मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडौं
२०७८ श्रावण ११ सोमबार १७:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दर्जनौँ चलचित्र खेलेकी वृद्धा कलाकारलाई धर्मशालाको गेटमै छाडेर भाग्यो ट्याक्सी 

Read Time : > 1 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७८ श्रावण ११ सोमबार १७:१२:००

साउन १० गते, आइतबार दिउँसो १ बजेतिर गौशालाको धर्मशालाअघि एउटा ट्याक्सी रोकियो । ट्याक्सीबाट अज्ञात व्यक्तिहरूले एक वृद्धा र लुगाको पोको बाहिर निकाले । वृद्धालाई त्यहीँ धर्मशालाको गेटमा छाडे । र, उनीहरू ट्याक्सीमा चढेर भागे ।

लुगाको पोकोसँग अलपत्र परेकी वृद्धालाई धर्मशालाका एकाउन्टेन्ट दामोदर पाण्डेले सोधपुछ गरे । वृद्धाले आफू पुरानो कलाकार भएको र बस्नका लागि आश्रम खोजिरहेको बताइन् । वृद्धाले कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको नाम पनि लगातार लिइरहिन् । डायरीमा अध्यक्ष खड्काको नम्बर पनि बोकेकी थिइन् । पाण्डेलाई डायरी नै दिइन् ।

पाण्डेले खड्कालाई फोन गरे । वृद्धाबारे बताए । अध्यक्ष खड्का, उपाध्यक्ष मोहन निरौलालगायतको टोली गौशाला पुग्यो । खड्का भन्छन्, ‘उहाँ त कलाकार सुवर्णा श्रेष्ठ पो हुनुहुँदोरहेछ ।’

सुवर्णा श्रेष्ठ उनै हुन्, जसले करिब दुई दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । सानो–सानो भूमिकामा अभिनय गरेकी श्रेष्ठ चलचित्रको सुटिङका लागि क्राउड जम्मा गर्ने काम पनि गर्थिन् । ७० वर्ष पुगेकी श्रेष्ठले बीचमा काम पाउन छाडिन् । खड्काका अनुसार ‘आफन्त कोही छैनन्’ भनेर बताउने गर्थिन् उनी ।

बीचमा कलाकार संघले सकेको आर्थिक सहयोग पनि ग¥यो । गत असोजमा पुराना कलाकारलाई सम्मान पनि ग¥यो । सम्मान पाउनेमध्येकी एक हुन् श्रेष्ठ ।

खड्का भन्छन्, ‘उहाँले त्यो सम्मान पनि बोक्नुभएको रहेछ । मेरो फोन नम्बर डायरीमा बोक्नुभएको रहेछ । उहाँलाई भेट्दा हामी त निःशब्द भयौँ ।’

उपाध्यक्ष निरौलाका अनुसार एक चलचित्रको सुटिङका क्रममा श्रेष्ठ घाइते बनेकी थिइन् । उनको खुट्टामा समस्या देखिएको थियो । निरौला भन्छन्, ‘त्यो समस्या अहिले पनि उस्तै रहेछ । घाइते उहाँलाई ७० वर्षको उमेरमा कसले बाटोमा फालिदियो ।’ श्रेष्ठलाई त्यस्तो अवस्थामा भेटेपछि कलाकार संघका पदाधिकारीले गोदावरीको आशा नेपाल नामक संस्थालाई सम्पर्क गरे । वनस्थलीको मानव सेवा आश्रममा पनि सम्पर्क गरे । राति ८–९ बजेतिर श्रेष्ठलाई मानव सेवा आश्रमले लिएर गयो । आश्रम जाने वेला श्रेष्ठले खड्कालाई भनिन्, ‘उता राम्रो हुन्छ नि बाबु ?’ खड्काले ‘ढुक्क हुनु’ भनेपछि श्रेष्ठ आश्रम गइन् ।

तर, श्रेष्ठलाई कसले, किन, के कारणले त्यहाँ छाडेको, पत्तो नलागेको खड्काले बताए । उनले भने, ‘यस्तो अमानवीय हर्कत कसले गर्नुभयो, निन्दनीय छ । हामीलाई सम्पर्क गर्नुभएको भए पनि भइहाल्थ्यो ।’ संघले सिसिटिभीको सहारा लिएर श्रेष्ठलाई दिउँसो सडकमा फालेर जानेहरूको खोजी गर्न सुरु गरिएको खड्काले बताए ।