
नेपाल उद्योग परिसंघको अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । काठमाडौंमा बुधबार आयोजित परिसंघको १८औँ वार्षिक साधारणसभाबाट उनी परिसंघको पाँचौँ अध्यक्ष चयन भएका हुन् ।
अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । परिसंघको विधानले वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई बुधबार नै पद हस्तान्तरण गरेका छन् । आगामी दुईवर्षे कार्यकाका लागि अध्यक्ष बनेका अग्रवालले यसअघि परिसंघअन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्वसमेत गरिसककेका छन् । अग्रवालले परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका छन् ।
व्यावसायिक घरमा एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक अग्रवाल सफल व्यावसायिक रूपमा परिचित छन् । खासगरी अटोमोबाइल तथा हेभी इक्विपमेन्टको व्यवसायमा एमएडब्लू पायोनियर मानिन्छ । पूर्वफुटबल खेलाडीसमेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर छन् । अग्रवाल नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूतसमेत हुन् ।
सातजना उपाध्यक्ष चयन हुने
परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट सातजना उपाध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषद्मा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुणकुमार तोडी, सुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टन्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दिलीप अग्रवाल, शरदकुमार टिबडेवाल, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।
यसैगरी, प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।