१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १२ मंगलबार
  • Monday, 07 July, 2025
२o७८ श्रावण १२ मंगलबार o८:o२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक साताभित्रै एकता टुंग्याउन नेपाल पक्षले गृहकार्य गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १२ मंगलबार o८:o२:oo

रावललाई टिम नेताको जिम्मेवारी 

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षसँगको एकताको प्रयास एक साताभित्रै टुंगो लगाउनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार सम्पन्न नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवाद लम्ब्याउँदा क्षति पुग्ने आकलन गर्दै एक साताभित्रै टुंगो लगाउने निष्कर्ष निकालेको हो । 

बैठकले भीम रावललाई अध्यक्ष ओली र संस्थापनबाट प्रतिनिधित्व गरेका विघटित कार्यदलका सदस्यहरूसँगको समन्वयमा १० बुँदे सहमतिअनुसार एक साताभित्रै विवादको अन्तिम किनारा लगाउने जिम्मेवारी दिएको छ । ‘अब धेरै अलमल गर्दा पार्टीलाई क्षति पुग्ने भएकाले सकारात्मक दिशामा अगाडि बढेको एकताको प्रयासलाई एक साताभित्रै सार्थक निष्कर्षमा पुर्‍याउने गरी भीम रावललाई संयोजनको जिम्मेवारी दिएका छौँ,’ बैठकपछि भीम आचार्यले भने, ‘उहाँले अहिले आएको दुई अध्यक्षको प्रस्ताव, १० बुँदे सहमति कार्यान्वयनका विधि र प्रक्रियासहितका विषय टुंगो लगाउने गरी कुराकानी गर्नुुहुनेछ ।’ 

आचार्यले आवश्यकताअनुसार रावलले नै विघटित कार्यदलका सदस्यहरूको समेत सहयोग लिएर काम गर्न सक्नेगरी जिम्मेवारी दिएको र सोमबारबाटै त्यसअनुसार गृहकार्य अगाडि बढेको जानकारी दिएका थिए । नेपाल पक्षको बैठकमा अस्वस्थ वरिष्ठ नेता झलनाथ खनालबाहेकका नेताहरू सहभागी थिए । जसमध्ये रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, रघुजी पन्त, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले १० बुँदे सहमतिका आधारमा छिटो एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने कोणबाट धारणा राखेका थिए । 

उनीहरूबाहेक वरिष्ठ नेता नेपाल, नेताहरू बेदुराम भुसाल र मुकुन्द न्यौपानेले भने ओलीका तर्फबाट अझै एकताको विश्वसनीय आधार नबनिसकेकाले १० बुँदे सहमतिलाई नै आधार मानेर हतार गर्ने अवस्था नभएको विचार राखेका थिए । बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताको प्रयास धेरै सकारात्मक रहेकाले छिटो निष्कर्षमा पुर्‍याउनेतिर सबैको जोड रहेको जानकारी दिए ।

‘पार्टी एकताका लागि अहिलेसम्मका प्रयास धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासलाई छिटो टुंगोमा पुर्‍याउन थप प्रयास गरौँ भन्ने कुरा भयो । सबै नेताले पार्टी एकतामा जोड दिनेमा सहमति जनाउनुभएको छ,’ पन्तले भने, ‘तर, दुवै पक्षका शीर्ष नेताहरूले पार्टीको एकताका लागि भएका प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति दिनुभएन । एमालेका देशभरिका कार्यकर्ता, मतदाता र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ । त्यसैैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ ।’ पन्तले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास व्यक्त गरेको जानकारी दिँदै भेटघाटका लागि दुवैलाई आग्रह गरिएको पनि जानकारी दिए । 

ठोस प्रस्ताव आए मात्रै नेपाल ओलीसँग वार्ता गर्न तयार 
बैठकमा लगभग सबैजसो नेताले एकताको विकल्प नरहेकाले १० बुँदे सहमतिलाई आधार मानेर अगाडि जानुपर्नेमा जोड गरे पनि वरिष्ठ नेता नेपालले भने अझै आफू विश्वस्त नरहेको धारणा राखेका थिए । ओलीका तर्फबाट समान अधिकारसहितको अध्यक्षमा प्रस्ताव आए पनि अहिलेसम्म कुनै विश्वसनीय आधार नभएको भन्दै वार्ता गरिहाल्नुको औचित्य नहुने भनाइ राखेका थिए । 

नेपाललाई ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपमहासचिव विष्णु पौडेलले समान अधिकारसहितको अध्यक्ष बनाउन तयार रहेको सन्देश दिइसकेका छन् । नेता नेपालले यसअघिको मेरियट होटेलको वार्ता पहिले पनि संस्थापनबाट त्यस्तै सन्देश आए पनि ओलीले कुनै ठोस प्रस्ताव नगरेकै कारण विवाद मिल्न नसकेको दृष्टान्त प्रस्तुत गर्दै पहिले विश्वसनीय प्रस्तावको आवश्यकता औँल्याएका थिए । 

तर, नेताहरूले आशंका गरेर वार्तामै नबस्ने कार्यशैली बेठीक हुने भन्दै दबाब दिएपछि नेपालले ओलीसँगको वार्ताअघि नेम्वाङ र पौडेललाई बोलाएर अलग्गै छलफल गरेपछि मात्र आफू अघि बढ्ने जानकारी गराएका छन् । नेपाल दोस्रो अध्यक्षभन्दा पार्टीका सबै निर्णयमा आफ्नोसमेत हस्ताक्षर चल्ने विषयलाई विधानमै व्यवस्था गरिएको अवस्थामा मात्र एकता गरेर जान सकिने पक्षमा छन् । 

‘बैठकमा लगभग शतप्रतिशत नेताहरू छिटो एकता टुंग्याउन तयार हुँदा पनि खै किन हो माधव कमरेडमा कुनै उत्साह देखिएन, फ्रेस मुडमा पनि देखिनुभएन, खालि धोका दिन्छन्, बेइमान छन् भन्नेजस्ता पुरानै शब्द मात्रै दोहोर्‍याइरहनुभयो,’ नेपाललाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी सबैले दबाबसहित जोड दिएकाले गरिहालौँ न त भन्नेसम्म तयार हुनुभो, अध्यक्षसँग वार्ताअघि सुवास नेम्वाङ र विष्णु पौडेललाई बोलाएर पहिले कुराकानी गर्नेसम्म चाहिँ तयार हुनुभएको छ, उहाँमा कुनै उत्साह नदेखिएकैले टिमको तर्फबाट रावल कमरेडलाई नै के गर्ने सबै अधिकारसहितको जिम्मेवारी दिइएको छ ।’