयवटाभन्दा बढी सालका रूखको काठ प्रयोग भएको छ।

एउटै रूखको काठ अपुग भएपछि धेरैवटा रूखको काठ प्रयोग गरिएको हो। पुनर्निर्माणमा प्रयोग भएका साल तराईबाट ल्याइएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ। समितिका अनुसार अब एक महिनाभित्र काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिनेछ। 

काठमाडौं महानगरको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट ०७५ कात्तिकदेखि काष्ठमण्डप पुनर्निर्माण कार्य अघि बढेको थियो। पुनर्निर्माणमा हालसम्म ११ करोड ५० लाख रकम खर्च भएको छ। हालसम्मको समग्र पुनर्निर्माण प्रगति हेर्दा ९० प्रतिशत काम सकिएको छ। एक साताअघि मात्रै काष्ठमण्डपमा पित्तलको गजुर भित्र्याइएको थियो। काष्ठमण्डपको छानोमा झिँगटी प्रयोग गरिन्छ। अब झिँगटी र गजुर राख्न बाँकी छ। समितिका संयोजक राजेश शाक्यले हालसम्म ११ हजारभन्दा बढी क्युफिट प्रयोग भएको बताए। उनले इन्द्रजात्राको वेला काष्ठमण्डप क्षेत्रमा पूजा गरिने भएकाले त्यतिवेलासम्म पुनर्निर्माण कार्य सक्ने लक्ष्य राखिएको जानकारी दिए। ‘काठैकाठले बनेको सम्पदा बनाउन निकै कठिन छ, अन्य सम्पदामा ढुंगा, माटो, बालुवा, सिमेन्ट, इँटा, फलामलगायतको प्रयोग हुन्छ,’ उनले भने, ‘तर, काष्ठमण्डपमा सबैखाले निर्माण सामग्री प्रयोग गर्न पाइन्न ।’

वसन्तपुरका स्थानीय गौतम शाक्यले काष्ठमण्डप वसन्तपुर क्षेत्रको भिन्न सम्पदा रहेको बताए। उनका अनुसार काष्ठमण्डप एउटै सालको रूखले बनेको इतिहास छ। कुनै समय एउटै रूखको काठबाट बनेको भए तापनि हाल एउटै रूखको काठले नपुग्ने भएपछि एउटै जातको रुखको काठ प्रयोग गरेर पुनर्निर्माण गरिएको छ। ‘हामीले जाने–बुझेअनुसार काष्ठमण्डप काठैकाठको सम्पदा हो, त्यो पनि एउटो रूख, यसमा ढुंगा, इँटा, फलाम प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘पछिल्लो समय बलियो बनाउने वहानामा सम्पदामा कंक्रिट प्रयोग भइरहेको छ, काष्ठमण्डपमा त्यस्तो लापरबाही भएको छैन ।’ 

काष्ठमण्डप पुनर्निर्माण कार्य सकिएपछि भूकम्पबाट क्षतिग्रस्त उपत्यकाका महत्वपूर्ण सम्पदा पुनर्निर्माण सकिनेछ। रानीपोखरी पुनर्निर्माण कार्य एक वर्षअघि नै सकिएको थियो। धरहरा स्तम्भको पनि पुनर्निर्माण कार्य सकेर हाल ‘ब्युटिफिकेसन’को काम भइरहेको छ।